
१० वैशाख, काठमाडौं । निजामती विधेयकमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् ।
दुवैलाई बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आमन्त्रण गरेको थियो ।
ओलीले रक्षामन्त्री मानवीर राईलाई पठाए ।
यसअघि समिति सभापति रामहरि खतिवडाले ५ वैशाखको बैठकमा आज विधेयक पास गर्ने तयारी रहेको बताएका थिए ।
विधेयक पास गर्ने तयारीसहित समितिले प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएको थियो ।
प्रचण्ड राज्य व्यवस्था समितिका सदस्य समेत हुन् ।
दुवै अनुपस्थित भएपछि मंगलबार नै विधेयक पास गर्ने तयारीबाट समिति पछि हटेको छ ।
‘आज विधेयकको प्रतिवेदनमाथी छलफल गरौ । अर्को एक बैठक बसेर विधेयक अघि (समितिबाट पास) गरौंला,’ समिति सभापति खतिवडाले समितिकै बैठकको सुरुमै भनेका थिए ।
समितिमा साम्सदहरूले राय राख्नेक्रममा कांग्रेसका महामन्त्री गगन थापाले पनि विधेयक बुधबार नै पारित गर्ने तयारी भएको स्मरण गरेका थिए ।
‘निजामती विधेयक अगाडि बढेको छ । आज यो पास गर्ने तयारी पनि थियो । तर एकपटक प्रतिवेदन पढौ भन्ने आएको छ । यो प्रक्रिया पनि ठीक छ,’’ महामन्त्री थापाले भनेका थिए ।
बुधबार राज्य व्यवस्था समितिले विधेयकको दफा १ र दफा २ मात्रै पारित भएको छ । दफा १ मा प्रस्तावना र दफा २ मा विधेयकको नाम रहेको छ ।
बाँकी अर्को बैठकमा पास गरिने समिति सभापति खतिवडाले बताए । तर, अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया 4