+
+
Shares

आवासीय चिकित्सकको अपिल : अन्यायको विरोधमा आवाज उठाइदिनूस्

निर्वाह भत्ता लागू गर्न २८ दिनसम्म सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १८:३२

१० वैशाख, काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले अन्यायको विरोधमा आवाज उठाउनका लागि देशभरका स्वास्थ्यकर्मीलाई अपिल गरेका छन् ।

निर्वाह भत्ता लागू गर्न २८ दिनसम्म सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् ।

बुधबार देशभरका निजी मेडिकल कलेजका आवासीय चिकित्सकले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिँदा निरन्तर दमन र धम्कीको सामना गर्नुपरेका बताएका छन् ।

‘व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाब दिने, कक्षाबाट हटाइदिने र राजिस्टे«शन रोक्ने वा बाहिर गरिदिन्छौं भन्ने धम्की दिइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘केही साथीलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ ।’

निजी मेडिकल कलेज सञ्चालकले यस्तो व्यवहार देखाउँदा आत्मसम्मानमाथि गम्भीर प्रहार भएको आवासीय चिकित्सक बताउँछन् ।

चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् । नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।

‘यो कानुनी अवज्ञा र श्रम शोषणको प्रत्यक्ष नमुना हो । हामी अधिकारका लागि उभिएका छौं । तलबका लागि बिन्ती गरेको होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘ निरन्तरको सेवा, त्याग र समर्पणको न्युनतम सम्मान हो ।’

निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

यो लडाईंमा साथ दिनका लागि शिक्षक, परामर्शदाता, वरिष्ठ चिकित्सक, स्वास्थ्य संस्था, मानव अधिकार संस्था, श्रम अधिकारकर्मीलाई आवासीय चिकित्सकले अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कृपया हामीसँग उभिनुहोस् । हाम्रो आवाजलाई तपाईंको आवाज बनाउनुहोस् । स्वास्थ्य शिक्षा क्षेत्रमा न्याय, समानता र गरिमाका लागि सँगै बोलौं, सँगै लडौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?