+
+
Shares

निजामतीमा महिला प्रवेशको अधिकतम उमेर घट्यो, अवकाश हद बढ्यो

पुरुष प्रवेशको अधिकतम उमेर भएन फेरबदल

हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १८:४८

१० वैशाख, काठमाडौं । निजामती सेवामा महिलाको प्रवेशको अधिकतम उमेर एक वर्ष घट्ने भएको छ ।

हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामतीमा महिलाको प्रवेशको उमेर एक वर्ष घटाउने गरी प्रतिवेदन तयार पारेको हो ।

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद भने बढेको छ । अवकाश उमेर हद भने महिला र पुरुष दुवैका लागि समान ६० वर्ष राखिने भएको छ ।

हाल निजामतीमा अवकाश उमेर हद ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउन लागिएको हो ।

५८ वर्षबाट ६० वर्ष पुर्‍याउने निर्णय चार चरणमा लागू हुनेछ ।

ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुने, एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको ६ महिनापछि ६० वर्षको उमेर हद लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।

सरकारले विधेयकमा ५८ वर्षबाट सीधै ६० वर्षे उमेर हद लागू गर्ने प्रस्ताव गरेको थियो । यसलाई बदलेर राज्य व्यवस्था समितिले चार चरणमा लागू हुने गरी विधेयकको प्रतिवेदन तयार पारेको हो ।

अर्थात, निजामती सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ ।

सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरुषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो ।

संसदीय उपसमितिले यसलाई बदलेर पुरुष उम्मेदवारले ३५ वर्षसम्म लोकसेवाको अधिकृतमा प्रतिस्पर्धा गर्न पाउने प्रचलित व्यवस्थामै सहमति गरेको छ । महिलाको हकमा यस्तो उमेर ३९ कायम हुनेछ । हाल महिलाको हकमा यस्तो उमेर ४० वर्ष छ ।

उपसमिति संयोजक दिलेन्द्र बडूका अनुसार ४० वर्षमा लोकसेवा आयोगको परीक्षा पास गरेर स्टाफ कलेजको तालिम लिने लगायतमा केही समय व्यतित हुँदा त्यसले अवकाशमा गएपछि पेन्सनमा परेको असरलाई ख्याल गरेर महिलाको हकमा सेवा प्रवेशको अधिकतम उमेर ३९ वर्ष कायम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?