१०, वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
डा.श्रेष्ठका अनुसार महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको हो । महोत्तरीका पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले मिर्गाैला दान दिएकी हुन् भने बर्दियाका पुरुषलाई पनि उनकी २६ वर्षीया श्रीमतीले मिर्गाैला दान दिएकी हुन् ।
डा.पुकारको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको टिम र भेरी अस्पतालको टिमले मिर्गाैला प्रत्यारोपण गरेको हो । केन्द्रबाट डा. दिपेश श्रेष्ठ, डा.हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, डा.शिवसुन्दर राजचल, नेफ्रोलोजिस्ट डा.विक्रम वीर बज्राचार्यको सहभागिता थियो ।
त्यसैगरी केन्द्रबाट डा. गौरव पन्थ र शाखा अधिकृत हरिहर पोखरेट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आईसीयू नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायतको सहभागिता रहेको डा. पुकारले बताए ।
भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ डा. दिपेश गुप्ता, एनेस्थेसियोलोजिस्ट डा.पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोली मिर्गौला प्रत्यारोपणमा सहभागी थियो ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण यो सफलताले मिर्गाैलाका बिरामीका लागि आशा जगाउने काम गरेको शाहले बताए ।
भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले अहिलेलाई महिनामा एक जनाको मिर्गाैला प्रत्यारोपण गर्ने योजना रहेको जानकारी दिए । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धिका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिमका लागि पठाइने डा.सुवेदीले बताए ।
मिर्गाैला प्रत्यारोपण सेवालाई सातै प्रदेशमा बिस्तार गर्ने योजना सरकारको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पतालमा यसअघि नै मिर्गाैला प्रत्यारोपण सुरु भइसकेको छ । भेरी अस्पतालसँगै ३ प्रदेशमा प्रत्यारोपाण सेवा बिस्तार भएको छ । बाँकी प्रदेश कोशी, मधेश र सुदूरपश्चिममा पनि प्रत्यारोपण सुरु गर्न प्रयास भइरहेको दावी डा.पुकारले बताए ।
राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले हालसम्म १४०१ जनाको मिर्गाेला र ३३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
प्रतिक्रिया 4