+
+
Shares
विचार :

कस्तो स्कूल राम्रो ?

विद्यालय छान्दा शिक्षकहरूको योग्यता, शिक्षण विधि, पाठ्यक्रम र नतिजा हेर्नु जरूरी हुन्छ । केवल अङ्क मात्र होइन, बालबालिकाको सोच्ने तरिका, बुझ्ने क्षमता, व्यावहारिक ज्ञान दिने शिक्षा, दीर्घकालीन सिकाइ, सिर्जनशीलता, नेतृत्व क्षमता जस्ता पक्षमा जोड दिइन्छ कि दिइँदैन थाहा पाउन जरूरी छ ।

रजनी खड्का रजनी खड्का
२०८२ वैशाख १० गते १९:१५

थुप्रै अभिभावकलाई हरेक वर्षको यो बेलामा द्विविधा हुनेगर्छ– आफ्नो बालबच्चालाई कस्तो स्कूलमा भर्ना गरुँ ? आफूले पढाइराखेको ठाउँ कत्तिको उपयुक्त हो ?

खासगरी जब बच्चा पहिलो पटक विद्यालय जान लागेको छ वा विद्यालय परिवर्तन गर्नुपर्ने परिस्थिति आएको छ, त्यतिबेला अभिभावकलाई निर्णय लिन झनै गाह्रो हुन्छ । आजको प्रतिस्पर्धात्मक र प्रविधियुक्त युगमा विद्यालय छनोट गर्दा धेरै कुराहरू विचार गर्नु आवश्यक हुन्छ, जसले दीर्घकालीन रूपमा बालबालिकाको शैक्षिक भविष्य, सामाजिक विकास र मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ।

उपयुक्त विद्यालय छनोट गरी विद्यालयको जिम्मामा विश्वास गरेर बालबालिकालाई सुम्पनु चानचुने कुरो होइन । त्यसो भए कस्ता विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउने भन्ने कुरा एउटा साझा चुनौतीको विषयको रूपमा खडा भएको छ ।

हरेक अभिभावकले आफ्नो छोराछोरीले राम्रो विद्यालयमा पढ्न पाउन्, ठूलो मान्छे बनुन्, सबैले मान्ने हुन् भन्ने अभिलाषा राखेकै हुन्छन् । यस विषयप्रति चासो राख्ने अभिभावकहरूको लागि केही उपयोगी टिप्स :

१. शैक्षिक गुणस्तर र वातावरण : विद्यालयको छनोट गर्दा सबैभन्दा पहिलो कुरा हो– त्यहाँको शैक्षिक गुणस्तर । शिक्षकहरूको योग्यता, शिक्षण विधि, पाठ्यक्रम र नतिजा हेर्नु जरूरी हुन्छ । केवल अंक मात्र होइन, बालबालिकाको सोच्ने तरिका, बुझ्ने क्षमता र व्यावहारिक ज्ञान बढाउने किसिमले शिक्षा दिइन्छ कि दिइँदैन । बालबालिकालाई दीर्घकालीन सिकाइ, सिर्जनशीलता, नेतृत्व क्षमता जस्ता पक्षमा जोड दिइन्छ कि दिइँदैन ?

वास्तविक जीवन भोगाइको ज्ञान, पढाइसँगै व्यवहार उपयोगी ज्ञान, अतिरिक्त क्रियाकलाप आदिलाई प्राथमिकता दिएको छ कि छैन । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइएको छ कि छैन भन्ने कुरा विद्यालयको वेबसाइट वा सामाजिक सञ्जाल हेरेर विद्यालयले पढाइमा के–कस्ता विधि अपनाउँछ भनेर बुझ्न सकिन्छ । साथै, पहिले त्यहाँ पढेका विद्यार्थी वा अभिभावकसँगको अनुभव पनि उपयोगी हुन्छ ।

२. शिक्षकहरूको अनुभव र दक्षता : शिक्षक शिक्षाको मूल आधार मात्र नभई बालबालिकाको शैक्षिक जगतको सहजकर्ता हुन् । त्यसैले बालबालिकाको उचित विकास र सकारात्मक परिवर्तनको लागि शिक्षकको भूमिका अतुलनीय छ । एउटा दक्ष शिक्षकमा बालमैत्री व्यवहारमा निपुणता, बुझाउने शैली, प्रेरणादायी व्यक्तित्व तथा विषयमा दक्षता आवश्यक हुन्छ ।

शिक्षक मात्र किताब पढाउने होइन, बालबालिकालाई सही मार्ग देखाउने मार्गदर्शक पनि बन्न सक्ने हुनुपर्छ । त्यसैले आफ्नो छोराछोरीलाई विद्यालय भर्ना गर्नुअघि यसबारे पनि ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

३. विद्यालयको वातावरण : विद्यालय बालबालिकाको दोस्रो घर हो भने शिक्षक÷शिक्षिका दोस्रो आमा–बुबा । विद्यालयले बालबालिकालाई सहयोगी, प्रेरणादायी र सुरक्षित वातावरण प्रदान गर्छ कि गर्दैन भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ ।

बालबालिकाले सहज महसुस गर्ने, अभिव्यक्त हुनसक्ने, गल्तीबाट सिक्ने अवसर पाउने वातावरण हुनुपर्दछ । विद्यालय जाँदा कक्षाकोठा, पुस्तकालय, खेलमैदान, भोजनालय, शौचालय आदिको अवस्थाले धेरै कुरा देखाउँछ । त्यसको उचित अवलोकनको सहायताले मूल्याङकन गर्नुपर्छ ।

४. शैक्षिक संरचना र अतिरिक्त क्रियाकलाप : आजको समयमा केवल किताबी ज्ञान मात्र होइन, अतिरिक्त क्रियाकलाप पनि उत्तिकै महत्वपूर्ण छन् । संगीत, नृत्य, चित्रकला, खेलकुद, भाषण, वादविवाद जस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व विकास गर्न सहयोग गर्छ ।

विद्यालयले सिकाइलाई पाठ्यपुस्तक र विद्यालयको चौघेरामा सीमित राखेको छ वा बाहिरी वातावरणमा अनुभूति साथ गरेर सिक्ने अवसर दिएको छ ? हरेक विद्यार्थीलाई कम्तीमा एउटा अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरित गर्छ कि गर्दैन, त्यो बुझ्नुपर्छ ।

५. शुल्क संरचना : अभिभावकको आर्थिक स्थिति अनुसार विद्यालयको शुल्क संरचना मिल्नुपर्छ । धेरै महँगो शुल्क तिरेर पढाउने भनेर सोच्नु भन्दा शिक्षा र मूल्यको सन्तुलन हेर्न जरूरी छ ।

कतिपय स्कूलहरू शुल्क धेरै लिएर पनि सेवा राम्रो नदिने हुन्छन् भने केही स्कूलहरू सीमित शुल्कमै उत्कृष्ट शिक्षा दिने हुन्छन् ।

विद्यालयले सिकाइलाई पाठ्यपुस्तक र विद्यालयको चौघेरामा सीमित राखेको छ वा बाहिरी वातावरणमा अनुभूति साथ गरेर सिक्ने अवसर दिएको छ ? हरेक विद्यार्थीलाई कम्तीमा एउटा अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरित गर्छ कि गर्दैन, त्यो बुझ्नुपर्छ ।

शुल्कसँगै अन्य लुगा, पुस्तक, यातायात, खाना आदि खर्चको पनि पूर्वानुमान गरेर विद्यालयको छनोट गर्नुपर्छ ।

६. स्थान : विद्यालयको स्थान पनि निर्णयमा महत्वपूर्ण हुन्छ । बच्चालाई लामो दूरीको यात्रा दैनिक गराउनु थकाइदायक र असुरक्षित हुन सक्छ । विद्यालयको दूरी अनुसार ट्राफिक अवस्था, यातायातको सुविधा र सुरक्षाको हिसाबले नजिकको राम्रो विद्यालय रोज्न सकिन्छ भने लामो यात्रा गर्ने आवश्यकता पर्दैन ।

७. विद्यालयको मूल्य र नैतिक शिक्षा : विद्यालयले बालबालिकालाई केवल किताबी ज्ञान मात्र होइन, नैतिकता, इमानदारी, सहिष्णुता, सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी गुण पनि सिकाउँछ कि सिकाउँदैन भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । विद्यालयले समाजसेवा, पर्यावरण सचेतना, धार्मिक सहिष्णुता जस्ता कार्यक्रमहरू सञ्चालन गर्छ भने त्यो सकारात्मक संकेत हो भनेर थाहा पाउनुपर्छ ।

८. अभिभावक–विद्यालय सहकार्य : विद्यालय र अभिभावक बीच सहकार्य आवश्यक छ । शिक्षक, अभिभावक विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्रै सिकाइ प्रभावकारी रूपमा सुचारु हुन सक्छ । विद्यालयले नियमित रूपमा प्रगति विवरण दिने, अभिभावक बैठक राख्ने, गुनासो वा सुझावको सुनुवाइ गर्ने प्रणाली भएको विद्यालय राम्रो हुन्छ ।

९. प्रविधिको प्रयोग : हालका दिनमा प्रविधिको प्रयोग शिक्षा क्षेत्रमा अनिवार्य जस्तै भएको छ । अनलाइन कक्षा, डिजिटल सामग्री, कम्प्युटर शिक्षा, स्मार्ट बोर्ड आदिको प्रयोग स्कूलले गर्छ कि गर्दैन ? गर्छ भने कुन प्रविधिको प्रयोग कसरी गरेको छ भन्ने कुरा ध्यान दिनुपर्छ । प्रविधि प्रयोगले विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धी संसारका लागि तयार बनाउँछ । यस्ता विद्यालय अत्यन्त प्रभावकारी हुन्छन् ।

१०. विद्यालयको दृष्टिकोण : विद्यालयको लक्ष्य र दृष्टिकोण दीर्घकालीन सोचमा आधारित हुनुपर्छ । केवल परीक्षा उत्तीर्ण गराउने उद्देश्य नभएर जीवनलाई सफल बनाउने उद्देश्य राख्ने विद्यालय रोज्नु उपयुक्त हुन्छ ।

विद्यालयको हरेक वर्षको अन्त्यमा सबै व्यक्तित्वजनसँग बसेर के–कस्ता क्रियाकलाप राम्रा भए, के सुधार गर्नुपर्नेछ पुनरावलोकन गर्ने, सकारात्मक पृष्ठपोषण ग्रहण गर्ने विद्यालयको भिजन, स्टेटमेन्ट वा मिसन हेरेर त्यसको उद्देश्य बुझ्न सकिन्छ ।

विद्यालय छनोट गर्नु केवल एक औपचारिक निर्णय होइन, यो बालबालिकाको भविष्य निर्माण गर्ने आधार पनि हो । विद्यालयले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता, सकारात्मक सोच, व्यावहारिक क्षमता र सामाजिक चेतना विकास गर्न सक्ने वातावरण दिनुपर्छ ।

अभिभावकले हल्लामा नपरी, स्वतन्त्र रूपमा विस्तृत अध्ययन गरेर निर्णय गर्नु आवश्यक छ । विद्यालय सधैं उत्कृष्ट हुनुपर्छ भन्ने होइन, तर त्यो विद्यालय तपाईंको बच्चाको स्वभाव, रुचि, क्षमता र आवश्यकतासँग मेल खाने हुनुपर्छ । बालबालिकाले गरेर सिक्ने बालमैत्री वातावरण भएको हुनुपर्दछ ।

आजभोलिको समयमा विद्यालयको विज्ञापन, प्रचार, चम्किलो भवन, सामाजिक सञ्जालमा देखिने तामझाम र ‘ब्रान्ड’ नामले धेरै अभिभावक भ्रमित बनिरहेका छन् । बालबालिकाको उज्ज्वल भविष्यको सपना देखेर धेरै अभिभावक महँगो शुल्क तिरेर यस्ता विद्यालयमा सन्तानलाई भर्ना गर्छन्, तर के साँच्चिकै ती विद्यालयले शिक्षा दिन्छन् त ? कि केवल बाहिरी आकर्षणले भरिएका छन् ?

के तपाईंहरूले सही विद्यालयको छनोट गर्नुभयो त ?

खड्का अक्षरा स्कूल काँडाघारी, काठमाडौंमा अध्यापनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?