
लेखक तथा विश्लेषक विष्णु सापकोटाले यो अन्तर्वार्तामा राजावादीहरूले केही सातायता चर्काइरहेको प्रदर्शन, राज्यपक्षको प्रवृत्ति अनि दलहरू र शीर्ष नेतृत्वको व्यवहारबारे आलोचनात्मक दृष्टिकोण राखेका छन् । उनले राजसंस्थाले विगतमा गरेका गल्तीहरू नै गणतन्त्रका संवाहकहरूले समेत कुनै न कुनै रूपमा दोहोर्याइरहेको भन्दै आम नागरिकले प्रश्न उठाइरहेको बताएका छन् । उनले गणतन्त्रलाई खतरा छैन, लोकतन्त्र रहिरहन्छ भन्दैमा अहिले जे भइरहेको छ, सबै ठिकठाक छ भनेर नबुझ्न नेतृत्वलाई झक्झक्याएका पनि छन् ।
सापकोटासँग अनलाइनखबरका बसन्त बस्नेतले सोधेका प्रश्नहरू :
गणतन्त्र ल्याउन ठूलो आन्दोलन भएको त देखेकै थियौं । अचेल राजतन्त्र फेरि चाहिन्छ भन्नेहरू पनि सडकमा निस्किरहेका छन् । कसरी हेर्नुभएको छ ?
सोझो हिसाबले भन्दा, नेपाल गणतन्त्रात्मक नै रहन्छ, लामो समयसम्म । लोकतन्त्रमा पनि तल–वितल होला, तर असुरक्षित छ भन्ने लाग्दैन । गणतन्त्रलाई खतरा छैन, लोकतन्त्र रहिरहन्छ भन्नुको अर्थ अहिले जे भइरहेको छ, सबै ठिकठाक छ भन्नेचाहिं होइन । अहिले जे भइरहेको छ, यसका लागि वर्षौंदेखि जम्मा भइरहेको विषयको अभिव्यक्ति हो । २०६२–६३ को आन्दोलनको संकल्प अनुसार काम नभएको, संवाहकहरूले अहिले पनि म नै गर्छु भनेर कार्यकारी पदमै रहिराख्नु पनि समस्या बल्झिनुको कारण हो ।
लोकतान्त्रिक गणतन्त्रका संवाहकहरूले गर्न सकेनन् भने विकल्पमा तीभन्दा अब्बल पो आउनुपर्ने, तर किन पुरानै पात्रहरू ‘नवीन समझदारी’ भन्दै आए ?
नेपाली समाज पछाडि फर्कनेभन्दा अगाडि जानेमै विश्वास गर्छ । पछाडि फर्काउन चाहनेलाई आफ्नो काम अगाडि जाने नै हो भन्ने लाग्न सक्छ । तर समाजको स्वभाव अगाडि बढ्ने नै भए पनि लोकतन्त्र आयो, संविधानको फ्रेमवर्क बन्यो भने त्यसपछि लिनुपर्ने बाटो लिन नसक्दा जे गरे पनि हुन्छ भन्ने धारणा विकास हुँदै गयो । यही मौका छोपेर पुनरुत्थानवादीहरूले समयलाई पछाडि फर्काउने प्रयास गरेका हुन् ।
गर्नुपर्ने के थियो, जानुपर्ने बाटो कता थियो ?
यसमा सिधा जवाफ हुँदैन । समाधानमुखी प्रश्नहरू उठ्ने गरेका छन् । उपाय आइसकेका पनि हुन्छन् । कार्यान्वयन गर्ने पात्रको कमी हो । यी दोहोरिइरहने पात्रलाई पायक पर्ने गरी म के भन्छु भने, ती जति मिडिया र सार्वजनिक मञ्चमा छाउँछन्, त्यति नै नकारात्मकता सिर्जना हुन्छ । पात्रहरू त लोकतन्त्रमा आउने–जाने भइरहनुपर्छ । यहाँ चाहिं उही पात्रहरूको स्थिर उपस्थिति भयो ।
एउटै नेता सधैं कार्यकारी पदमा रहिरहन्छ भने त्यही राजतन्त्र भएन र भनेर आम मान्छेहरूको मनमा किन प्रश्न उठ्यो ?
यो खालको स्थिरता र अवरोध आफैंमा समस्या भयो । अरूले पो कोही व्यक्तिलाई मान्दिनुपर्ने । यहाँ त म यस्तो हुँ, म नै हुँ भनेर गफ लगाउने स्थिति पैदा भयो । यहाँ जुन खाले समस्या देखिइरहेको छ, यो नेपालको एक्लो समस्या होइन । विश्वका थुप्रै देशमा यस्तो भइरहेको छ ।
बंगलादेश र श्रीलंकाको पछिल्लो दृष्टान्त दिने गरिन्छ । आफू अनुकूल व्याख्या पनि छन् । तर यस्तो अवस्थामा पुर्याउने कि पात्रले लोकतान्त्रिक भनिने फ्रेमवर्कलाई तन्काउँदै ओलिगार्कीमै पुर्याउने । अनि तिनलाई फाल्न आन्दोलन नै हुनुपर्ने । यस्तो अवस्था पैदा भयो ।
२०६३ पछिको पात्रले देशलाई दिनसक्ने भिजन र काम यस बेलासम्म दिइसक्यो नि ! अझै त्यही मान्छे के नयाँ कुरा लिएर के कार्यान्वयन गर्ने ? त्यसले चुनाव जितेरै आएपछि कुनै वैधता हुँदैन । ओलीले फेरि चुनाव जितेर केही सुधार पनि थाल्लान् । तर २०७४ मा जितेर आउनुभन्दा अहिले उनको वैधता घटेकै हुन्छ । यो देउवा, प्रचण्ड सबैका हकमा लागू हुन्छ । तिनका पार्टीभित्र विकल्प आउन सहयोग पुर्याउनुपर्ने हो ।
मान्छेलाई यसैकारण वाक्क लाग्ने स्थिति पैदा भएको हो ?
माथि भने जस्तै, एकै व्यक्ति लामो समय एकै पदमा रहिराख्दा वैधतामा प्रश्न उठेको हो । यथास्थितिसँग एकदमै वाक्कदिक्क भएपछि अहिलेका व्यक्तिको साटो जोसुकै नयाँ मान्छे आओस् भन्ने हुँदोरहेछ । भीडमा विकल्प जस्तो भए पनि आओस् भन्ने सोचाइ पनि बन्न जाँदोरहेछ ।
प्रगतिशील, लोकतान्त्रिक परिवर्तनका लागि आलोचनात्मक चेतना भएको भीड आउने गर्छ । नत्र दुर्गा प्रसाईं जस्ता व्यक्तिका लागि हजारौं मान्छे आउँछन्, जबकि तिनलाई स्वयं दुर्गाको पृष्ठभूमि र कामको बारेमा कुनै वास्ता छैन भने हामीले यसको राजनीतिक अर्थ निकाल्नुपर्छ । जनताले अहिले भइरहेका व्यक्ति भएनन्, तिनलाई फेर भनेका हुन् । उनीहरूले अर्को आऊ भनेर कसैलाई तोकेर भनेको होइन, बरु व्यक्ति फेर भनेको हो ।
संसारमा जताततै राजतन्त्र थियो । धेरै देशबाट राजतन्त्र गयो, केही ठाउँमा अझै छ । धेरै मानिस मानसिक रूपमा यो विचारबाट अझै सर्न सकेका छैनन् । कतिले त राजतन्त्र ल्याउँ भनेर पार्टी नै खोलेका छन् । तिनीप्रति पनि मेरो सहानुभूति नै छ । राप्रपाको एजेन्डा राजसंस्था फर्काउने छ । मैले विगतमा यो पार्टीप्रति कठोर टिप्पणी गरें पनि हुँला । तर उसको एकमात्र एजेन्डा राजा फर्काउने हो, अरू केही छैन भन्ने बुझिसकेपछि हामीले पनि केही त बुझ्नै पर्ने हुन्छ ।
संसारका कतिपय देशमा भएका दक्षिणपन्थी शक्तिहरू आफ्नो विषयमा चनाखा छन् । समाजलाई पछाडि फर्काउन चाहनेसँग असहमति भए पनि तिनले कम्तीमा भन्ने गर्छन्, हामी आयौं भने देशको करनीति, व्यापारनीति, शिक्षा, आप्रवासी इत्यादिबारे यस्तो काम गर्छौं । नेपालका दक्षिणपन्थीसँग त राजा फर्काउने बाहेक केही भिजन नै भएन । त्यसैले उनीहरूलाई यति हुँदाहुँदै पनि सहानुभूति दिऊँ । जसको पार्टी खुलेकै राजा ल्याउने भनेर हो, त्यसले अरू के भनुन् त !
तर देशमा धेरै मुख भएर देश खतरामा पर्यो, बरु एउटा मात्रै राजा भए भने तिनले राष्ट्रिय एकता बचाउँछन् भन्छन् । उनीहरूले सुशासन चाहियो, भ्रष्टाचारीलाई कीरा परोस् भन्छन् । एजेन्डा छैन त ?
उहाँहरूको विश्वासलाई सम्मान सहित भनौं, धर्म मान्नेहरूले यो जुनीमा राम्रो काम गर, अर्को जन्ममा राम्रो हुन्छ भने जस्तो भयो । राजनीतिमा त कार्यक्रम पो चाहिन्छ । कस्तो कानून बन्ने, के गर्ने अर्थनीति शिक्षा नीतिदेखि संघीय प्रबन्धसम्म के हुने हो भन्ने स्पष्ट हुनुपर्ने, तर मैले कहिल्यै सुनेको पाउँदिनँ । तिनले केवल राजनीतिक दोकान मात्रै खोले ।
दक्षिणपन्थीको दोकानमा बेच्ने सामान छैनन् ?
छैनन् । उहाँहरूको कार्यक्रम, भिजन हुन्थ्यो भने हामी सत्तामा आएपछि देशको शिक्षाप्रणाली, शिक्षक आन्दोलनमा हाम्रो अडान यो हो, कानुन यस्तो चाहिन्छ भन्ने कुरा हुन्छ । हुनत पूर्वराजा ज्ञानेन्द्रको बुद्धिको तह त हामीले प्रत्यक्ष देखे–भोगेकै हौं । मानौं उनलाई मन लाग्यो रे, वा पूर्वराष्ट्रपति उपराष्ट्रपतिलाई नै आउन मन लागेको हो भने देशका समस्या यी हुन्, यी क्षेत्रमा यसरी काम गर्ने भनेर आउनुपर्यो ।
उनीहरूले यो ५, १०, १५ वर्षमा बोल्नुपर्ने होइन ? यी पूर्वहरूले देशलाई विचार दिने तलतलले म नै आउनुपर्छ भन्ने ठानेका हुन् भने म यो गर्छु भनेर कार्यक्रम सहित आउनुपर्यो । युवा विदेशमा गए भनेर चिन्ता गरेको हो भने म यो गर्छु भन्नुपर्यो । कुनै विषयमा निराशा वा फस्ट्रेसन छ भन्ने थाहा पाएर त्यसमा खेलेर मात्रै हुँदैन, उपाय सहित आउनुपर्यो । जो बोल्दा लोकप्रिय बनिन्छ, त्यो बोलिदिएर मात्रै भएन ।
राजावादीको भनाइ के छ भने, अब नवीन समझदारी गरौं, कसैले कसैलाई निषेध नगरौं । हिजोका गल्तीबाट दुवै पक्षले सिकौं, सबै पक्षले मिलेर बस्ने वातावरण सिर्जना गरौं भन्ने छ । यो निष्कर्षमा के खराबी छ र ?
यसमा धेरै खराबी छन् । पहिलो कुरा पूर्वराजालाई निषेध गरिएको छैन । उहाँलाई इतिहासको राजनीतिक आन्दोलनले बिदा गरेको हो । उहाँ नागरिकका रूपमा निषेधित हुनुहुन्न । उहाँले नागरिक दुःखी छन् भन्नुभयो । खासमा नागरिक होइन, उहाँ दुःखी हुनुभएको हो । किनभने आफ्ना कुबुद्धिले फ्याँकिनुपर्यो, अहिले शक्तिको तलतल भए पनि आउन सामथ्र्य छैन । त्यसैले यो जनताको सामूहिक दुःख होइन, उहाँको निजी दुःख हो जसले आम जनताको साझा दुःखलाई प्रतिनिधित्व गर्दैन ।
अब यसैलाई जोडेर सडकमा उठेका प्रश्नबारे कुरा गरौं । जनताले प्रश्न उठाए भन्दैमा समाजमा निराशा बढ्यो भन्न मिल्दैन । भएकाले पुगेन, अझ यसो गरौं भन्नुलाई जनता दुःखी भएको भन्न मिल्दैन । लोकतान्त्रिक फ्रेमवर्कमा यो त स्वाभाविक प्रक्रिया पो हो ।
अहिलेसम्म प्रधानमन्त्री भएकाहरू अझै पनि दृश्यमै छन् भनेर सर्वसाधारणले आलोचना गर्नु नकारात्मकता होइन, आलोचनात्मकता हो । आफूलाई आलोचना गर्यो भन्दैमा निराशा फैलायो भन्न नेतृत्वले मिल्दैन ।
अनि कमेन्ट लेख्नेहरूको पनि आफ्नै प्रवृत्ति हुन्छ । यस्तो प्रवृत्ति नेपालमा मात्रै होइन, अन्यत्र पनि देखिने गरेको हुन्छ । मान्छेको सामान्य बानी नै हुन्छ, यसो बोल्दा सामान्य कुरा गर्ने, तर त्यही कुरा फेसबुकमा लेख्नुपर्यो भने अलिक आलोचनात्मक वा कुनै कोण निकालेर सोध्ने भन्ने हुन्छ । अझ नकारात्मक कुरा गरेपछि लोकप्रिय भइन्छ भन्ने छ । तर स्वतन्त्र र खुला समाजमा राजनीतिक वर्गको आलोचना सामान्य हो । यसलाई नकारात्मक रूपमा हेर्नु आवश्यक छैन ।
तीनकुनेमा विध्वंश गर्ने राजावादी र बबरमहलमा प्रहरीलाई फूल दिने राजावादी : यी दुई दृश्यलाई कसरी बुझ्ने ?
एकातिर राजनीतिक संस्कार भएका राजावादी छन् । तिनको आफ्नै इतिहास र पृष्ठभूमि छ । अर्कातिर ती राजावादी वा केहीवादी नै नभएका मान्छे छन् । यसलाई दुवै किसिमले बुझ्नुपर्छ ।
तपाईले तीनकुनेका राजावादीलाई भन्नुभएको होला, त्यहाँ पनि नवराज सुवेदी जस्ता अनुभवी पञ्चदेखि जगमान गुरुङ जस्ता प्राज्ञिक भनिएका पात्रहरू छन् । तिनलाई कम आँक्न मिल्ला ?
यी मान्छेहरू सार्वजनिक भूमिकाका दृष्टिले इतिहासबाट बिदा भइसकेका पात्र हुन् । जगमानलाई प्राज्ञिक भन्ने पात्र खोज्दै जाँदा अहिलेको नेकपा एमालेका अध्यक्ष लगायतले अघि बढाए । यो पृष्ठभूमिमा आफैंमा दुःखद् र रोचक छ । पदीय निगाहबाट माथि गएका यी व्यक्तिको वैधता खासै छैन ।
प्रचण्ड, ओली र देउवालाई एकैछिन छाड्ने हो भने अहिले यति धेरै युवा पुस्ताका प्रतिनिधि आएका छन् । तिनले दक्षिण एशिया, पूर्वी एशियाका अरू देशभन्दा हामी किन ढिलो भनेर प्रश्न उठाइरहेका छन् । तिनलाई कसरी बुझ्ने ?
मूल पार्टीहरुमा यस्तो अवरोध निर्माण भएको छ कि यिनै नेताबाट नवीनताको आशा छैन । रास्वपा आयो, जसको आफ्नै कथा छ । वैकल्पिक पार्टीका केही सांसदले जुन भूमिका देखाए, ठूला पार्टीलाई चुनौती सुरु भयो ।
नयाँ पार्टीले एकैपल्ट विस्थापित गर्न नसके पनि शक्ति सन्तुलनलाई फरक पार्न सक्दो रहेछ । अनि यिनै पार्टीहरुभित्रबाट नयाँ आउने क्रमलाई पनि योगदान गरेको छ । तर योगदान यस्तो पनि नहोस् कि ओली देउवा वा दाहालले गणतन्त्रको प्रतिरक्षा गर्नु भनेको हाम्रो प्रतिरक्षा हो भन्न ठानुन् । सम्भावना पूरा नभए पनि दबाब सिर्जना हुन्छ ।
अन्तिममा, तपाईंले ओली, देउवा, दाहाललाई धेरै सुझाव दिनुभयो । पूर्वराजालाई के सुझाव छ ?
पूर्वराजालाई केही सुझाव नदिनु नै उचित हुन्छ । शक्तिमा फर्किने अभिलाषा राख्न पाइयो । उहाँको बारेमा धारणा वा गलत धारणा जे बनेको छ, हिजो कु गर्दा बेला उहाँको क्षमता देखिइसकेको छ । देशको माया लाग्छ, अस्थिरता नहोस् भन्ने छ भने पूर्वराजाको हैसियतमा देश बनाउने नयाँ आइडिया दिए हुन्छ ।
उहाँलाई देश बनाउने विचार भए दिनका लागि कसैले रोकेको छैन । ‘मसँग सुझाव भए पनि अहिले बोल्दिनँ, सत्तामा आएपछि मात्रै बोल्छु’ भन्ने परेको हो भने त्यो साहै्र बोधो विचार हो ।
प्रतिक्रिया 4