+
+
Shares

प्रदीप खड्कासँग रोमान्स गर्दै ‘बिग बोस’ स्टार चुम, ‘ऐरी’बाट नेपाली फिल्ममा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २०:३६

काठमाडौं । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ र संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई कठियाबाडी’मा अभिनय गरेकी चुम दरङले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।

छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा चुमले अभिनेता प्रदीप खड्काको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछिन् । दुई सातामा छायांकन तयारीमा रहेको यो फिल्मको कार्यशालाको लागि अभिनेत्री चुम यतिबेला काठमाडौंमा छिन् ।

कार्यशालामा उनले नेपाली भाषा सिकिरहेकी छिन् । ‘उहाँले अहिले स्क्रिप्टअनुसार डायलगलाई कण्ठ पार्दै हुनुहुन्छ’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँ फिल्मको लिड फिमेलकै रुपमा प्रदीप खड्काको अपोजिटमा देखिनुहुनेछ ।’

चुम केही दिनदेखि काठमाडौमा छिन् । यो फिल्मको मुख्य खलपात्रको भूमिकामा चाहिँ भुटानी अभिनेता सांगे सेल्ट्रिमले अभिनय गर्दैछन् । शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेका सांगेले ‘ऐरी’को लागि केही समयदेखि काठमाडौं आउजाउ गरिरहेका छन् ।

२०८१ सालको बैशाखमै निर्देशक जीवन थापासँग अभिनेता सांगेले फिल्मको लागि लिखित सहमति गरिसकेका छन् । ‘ऐरी’को छायांकन काठमाडौंसहित बागलुङको ढोरपाटन र भारतमा हुनेछ । छायांकन ३ महिना चल्ने, ८ महिना भीएफएक्स गर्दैमा बित्ने भएकाले फिल्मको निर्माण हुन १ वर्ष लाग्ने बताइन्छ ।

यो फिल्मलाई निर्देशक थापाको उपकरण कम्पनी मल्टिमेटले भारतीय वितरकसँगको सहकार्यमा निर्माण गर्दैछ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्मलाई केही क्षेत्रीय भाषामा पनि स्वरांकन गर्ने बताइएको छ ।

यो फिल्मको कलाकारमा प्रदीप, चुम र सांगेबाहेक सुनिल थापा पनि हुनेछन् । अरु थप चर्चित नेपाली अभिनेता पनि फिल्मसँग जोडिएको बताइएको छ । निर्माताले चाँडै औपचारिक जानकारी दिने तयारी गरेका छन् ।

अभिनेत्री चुमको कुरा गर्दा, उनी पछिल्लोपटक सलमान खानले होस्ट गरेको टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ मा सहभागि भएकी थिइन् । सन् २०२० मा उनले अमेजन प्राइमको क्राइम थ्रीलर सिरिज ‘पाताल लोक’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

सन् २०२२ को फिल्म ‘बधाई दो’मा उनी भूमी पेड्नेकरसँग देखिएकी थिइन् । संजयलीला भन्सालीले निर्देशन गरेको सन् २०२२ को ‘गंगुबाई कठियाबाडी’मा उनी आलिया भट्टसँगै प्रस्तुत थिइन् । सन् २०२५ मा उनको बलिउड फिल्म ‘खौफ’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?