+
+
Shares

पुनर्गठन हुँदैछ विश्व अर्थव्यवस्था

शक्तिराष्ट्रको नीतिगत अस्थिरताका कारण विश्व अर्थव्यवस्था नै फेरि एकपल्ट निर्धारित हुने ठाउँमा पुगेको छ । विश्व अर्थतन्त्रको सम्भावित निर्णायक फेरबदलले गरिब तथा जोखिममा रहेका देश बढ्ता प्रभावित हुनेछन् ।

जनार्दन बराल जनार्दन बराल
२०८२ वैशाख १० गते २२:३०

१० वैशाख, काठमाडौं । अर्थतन्त्र तथा व्यापारसम्बन्धी तीन ठूला संस्थाहरुले विश्वअर्थव्यवस्था नै ‘रिसेट’ अर्थात् पुनःनिर्धारित हुँदै गरेको बताएका छन् । विश्व अर्थतन्त्रको सम्भावित निर्णायक फेरबदलले गरिब तथा जोखिममा रहेका देश सबैभन्दा धेरै प्रभावित हुने उनीहरुको प्रक्षेपण छ ।

अहिले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक स्प्रिङ मिटिङ अमेरिकाको वासिंगटन डीसीमा चलिरहेको छ । सो अवसरमा ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै आईएमएफका अनुसन्धान विभागका निर्देशक पियरे–ओलीभर गौरिन्चासले भने, ‘हामी नयाँ युगमा प्रवेश गर्दैछौं, किनभने पछिल्लो ८० वर्षदेखि सञ्चालनमा रहेको विश्वआर्थिक आर्थिक प्रणाली रिसेट (पुनः निर्धारित) हुँदैछ ।’

अमेरिकाले अप्रिल २ बाट भन्सार दरमा तीव्र रुपमा वृद्धि गरेपछि विश्वभरबाट त्यसको तीव्र प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । ‘अहिले अमेरिकाले लगाउने भन्सार दर एक सयवर्षअघिको स्तर पार गरिरहेको छ भने विश्वका अन्य मुलुकले अमेरिकालाई लगाउने दर पनि बढेको छ,’ पियरेले भने ।

अचानक बढेको भन्सार मात्रै मात्रै होइन, बढ्दो नीतिगत अस्थिरताका कारण पनि विश्वअर्थतन्त्रको भविष्य प्रभावित हुने उनको भनाइ थियो । व्यापारको तनाव र नीतिगत अस्थिरताले विश्व अर्थतन्त्रको वृद्धि उल्लेख्य रुपमा कम हुने पनि आईएमएफको प्रक्षेपण छ ।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना गर्जिएभाले पछिल्ला घटनाक्रमले हामी अचानक र व्यापक परिवर्तन हुने विश्वमा बाँचेका छौं भन्ने स्मरण गराएको बताएकी छन् ।

अमरिकी ट्यारिफ धेरै पुस्ताअघिको स्तरमा पुगेको उनको भनाइ छ । ‘आज देखिएका परिघटनाहरू विश्वासको संकटका परिणाम हुन् — अन्तर्राष्ट्रिय प्रणालीमा विश्वास र देशहरूबीचको आपसी विश्वासको संकट’ आईएमएफकी प्रबन्ध निर्देशक गर्जिएभाले भनेकी छन् ।

ठूला देशहरु विश्व आर्थिक एकीकरणलाई गाली गर्र्दै त्यसबाट पछि हटिरहेको भए पनि त्यो बुझाइ गलत भएको उनले बताइन् । ‘विश्व आर्थिक एकीकरणले ठूलो संख्यामा मानिसहरूलाई गरिबीबाट बाहिर ल्याएको छ र संसारलाई समग्र रूपमा समृद्ध बनाएको छ ।’

तर सबैले यसको फाइदा नपाएको उनले बताइन् । ‘रोजगारी विदेश सरेपछि धेरै समुदायहरू खाली भए । सस्तो श्रमको बढ्दो उपलब्धताका कारण ज्याला निरोरियो,’ उनले भनिन् ।

जब विश्व आपूर्ति शृंखला अवरुद्ध भयो, त्यसले मूल्य बढाएको उनले बताइन् ।

पछिल्लो समय ठूलो देशहरु आमने सामने हुँदा साना देशहरू मिचिएको उनको भनाइ थियो ।

अहिले कम आय भएका देशहरूले ठूलो चुनौती सामना गर्नु परिरहेको उनले बताइन् । ‘वैदेशिक सहायताको प्रवाह हराउँदै गएको छ, किनभने दातृ राष्ट्रहरू आफ्नो आन्तरिक समस्यामा केन्द्रित भइरहेका छन् । अर्कातिर, व्यापारको तनावले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको छ,’ उनको भनाइ छ ।

यसअघि गत जनवरीमा सन् २०२५ को आर्थिक वृद्धि ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको आईएमएफले त्यसको तीन महिनापछि नै त्यसलाई ०.८ प्रतिशत बिन्दूले घटाएर २.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।

यसअघि गत जनवरीमा सन् २०२५ को आर्थिक वृद्धि ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको आईएमएफले त्यसको तीन महिनापछि नै त्यसलाई ०.८ प्रतिशत बिन्दूले घटाएर २.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्परिक भन्सारलाई तीन महिनाका लागि स्थगित गरेका छन् ।

‘अप्रिल ९ बाट रेसिप्रोकल ट्यारिफ लागू नभएको भए विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतमा मात्रै झर्ने प्रक्षेपण हुने थियो,’ उनले भने, ‘तर अब अहिले ट्रम्पले गरेको स्थगतले स्थायी रुपमा निरन्तरता भयो भने पनि २.८ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुनेछैन ।’

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना गर्जिएभा।

विश्वको अर्थतन्त्र मन्दीको स्तरभन्दा माथि भए पनि विश्वका सबै क्षेत्रहरु यसबाट नकारात्मक रुपमा प्रभावित हुने आईएमएफको प्रक्षेपण छ । ‘तर, पछिल्ला घटनाक्रमहरुले विश्वअर्थतन्त्र मन्दीमा जाने सम्भाव्यता बढाएको छ । यसअघि गत अक्टोबरमा यस्तो सम्भावना २५ प्रतिशत मात्रै भए पनि त्यो अहिले बढेर ४० प्रतिशतमा पुगेको छ,’ पिएरेले भने ।

आज देखिएका परिघटनाहरू विश्वासको संकटका परिणाम हुन् — अन्तर्राष्ट्रिय प्रणालीमा विश्वास र देशहरूबीचको आपसी विश्वासको संकट-क्रिस्टालिना गर्जिएभा,प्रबन्ध निर्देशक,आईएमएफ

विश्व व्यापार यो वर्ष ३.८ प्रतिशतले बढ्ने प्रक्षेपण यसअघि गरिएकोमा त्यो वृद्धिदर आधा कम भई १.७ प्रतिशतमा झर्ने आईएमएफले जनाएको छ । तर, ट्यारिफले विश्वअर्थतन्त्रमा फरक फरक प्रभाव पार्ने देखिन्छ । ‘यसले अमेरिकामा आपूर्ति धक्का (सप्लाई शक) सृजना गर्ने छ, जसले दिर्घकालमा उत्पादकत्व र उत्पादनलाईलाई सधैंका लागि घटाउने छ भने अल्पकालमा मूल्यवृद्धि गराउनेछ । यसले अमेरिकी आर्थिक वृद्धिलाई ०.९ प्रतिशत बिन्दूले घटाउने छ भने मूल्यवृद्धि बढाउनेछ,’ उनले भने ।

अन्य मुलुकहरुमा भने यसले नकारात्मक बाह्य मागको धक्का (डिमान्ड शक) सृजना गर्ने, जसले मुलुकभित्रको आर्थिक क्रियाकलाप र मूल्य कम हुने पनि आईएमएफको भनाइ छ । तर, यो धक्काका कारण विनिमयदरमा परेको प्रभाव भने जटिल रहेको आईएमएफ बताउँछ । ‘यसअघि भन्सार दर बढ्दा अमेरिकी डलरको मूल्य पछि बढ्ने गथ्र्यो, तर अहिले त्यसो भएन । गहिरो नीतिगत अनिश्चय, अमेरिकी अर्थतन्त्रको वृद्धि कम हुने सम्भावना तथा विश्वव्यायी मागमा हुने तलमाथिका कारण अमेरिकी डलरको मूल्य कम भइरहेको छ,’ आईएमएफले जनाएको छ।

विकासशील र उदीयमान अर्थतन्त्रहरुले २० वर्षअघिको तुलनामा अहिले विश्व व्यापारमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको विश्वबैंकका अध्यक्ष अजय बांगाले बताएका छन ।

अहिलेको अनिश्चय र व्यापारिक तनावले विकासशील मुलुकलाई जोखिममा धकेले पनि त्यसलाई उनीहरुले अवसरका रुपमा लिनसक्ने उनले बताए ।

अहिले विकासशील मुलुकले गर्ने कुल निर्यातको आधा विकासशील मुलुकमै गर्ने उनले बताए । त्यसो हुँदा ती मुलुकहरुले आफूआफूबीचको व्यापार बढाएर अघि बढ्न सक्ने उनले बताए ।

‘विकास सिधा प्रक्रिया होइन । इतिहास हेर्ने हो भने अवरोधका बीच पनि विकास अघि बढेको छ,’ उनले भने ।

अर्कातिर, विश्व व्यापार संगठनले पनि अमेरिकी भन्सार नीतिले निर्यातमा आधारित अल्पविकसित मुलुकहरुलाई गम्भीर असर पार्ने जनाएको छ ।

व्यापार नीतिको वर्तमान जोखिमबाट अल्पविकसित मुलकुहरु विशेषगरी प्रभावित बनेको विश्व व्यापार संगठनकी महानिर्देशक एंगोजी ओकोञ्जो–इवेलाले जनाएकी छन् ।

‘सबैभन्दा धेरै पारिस्परिक भन्सार सामना गरिरहेका १० मुलुकमध्ये पाँचवटा अल्पविकसित छन् । तत्कालका लागि अन्य देशलाई रेसिप्रोकल भन्सार हटेको तर चीनलाई लागेको अवस्थामा अल्पकालमा केही देशले लाभ लिन सक्लान् । तर, यो भन्सार पुनः स्थापित हुँदा त्यसको प्रभाव गम्भीर हुनेछ,’ उनले भनिन् ।

विश्वबैंकले साढे ४ र आईएमएफले ४ प्रतिशत गरेको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण

विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोष दुवैले आर्थिक वृद्धिको प्रक्षेपण पनि सार्वजनिक गरेका छन् । विश्वबैंकले सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने प्रक्षेपण छ । विश्वबैंकले यसअघि ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसलाई झारेर ४.५ मा ल्याएको हो ।

त्यस्तै, आगामी वर्ष ५.२ प्रतिशत आर्थिक वृद्धि हुने विश्वबैंकको प्रक्षेपण छ । नेपालको वित्तीय प्रणालीमा निरन्तर कमजोरी देखिएको भन्दै विश्वबैंकले यसअघिको भन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको जनाएको छ । ‘ जीडीपीमा निजी क्षेत्रमा जाने कर्जाको अनुपात घटिरहेको छ । विशेषगरी घरजग्गामा गएको कर्जा खराब हुँदा धेरै वित्तीय सहकारीहरु या त घाटामा छन्, या डुबेका छन्,’ विश्वबैंकले भनेको छ, ‘यही बेला नेपाल एफएटीएफको ग्रेलिस्टमा दोस्रोपटक पनि परेको छ ।’

अर्को विश्वसंस्था आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । आगामी वर्ष भने साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने आईएमएफको वल्र्ड इकोनोमिक आउटलुकले देखाएको छ ।

यो वर्ष भारतको आर्थिक वृद्धि भने ६ प्रतिशत हुने प्रक्षेपण छ, जुन संसारमै सबैभन्दा धेरैमध्ये एक हो ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?