
१० वैशाख, काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरको सबैभन्दा रमणीय स्थानमध्येमा पर्ने वैसरण उपत्यकामा मंगलबार मध्याह्न बुटवलका २७ वर्षीय सुदीप न्यौपाने परिवारसहित रमाइलो क्षण बिताइरहेका थिए ।
भारत यात्राका अधिकांश पल सामाजिक सञ्जालमा समेत शेयर गरिरहेका थिए । सोमबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै श्रीनगरको सैनिक नियन्त्रित विमानस्थलमा अवतरण गरेपछि उनले त्यहाँका तस्वीर र छोटो भिडियोहरु पनि शेयर गरेका थिए ।
त्यो हवाई यात्राको एउटा क्लीप राख्दै उनले क्याप्सन लेखेका थिए, ‘इन्टु द क्लाउड । (बादलभित्र)’
साँझ श्रीनगरमा बसेर मंगलबार कश्मिरको मिनी स्वीजल्याण्ड समेत भनिने वैसरण उपत्यका पुगेका थिए, जहाँ आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग फोटो खिच्दै उनीहरू रमाइलो क्षण बिताइरहेका थिए । तर, मध्याह्न भारतीय समय अनुसार साढे २ बजेतिर एक्कासी हरियाली जंगलबीचको त्यो पर्यटकीय फाँट रक्तपातपूर्ण बन्यो ।
हतियारसहित देखिएका चार आतंककारीले पर्यटकहरूप्रति अन्धाधुन्ध गोली बर्साउन थाले, त्यसक्रममा न्यौपाने पनि मारिए । आमा रिना भागेर सुरक्षित स्थानतर्फ जाने क्रममा घाइते भइन्, सुष्मा र उज्ज्वलले पनि भागेर ज्यान जोगाए ।
घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए । मारिने अर्का व्यक्ति यूएईका नागरिक छन् ।
बुटवल १४ का वडाध्यक्ष समेत रहेका काका दधिराम न्यौपाने सुदीपको निधनपछि शवसहित आफन्तहरू नेपाल आउने क्रममा रहेको बताउँछन् ।
भारतीय विदेशमन्त्रालयसँगको समन्वयमा सुदीपसँगै आमा रिना पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटा नेपालतर्फ आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले पनि जनाएको छ ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले बुधबार बिहानै भारतीय विदेश मन्त्रालयसँग शवसहित त्यहाँ बसेका नेपालीलाई फिर्ता ल्याउन समन्वय गरेका थिए । त्यसपछि साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्लीसम्म उनीहरूलाई ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउसम्म हवाई जहाजमा ल्याउने र त्यहाँबाट नेपाली सीमा क्षेत्रसम्म एम्बुलेन्समा ल्याउने तयारी रहेको भनिएको छ ।
एक्लिइन् आमा
आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।
त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।
शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर सुने ।
छिमेकी अमृत भुसालका अनुसार, सुदीपले पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका थिए, त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका उनी सामाजिक कार्यमा पनि सक्रिय थिए ।
‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने युवाको मृत्युले अहिले बुटवल शोकाकुल भएको उनी बताउँछन् । ‘बुबा पनि विक्षिप्त भएर घर आइपुग्नुभएको छ’, उनी भन्छन् ।
उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको स्थानीय थानेश्वर पौडेल बताउँछन् । ‘घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ,’ पौडेलले थपे ।
कश्मिरको दैनिक अखबार राइजिङ कश्मिरले हमलामा बाँच्न सफल भएका पर्यटकहरूसँग कुरा गर्दै उनीहरूका भयावह अनुभवहरूलाई उल्लेख गरेको छ । गुजरातबाट आएकी पर्यटक पुष्पा बेनले गोलीबारीको घटनाको भयावह क्षणबारे भनेकी छन्, ‘हामी भर्खरै त्यहाँ पुगेका थियौं र परिवारको फोटो खिच्न व्यस्त थियौं, एक्कासी गोलीबारीको आवाज सुन्यौं, के भइरहेको छ भनेर बुझ्न नपाउँदै अगाडि मानिसहरू ढल्न थाले ।’
त्यो देख्दा डरले आफूहरू भुइँमा ढलेको उनले उल्लेख गरेकी छन् । तनावको बीचमा पूरै आतंक छाएको थियो । ‘हामीले झोला, सामान र जुत्तासमेत गरी सबै कुरा त्यत्तिकै छाड्यौं र जिन्दगी बचाउन दौडियौं’, उनले भनेकी छन्, ‘केही सोच्ने स्थिति पनि थिएन, हामी यति डराएका थियौं कि, लाग्थ्यो संसार त्यहीँ समाप्त भयो ।’
त्यो आतंकले थुप्रै पर्यटकहरूलाई गम्भीर आघात र निराशामा डुबाएको समाचारमा उल्लेख छ । अर्की एक पर्यटकले चिच्याउँदै ‘मेरो श्रीमान् मरिसके, अरुलाई बचाउनुस्’ भनेको समेत उल्लेख गरिएको छ ।
हमलामा भाग्यले बाँचेकाहरू आफ्ना चिन्तित परिवारका सदस्यहरूबाट लगत्तै आएका तनावपूर्ण फोनकल सम्झन्छन् । ‘हाम्रो परिवारका सदस्यहरूले लगातार फोन गरिरहेका थिए, उनीहरू अत्यन्त चिन्तित थिए’, कर्नाटकबाट आएका एक पर्यटकले भने, ‘अहिले हामी श्रीनगरमा सुरक्षित साथ पुगेका छौं, तर हामी पूर्ण रुपमा टुटिसकेका छौं, हामी कहिल्यै पनि फर्किएर आउने छैनौं । यो त्रासदीले सधैँ सताइरहनेछ ।’
क्षेत्रीय आतंकवादको असर
मंगलबार कश्मिरमा भएको घटनाले क्षेत्रीय आतंकवादको प्रभाव कसरी नेपाल जस्तो तेस्रो मुलुकमा पर्छ भन्ने देखाएको सुरक्षा मामलाका जानकारहरू बताउँछन् ।
प्रतिआतंकवाद मामलामा काम गर्ने नेपाल प्रहरीको विशेष ब्यूरोमा लामो समय काम गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई भन्छन्, ‘आतंकवादीले धर्म सोधेर गोली हानेको भन्ने आएका छन्, खासमा पर्यटकहरूलाई उनीहरूले सहज टार्गेट बनाएको देखिन्छ ।’
राईको भनाइमा, अहिले घटनाको जिम्मेवारी लिएको भनिएको ‘द रेसिस्टेन्ट फ्रन्ट’ जस्ता आतंकवादी समूहले आफ्ना एजेण्डा स्थापित गराउन बढीभन्दा बढी आतंक फैलाउने कोशिस गर्छन् ।
अमेरिकी राष्ट्रपति जेडी भान्स समेत भारत भ्रमणमा रहेका बेला भएको यो हमलामा कुनै साइनो नभएको विदेशी पर्यटकलाई समेत निशाना बनाउनुले यो विशुद्ध आतंकवादी गतिविधि भएको र त्यसविरुद्ध सबै मुलुक एकजुट हुनुपर्ने उनी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर घटनाको भत्सर्ना गर्दै समवेदना व्यक्त गरेका छन् । मोदीले नेपालीको नागरिकको मृत्यु भएकोमा समवेदना व्यक्त गर्दै अपराधीलाई कानुनी कठघरामा उभ्याइने भनेका छन् । ओलीले आतंकवादविरुद्धको लडाइँमा नेपाल साथमै रहेको बताएका छन् ।
प्रतिआतंकवाद मामलाका जानकार नारायण अधिकारी यस्ता प्रकृतिका आतंकवाद केवल एक देशको आन्तरिक समस्या नभई सम्पूर्ण क्षेत्रीय सुरक्षालाई नै अस्थीर बनाउने तत्व भएको बताउँछन् ।
उनी भन्छन्, ‘नेपाल, भारतलगायत दक्षिण एशियाली राष्ट्रहरूबीच खुफिया सूचनाको आदानप्रदान, सीमा सुरक्षा व्यवस्थापन तथा आतंकवाद विरोधी रणनीतिमा गहिरो सहकार्यको आवश्यकता अझ बढी देखिएको छ ।’
सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि नै कश्मिरमा तनाव हुँदै आएको छ । त्यसबेला कश्मिरलाई भारतले आफू कहाँ विलय गर्ने निर्णय गरेको थियो भने पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो । त्यो विषयलाई लिएर दुई देशबीच तीन पटक युद्ध समेत भइसकेका छन् ।
भारतको केन्द्र सरकारले २०१९ मा कश्मिरलाई विशेष अधिकार दिने संविधानको धारा ३७० खारेज गरेको थियो, त्यसले मुस्लिम बहुल जनसंख्यामा असन्तोष र विरोध समेत सिर्जना गरेको थियो ।
त्यहाँ थुप्रै सक्रिय उग्रवादी समूहहरू छन्, त्यसलाई भारतले पाकिस्तानको समर्थन रहेको भन्दै आएको छ । ती समूहबाट समेत पटकपटक कश्मिरमा हिंसात्मक गतिविधि हुने गरेका छन् । यद्यपि, पछिल्लो पटक पर्यटकका लागि कश्मिर सुरक्षित छ भन्ने सन्देश भारतले दिइरहेका बेला यो आतंकवादी हमला भएको हो ।
(भारतीय सञ्चारमाध्यमहरू समेतको सहयोगमा)
प्रतिक्रिया 4