१० वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।
हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले ४.२ ओभर बाँकी छँदै ३ विकेट मात्र गुमाएर भेटायो । रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जीशान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । हेनरिच क्लासेनले सर्वाधिक ७१ तथा अभिनव मनोहरले ४३ रन बनाए ।
एक समय १३ रनमा ४ विकेट तथा ३५ रनमा ५ विकेट गुमाइसेको हैदराबादका लागि क्लासेन र मनोहरले ९९ रनको साझेदारी गर्दै इनिङ उकासे । यद्यपी योगफल पर्याप्त भने भएन ।
मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । दीपक चहरले ४ओभरमा १२ रन मात्र दिएर २ विकेट लिए । हार्दिक पान्ड्या र जसप्रित बुमराहले १-१ विकेट लिए ।
यस जितपछि ९ खेलमा १० अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा यथावत् छ । हैदराबादको प्लेअफ सम्भावना अब कमजोर बन्न थालेको छ ।
प्रतिक्रिया 4