
धनगढी । पारीपट्टिका भारतीय गाउँ राति झिलीमिली देखिन्थे । ती गाउँको उज्यालो देख्न थालेको वर्षौं भइसकेको थियो तर वारिपट्टि भने मट्टीतेलको सहारामा टुकी बाल्नुुको विकल्प थिएन ।
गाउँकै मुनिबाट महाकाली नदी बगिरहन्थ्यो । बहुचर्चित पञ्चेश्वर परियोजना निर्माण भएपछि गाउँ झिलीमिली हुने आशा गर्न थालेको पनि वर्षौं बितिसके । स्थानीयका लागि पञ्चेश्वर परियोजना एकादेशको कथा जस्तै भइसक्यो ।
पञ्चेश्वरवासीलाई सडक पूर्वाधारको अभावमा हप्ता दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता अर्को थियो । कतिसम्म भने जिल्ला सदरमुकाम जान समेत नाउ मार्फत महाकाली तरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने थियो । सडक पूर्वाधार अभावकै कारण नुनदेखि दैनिक उपभोग्य सामानका लागि पनि भारतीय बजारमै निर्भर हुनुपर्ने बाध्यता थियो ।
शिक्षा र स्वास्थ्यको अवस्था उस्तै दयनीय थियो । सञ्चारको कुरा गर्दा भारतीय सीमकार्डको प्रयोग गर्नुपर्ने अवस्था थियो भने खानेपानीका लागि घन्टौं हिंडेर मुहानसम्म पुग्नुपर्ने बाध्यता थियो । बैतडीको पञ्चेश्वर गाउँपालिका–३ को कुलाउका बासिन्दाले लामो समयदेखि भोग्दै आएका समस्या हुन्, यी ।
तर सधैं समय एकनाश रहन्न भने जस्तै बिस्तारै कुलाउ पनि फेरिन थाल्यो । विकासले छुन थालेपछि कुलाउको मुकुट फेरिन थाल्यो । आँखै अगाडि धेरै परिवर्तन भइसके, कतिपय हुने चरणमा रहेका छन् भने कतिपय निकट भविष्यमा पूर्ण हुन्छन् भन्ने विश्वास कुलाउवासीमा छ ।
पछिल्ला केही वर्षमा कुलाउको काँचुली नै फेरिएको छ । पछिल्ला ७ वर्षमा कुलाउ सडक सञ्जालमा जोडिएको छ । विद्युत् विस्तार भइसकेको छ । सञ्चारको विकासको गति उस्तै छ । शिक्षाको विकास तीव्र गतिमा अघि बढेको छ । स्वास्थ्य संस्थाको निर्माण भइरहेको छ ।
अँध्यारा गाउँहरू उज्याला भएका छन् । घर–घरमा खानेपानीका धारा पुगेपछि घन्टौं पैदल हिंडेर मुहानसम्म पुगी पानी बोक्नुपर्ने बाध्यता हटेको छ ।
पानीको कुलाको नामबाट कुलाउ गाउँ नामकरण गरिएको थियो । पञ्चेश्वर गाउँपालिका–३ मा पर्ने कुलाउ विकट बस्तीका रूपमा चिनिथ्यो । तर अहिले भने यहाँ बजार समेत विस्तार भइसकेको छ भने कुलाउलाई पाटन–पञ्चेश्वर कालोपत्रे सडकले जोडिरहेको छ ।
‘२० वर्षअघि सडक, बिजुली बत्ती, क्याम्पस, सञ्चारको केही सुविधा थिएन तर अहिले नभएको लगभग खासै केही छैन भन्दा हुन्छ’ कुलाउकै स्थानीय पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख चन्द भन्छन्, ‘विकासले लय समातेको छ । अहिले कुलाउ र पञ्चेश्वरवासीलाई धेरै नै सुविधा छ ।’
उनका अनुसार विगतमा ७ कक्षासम्मको मात्र विद्यालय रहेको कुलाउमा अहिले स्कूल मात्र ७ वटा खुलिसकेका छन् । स्नातकसम्मको क्याम्पस पनि स्थापना भएर सञ्चालनमा छ । चन्द भन्छन्, ‘म स्वयंले पनि ७ कक्षासम्म मात्रै गाउँमा पढ्न पाएको थिएँ ।’
२०३९ सालमा ८ कक्षा पढ्न महेन्द्रनगर गएका चन्दले भने, ‘अहिले त्यो अवस्था छैन । गाउँमै ७ वटा स्कूल खुलिसकेका छन् । समुदायको पहलमा २०६९ सालदेखि नवप्रभात संयुक्त क्याम्पस स्थापना भएको छ । त्यहाँ स्नातकसम्मको पढाइ हुन्छ । यो पनि ठूलो परिवर्तन हो नि !’
गाउँमै क्याम्पस खुलेपछि हिजो जस्तो माध्यमिक शिक्षा अध्ययन गर्न भारत वा मुलुकका अन्य शहर धाउनुपर्ने बाध्यताको अन्त्य हुने नै भयो । त्यति मात्र होइन अहिलेका बालबालिकाले त घर–आँगनमै रुचि अनुसारको विषय पढ्न पाएका छन् ।
नवप्रभात क्याम्पसमा शिक्षाशास्त्र संकाय, मानविकी, व्यवस्थापनका अतिरिक्त विज्ञान र आइटी विषयको पठनपाठन पनि भइरहेको छ । यसको ठूलो लाभ स्थानीयका छोराछोरीले उठाइरहेका छन् ।

‘२०६२/६३ सम्म यहाँका दिदीबहिनीले एसएलसी र प्लस टु गरेर पढाइ छाड्ने गरेका थिए तर अहिले गाउँमै क्याम्पस खुलेपछि भने सबैभन्दा ठूलो राहत उनीहरूलाई भएको छ’ कुलाउकी स्थानीय बिना भट्ट भन्छिन्, ‘अहिले क्याम्पस पढ्ने छात्रा बढी र छात्र कम हुँदा नवप्रभात क्याम्पस नै कन्या क्याम्पस जस्तो भएको छ ।’
पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी भट्टले विद्यार्थीलाई प्रोत्साहन गर्न हरेक वर्ष गाउँपालिकाले क्याम्पसलाई छात्रवृत्तिका लागि १० लाख रुपैयाँ बजेट दिंदै आएको बताउँछिन् । शिक्षामा आएको क्रान्ति नै पञ्चेश्वरको कुलाउ गाउँ विकासको पहिलो आधार भएको उनको तर्क छ ।
भारतको लुहाघाटबाट भारी बोकेर नुन, तेल, साबुन, लत्ताकपडा ल्याउनुपर्ने बाध्यताको अन्त्य सडक सञ्जालले गरिदिएको छ । कुनै बेला हुम्ला, जुम्ला, कालीकोटदेखि लिएर सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा लगायत जिल्लाबाट लाहुर जानेहरूको मुख्य बाटो नै थियो कुलाउ गाउँ । तर पैदलमार्ग हुँदै श्रमका लागि भारत जानेहरू अहिले गाडी चढेर जाने गरेका छन् ।
लामो समय कुलाउ माध्यमिक विद्यालयमा शिक्षण समेत गरेका गाउँपालिकाका अध्यक्ष गोरख चन्दका भनाइमा सडक सञ्जालका अतिरिक्त सञ्चार प्रविधिले पनि फड्को मारेको छ भने यहाँका मानिसको चेतनास्तरमा समेत बदलाव आएको छ ।
‘हामीकहाँ पहिले टेलिफोन सेवा विस्तार भएको थिएन । टावर अभावका कारण भारतीय सीम कार्डको प्रयोग गर्नुपर्ने बाध्यता थियो’ चन्दले भने, ‘तर अहिले नेपाल टेलिकमको सेवा विस्तार भएपछि लगभग भारतीय सीमको प्रयोग हटिसकेको छ । इन्टरनेटको पहुँच पुगिसकेको छ ।’ उनका भनाइमा, महाकाली नदी किनारतिर भने टेलिकमको नेटवर्क नचल्ने समस्या छ । त्यो समस्या पनि हल गर्ने प्रयास भइरहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पूर्वको कुलाउ र अहिलेको कुलाउमा स्पष्ट फरक देखिने स्थानीय बताउँछन् । गाउँमा सीमित कुलाउको स्वरुप फेरिएर बजार भइसकेको छ । खानेपानी आयोजना मार्फत सबैका घर–घरमा धारा जोड्ने कामले गति लिइरहेको छ ।
‘कतिपयले संघीयताले विकृति मात्र ल्यायो, मुलुकका लागि बोझ भयो भनेको सुनिन्छ तर संघीयताले धेरै सकारात्मक काम पनि भएका छन् । विकट बस्तीमा विकास पुगेको छ’ अध्यक्ष चन्द भन्छन्, ‘पाँच लाखको बजेट पाउन मुश्किल पर्ने ठाउँमा करोडौं बजेट आइरहेको छ । यो परिवर्तन हो नि !’
यसरी विगतमा भारतमा निर्भर कुलाउ परिवर्तनसँगै आत्मनिर्भर बन्नेतर्फ उन्मुख छ । सडकको पहुँच भएसँगै यहाँका कतिपय किसान कुखुरापालन, तरकारी खेती जस्ता व्यवसायमा लागेका छन् । सामान्य दैनिक उपभोग्य वस्तुका लागि पनि भारतीय बजारकै मुख ताक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले आवश्यकता अनुसार वस्तु सडकमार्ग मार्फत गाउँमै पुग्न थालेका छन् । स्थानीय वस्तुहरूले बजार पाउन थालेको छ ।
सामान्य बिरामी हुँदा समेत भारत जानुपर्ने बाध्यता थियो । २०३८ सालदेखि गाउँमा स्वास्थ्य चौकी भए पनि औषधि अभाव जस्ता कारणले उपचार सम्भव हुँदैनथ्यो । तर अहिले भने स्वास्थ्य चौकीमा थप सेवा विस्तार भएका छन् । गम्भीर खालका बिरामीलाई तत्कालै अस्पताल लैजान सक्ने स्थिति बनेको छ । त्यसैकारण स्वास्थ्य सेवाका लागि भारतको मुख ताक्नुपर्ने बाध्यता पनि धेरै हदसम्म हटिसकेको स्थानीय बताउँछन् ।
‘ज्वरो, रुघाखोकी जस्ता स–साना रोगका बिरामीको उपचार गाउँमै हुन्छ । जटिल खालका बिरामीलाई तत्कालै एम्बुलेन्सबाट जिल्ला सदरमुकाम र पाटनमा रहेका अस्पतालमा उपचारका लागि लैजाने गरिएको छ’ गाउँपालिका उपाध्यक्ष भट्टले भनिन्, ‘जबकि विगतमा गाउँमा कोही बिरामी पर्दा पिठ्युँमा बोकेर महाकाली तारेर भारत लैजानुपर्ने बाध्यता थियो ।’
प्रतिक्रिया 4