+
+
Shares
मोडल वाच :

प्रशंसामा खुलेका राज र सनिशा

यसैसाता अनलाइनखबरको स्टुडियोमा सनिशा र अभिनेता राज कटुवालले फिल्मबारे चर्चा गरे । फिल्ममा यी दुईले जोडी बाँधेको देख्न सकिन्छ । उनीहरूले छायांकन अनुभव, केमेस्ट्रीदेखि अभिनय यात्राका कुरासम्म खुलाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १२:४७

काठमाडौं । ‘नरसिंहा अवतार’ अहिले प्रदर्शन तयारीमा छ । यो फिल्ममा राजेश हमाल, सरोज खनालजस्ता पाको पुस्तादेखि सनिशा भट्टराईसम्मको कान्छो पुस्ताका कलाकारले अभिनय गरेका छन् ।

९ जेठदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । राजेश हमालले पुनरागमन गर्न लागेको फिल्म भएकाले पनि दर्शकीय पर्खाइ देखिन्छ ।

यसैसाता अनलाइनखबरको स्टुडियोमा सनिशा र अभिनेता राज कटुवालले फिल्मबारे चर्चा गरे । फिल्ममा यी दुईले जोडी बाँधेको देख्न सकिन्छ । उनीहरूले छायांकन अनुभव, केमेस्ट्रीदेखि अभिनय यात्राका कुरासम्म खुलाए ।

‘१२ गाउँ’पछि सनिशाको यो दोस्रो फिल्म हो । म्युजिक भिडियोबाट अभिनय करिअर थालेकी उनको डेब्यु फिल्म नै हिट भयो । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेन । डेब्यु फिल्म नै सुपरहिट भएपछि उनलाई दोस्रो फिल्मबाट पनि उस्तै आशा छ ।

‘पहिलो फिल्मले आत्मविश्वास त दियो,’ उनले भनिन्, ‘तर त्यो सँगै ठूलो जिम्मेवारी पनि आयो । दर्शकको नजरमा पर्नु सजिलो हुन्छ, तर त्यस्तो नजरलाई निरन्तर कायम राख्न गाह्रो हुन्छ ।’

सेटको वातावरण, टिमको ऊर्जा र सपोर्टले काम गर्न सजिलो भएको अनुभव उनको छ । ‘हामी सबैले एउटै लक्ष्य लिएर काम गरिरहेका थियौं,’ भन्छिन्, ‘त्यसैले जुनसुकै सिन पनि सहज बन्यो ।’

राजको लागि भने यो फिल्म कलाकारको रूपमा थप आत्मीय बन्यो । अघिल्लो फिल्म ‘मायावी’मा निर्माता बनेर जिम्मेवारी सम्हालेका उनी यसमा भने अभिनेताको रुपमा देखिँदैछन् । यसकारण, उनीमाथि व्यवसायिक दबाब छैन ।

‘जब निर्माता हुन्छु, बजेट, सेट, समन्वय सबै कुरा मेरो काँधमा आउँछ । तर जब म कलाकार हुन्छु, तब त्यो सम्पूर्ण ऊर्जा अभिनयमा केन्द्रित हुन्छ । नरसिंहामा मैले त्यो सहजता पाएँ ।’

सनिशा र राजले पहिलोपटक ‘स्क्रिन सेयर’ गरेका हुन् । सनिशाले राजको जाँगर र व्यवसायिकताको खुलेर प्रशंसा गरिन् भने राजले पनि सनिशाको अनुशासन र प्रस्तुतिप्रतिको प्रतिबद्धता मनपराए ।

दुवैले यसमा राजेश हमालसँग काम गर्ने मौका पाए । हमालको काम गर्ने शैली, लगाव र सेटमा सबैलाई सहज बनाउने गुणले आफूहरूलाई प्रेरणा दिएको उनीहरू बताउँछन् ।

सनिशाको नजरमा, राजेश हमालसँग काम गर्नु भनेको अभिनयको स्कूलमा पढे जस्तो हो । हमालको कार्यशैलीले अझै बढी जिम्मेवार र संवेदनशील बनाएको उनको बुझाइ छ । राजले पनि हमालसँगको सहकार्यले प्रस्तुति अझ निखारिएको बताए ।

राज र सनिशा दुवैले अभिनयलाई निरन्तरता दिने योजना बनाएका छन् । हतारमा प्रोजेक्ट साइन नगर्ने र हरेक फिल्मबाट केही नयाँ दिनुपर्ने हो उनीहरुको सोच छ । ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि प्रदर्शन तयारीमा छ ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?