
काठमाडौं। अमेरिका र चीन बीचको टयारिफ युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खिसीट्युरी गर्दै डिजाइन गरिएको एउटा ट्वाइलेट ब्रसको चिनियाँ बजारमा व्यापक मत्रामा बिक्री बढेको छ।
हुन त पहेंलो रंगको ट्रम्प ट्वाइलेट ब्रस नयाँ होइन। ट्रम्पको मुखाकृति ट्वाइलेट ब्रसको ह्याण्डिलको तलपट्टि कुँदिएको छ। यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चिनियाँ बजारमा उपलब्ध थियो।
चीन र अमेरिकामा ट्रम्पको लोकप्रियता बढेसँगै चिनियाँ कारखानाहरूले ट्रम्पको थिममा आधारित विभिन्न सामान उत्पादन गरिरहेका थिए। तर, अहिले परिस्थिति फेरिएको छ।
ट्रम्पले चिनियाँ वस्तुहरूमा भारी भन्सार शुल्क लगाएका कारण उनीप्रति रोष प्रकट गर्नका लागि अहिले धेरै चिनियाँहरुले उक्त प्यारोडी ट्वाइलेट ब्रस किनिरहेका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, ‘यीउको प्रतिआक्रमण’ले चर्चित अभियानका रूपमा ट्रम्प ट्वाइलेट ब्रसको बिक्री उल्लेख्य रूपमा बढेको छ।
चीनको यीउ सहरमा साना कारखानाहरू छन्, जहाँ ट्रम्प–थीममा आधारित ट्वाइलेट ब्रसजस्ता सस्ता प्लास्टिक सामग्रीहरू उत्पादन गरिन्छन्। त्यसैले ‘यीउको प्रतिआक्रमण’ भन्ने अभियानलाई ट्रम्पका भन्सार शुल्कबाट प्रत्यक्ष प्रभावित चिनियाँ उत्पादकहरूलाई देशले दिएको समर्थनको रूपमा हेरिएको छ।
यस हप्ता इन्टरनेटमा भाइरल भएका ती ट्वाइलेट ब्रसहरू १३.९ युआन (झण्डै १.९ अमेरिकी डलर) देखि १८.९ युआन (करिब २.६ डलर) सम्ममा बिक्री भइरहेका छन्।
अमेरिका र चीन बीचको ट्यारिफ युद्ध चर्किएदेखि नै चीनमा अमेरिकी विरोधी भावना बढ्दै गएको छ। चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी नागरिकलाई लक्षित गर्ने सूचना फैलिएका छन्, र केही व्यवसायहरूले अमेरिकी भन्सार शुल्कको प्रतिकारको रूपमा आफ्ना प्रड्कटमा पनि अतिरिक्त शुल्क राख्ने निर्णय गरेका छन्।
हुवेई प्रान्तको उहानमा एउटा रेस्टुरेन्टले प्रवेशद्वारमा एउटा सूचना राखेर ध्यान आकर्षित गरेको छ। जसमा लेखिएको छ, ‘अमेरिकी ग्राहकहरूलाई १०४% थप सेवा शुल्क लाग्नेछ। यदि तपाईंलाई कुनै गुनासो छ भने, कृपया अमेरिकी दूतावाससँग सम्पर्क गर्नुहोस्।’ एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4