
११ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको १० वर्ष पुग्दा काठमाडौंको नवःदेग (भवानी शंकर) मन्दिर पुनर्निर्माण हुन थालेको छ ।
काठमाडौं शुक्रपथबाट वंघ (इन्द्र चोक) हुँदै भेडासिंहतर्फ लाग्दा पहिलो चोक (भेडासिंह चोक) मा रहेको मन्दिर पुनर्निर्माण भइरहेको हो ।
काठमाडौं महानगरपालिका–२५ पर्ने यो मन्दिर प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको अभिलेखमा उल्लेख छ । त्यस बेलाका शक्तिशाली महामन्त्री देवीदास चिकुटीले मन्दिर निर्माण गराएका थिए । यो मन्दिर त्यतिबेलाको अग्लो, कलात्मक र प्रभावशाली संरचना रहेको अभिलेखमा उल्लेख छ ।
२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिरको वास्तु गुम्बज शैलीबाट मौलिक तले शैलीमा अहिले पुनर्निर्माण भइरहेको हो । ४ तहको पेटीमाथि निर्माण भएको मन्दिरको मुख्यद्वार पश्चिम फर्किएको छ । निर्माणका समयमा यो तले शैलीको थियो ।
१९९० साल (सन् १९३४) को भूकम्पमा भत्किनु अघिसम्म पनि यो तीन तलाको तले शैलीकै थियो । तर, ९० सालको भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण गर्ने क्रममा शैली परिवर्तन गरेर तले शैलीको तल्लो तला कायम राखेर त्यसमाथि गुम्बज शैली थपिएको थियो ।
पश्चिमबाट पूर्वतर्फ फर्किएर मन्दिरको मुख्यद्वारसम्म पुग्ने गरी ढुंगाका सिँढी छन् । गर्भगृहमा भवानीशंकर शिवलिङ्ग केन्द्रमा राखेर पाञ्चायन देवता गणेश, सूर्य, नारायण र महालक्ष्मीका मूर्तिलाई भित्तामा स्थापना गरिएका छन् ।
४१६ वर्ष अगाडि निर्माण
अभिलेखअनुसार नेपाल संवत् ७९५ (सन् १६७५) मा चौतारा देवीदास अर्थात् चिकुटीले यो मन्दिर निर्माण गर्न लगाएका हुन् । खोरतमका ३ भाइ छोरामध्ये उनी कान्छा थिए । उनको घर वंघल अर्थात् इन्द्रचोकमा थियो । प्रताप मल्ल राजा हुँदा उनी प्रधानमन्त्री थिए ।
मन्दिरमा भएको शिलालेखमा भवानी शंकरलाई खुसी पारेर आफ्नो प्रभावशाली व्यक्तित्व र शक्ति कायम राख्न मन्दिर निर्माण गराएको प्रसङ्ग उल्लेख छ । ब्राह्मण र माग्न आउनेलाई दिनदिनै चामल बाँड्न सय रोपनी जग्गा गुठी राखेको विवरण उल्लेख छ ।
तत्कालीन समयमा दैनिक दानका लागि सय रोपनी जग्गा आयस्ताका लागि राख्न सक्ने भन्नु उनी धनी थिए, धार्मिक थिए भन्ने हो ।
मन्दिरको पुरानो शिलालेखमा ४९ पंक्तिको विवरण छ । यसमध्येका २५ पंक्तिमा महादेवको स्तुति गरिएको छ । बाँकी पंक्तिमा मन्दिर सञ्चालन, नित्य पूजा र आरती सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । राजा पार्थिवेन्द्र मल्लको हत्या आरोपमा नेपाल संवत् ८०७ (सन् १६८७) मा चिकुटी मारिएका थिए ।
ब्राह्मण पुजारीमार्फत मन्दिरको नित्य पूजा भइरहेकोमा २०५० सालतिरबाट ब्राह्मणहरू पूजाका लागि आउन छाडेपछि किलाघः का दर्शन परिवारले मन्दिरको सफाइ र दैनिक पूजा गर्न थाले ।
यसअघि दर्शन परिवारले मन्दिर र परिसर सरसफाइको काम गर्दै आएका थिए । मन्दिरमा साउन महिनाभरि, हरेक महिनाको पहिलो दिन, पूर्णिमाको दिन र महाशिवरात्रिमा विशेष पूजा गर्ने चलन छ ।
५ करोड ३५ लाखमा पुनर्निर्माण हुँदै
मन्दिर पुननिर्माण लागत ५ करोड ३५ लाख ८० हजार रुपैयाँ हो । ४ फागुन २०८२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणका लागि २ भदौ २०८१ मा महानगरले कार्यादेश दिएको थियो ।
‘मौलिक स्वरूप पुनस्र्थापनाले सामाजिक सद्भाव पूर्ववत् आत्मीय बनाउँदै लगेको छ । सहरको प्राचीन परिचय पुनर्स्थापित हुँदैछ,’ २५ वडाका अध्यक्ष राजेश डंगोलले भने ।
उनका अनुसार असनबाट त्यौड जाने मार्गमा ज्वालामाई अजिमा र मच्छिन्द्रबहालको महास्नान गर्ने स्थान पुनर्निर्माण सुरु हुन लागेको छ । असनबाट न्याकन्तल आउँदा हाकुबहालमा रहेको हर्ष चैत्य महाविहार पुनर्निर्माण गर्ने योजना छ ।
उनले बाङ्गेमुढामा रहेका निजी गुठीसँग सम्बन्धित पाटीसहित संरचना आगामी वर्ष पुननिर्माण गर्ने योजना समेत सुनाए ।
प्रतिक्रिया 4