
काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएको फिल्म ‘महावीर’को २४ चैतमा निर्माण घोषणा गरियो । यो फिल्मको छायांकन २६ असारदेखि सुरु गर्ने तयारी छ ।
नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण हुने बताइएको यो फिल्मलाई जिबी आग्रीले निर्देशन गर्ने यसअघि बताइएको थियो । फिल्मको घोषणा गर्दै कार्यकारी निर्माता अधिकारीले नयाँ र पुरानो पुस्ताका सुपरस्टारलाई फिल्ममा कास्टिङ गर्ने बताएका थिए ।
अहिलेसम्म निर्माताले कलाकारबारे औपचारिक घोषणा गरेका छैनन् । तर, यो मल्स्टिारर फिल्ममा केही कलाकार भने तय छन् । निर्माताले दुई कलाकारको नाम समावेश गरेर चैत ४ गते चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् ।

जसमा अभिनेत्री निरुता सिंह र अभिनेता आशिर्वाद क्षेत्रीको नाम समावेश छ । जसको अर्थ, ६ वर्षपछि यो फिल्मबाट अभिनेत्री सिंहले फिल्ममा कमब्याक गर्ने भएकी छन् । उनी पछिल्लो पटक सन् २०१९ मा रिलिज भएको फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् ।
सन् २०२३ मा रिलिज भएको ‘नाइँ नभन्नू ल ६’बाट डेब्यु गरेका क्षेत्रीको यो नयाँ फिल्म हुनेछ । स्रोतका अनुसार यो फिल्ममा आशिर्वादको अपोजिटमा आना शर्माले अभिनय गर्दैछिन् । आनाले पछिल्लोपटक ‘एक्टर ः टेक वन’मा अभिनय गरेकी थिइन् । यतिबेला ‘महावीर’को अभिनय कार्यशाला भैरहेको छ ।
प्रतिक्रिया 4