+

एन्फाको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने

२०८२ वैशाख  ११ गते १८:०० २०८२ वैशाख ११ गते १८:००
एन्फाको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने

११ वैशाख,  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ ।

एन्फाले एएफसी क्लब च्याम्पियनसिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित ए डिभिजन क्लबहरु समावेश गरेर यही २० वैशाखदेखि लिगकम नकआउट प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

तर टिम दर्ता गर्नका लागि तोकिएको समय वैशाख १० गतेसम्म ४ टिमले मात्र नाम दर्ता गराएपछि अब नकआउट प्रतियोगिता नहुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘चार क्लब मात्र दर्ता भएका छन् । क्लबहरुले खेल्न नचाहेपछि ४ क्लबको मात्र गरेर भएन । क्लबहरुले इच्छा देखाएमा एन्फाले खेलाउने हो’ शाहले भने ।

यसअघि ए डिभिजनका ९ क्लबहरूले तयारी समय कम भएको, प्रक्रिया नपुर्‍याई नकआउट प्रतियोगिता गर्न लागेको भन्दै नखेल्ने निर्णय गरेका थिए ।

तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित संकटा क्लबले मात्र बुधबारसम्म नाम दर्ता गराएका थिए ।

तोकिएको समयमा ४ टिमले मात्र नाम दर्ता गराएपछि एन्फाले बिहीबार नै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारणले लिगकम नकआउट प्रतियोगिता निर्धारित मिति वैशाख २० गते नहुने जानकारी गराएको हो ।

लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनसिपमा नेपाली क्लबको सहभागिता समेत अन्योलमा परेको छ ।

एन्फा प्रवक्ता शाहका अनुसार कुनै प्रतियोगिता नभएपछि एएफसी क्लब प्रतियोगितामा नेपालको सहभागिता नहुने बताए ।

अखिल नेपाल फुटबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय