
काठमाडौं । टिभी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ अहिले चर्चामा छ । नयाँ साजसज्जा, कलाकार र प्रस्तुति लिएर शोको प्रसारण हिमालय टिभीमा भैरहेको छ ।
केही सातादेखि सुरु भएको नयाँ सिजनलाई दर्शकले रुचाएका छन् । सिजनको चौंथो एपिसोड खास रह्यो । यो एपिसोडमा शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘भूठान’को प्रवर्धन गर्न हरिवंश आचार्यसहितका कलाकार पुगेका थिए ।
हरिवंशलाई ट्रिब्युट गरिएको यो एपिसोडमा उनका चर्चित पात्रलाई पुनर्जीवित गरियो । साथै, सामाजिक सन्देशसहितको ब्यंग्य पनि प्रस्तुत गरियो । हरिवंशसहित निर्देशक विनोद पौडेल, अभिनेत्री पूजा चन्द अतिथि बनेर पुगेका थिए ।
शोका निर्देशक विशाल भण्डारीले यो एपिसोड हरिवंशप्रति समर्पित गरिएको बताए ।
यो एपिसोडको सुरुवात भरतमणि पौडेल र कैलाश कार्कीको प्रस्तुतिसँगै सुरु भयो । यी दुईले हजुरबा र नातीको भूमिकामा दमदार प्रस्तुति दिए । पुस्तान्तर र व्यवहारिक जीवनका झल्को दिँदै उनीहरूले दर्शकलाई हाँसोको डोज दिए ।
त्यसपछि आए सजन श्रेष्ठ र मेक्सम गौडेल। दुर्गम थापा नामक संगीतका गुरु र शिष्य पात्रबीचको सम्बन्धलाई लिएर बनाइएको प्रस्तुतिमा उनीहरूले हँसाउँदै नेपाली संगीत सिकाइ प्रणालीलाई ब्यंग्य गरे ।
प्रभात लामा र पवन भट्टराईले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अवतारमा कार्यक्रमलाई भावनात्मक उचाइ प्रदान गरे । ‘मह जोडी’ को शैली, हाउभाउ र संवाद प्रस्तुत गर्दै उनीहरूले पुराना दिनको झल्को दिलाए ।
त्यसपछि ‘वडाध्यक्ष’ बनेका सुमन कार्की र ‘सहयोगी’ बनेका सन्तोष थापा स्टेजमा उक्लिए । ‘ऊ गरेर चै… ऊ गरेर चै…’ जस्ता पुराना संवाद र शैलीमार्फत दर्शकलाई झनै नजिक पुर्याए हरिवंशका पुराना नाटकहरूसँग ।
शोको अन्त्यतिर ‘भूठान’ टिमले फिल्ममा काम गर्दा आएका अनुभव र सन्देशबारे कुरा गरे । हरिवंशले जीवनका केही व्यक्तिगत अनुभव र हास्य यात्राका किस्सा साझा गरे ।
निर्देशक भण्डारीका अनुसार, ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले कन्टेन्टमा प्राथमिकता दिँदै आएको छ । पाहुनाको मजाकमा मात्र सीमित नरहने, बरु सशक्त स्क्रिप्ट र प्रस्तुति दिनेतर्फ शो केन्द्रित भएको उनले बताए । उनले आगामी एपिसोडमा प्रहसनमा जोड दिने बताए ।
उनका अनुसार यो शो २ वर्ष अझै चल्नेछ । त्यसपछि उनी ‘कमेडी च्याम्पियन’ सुरु गर्ने तयारीमा छन् । आगामी वर्ष ठूलो पर्दाको फिल्ममा समेत काम गर्ने विशालको योजना छ ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीमा प्रसारण हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट प्रसारण हुदै आएको छ ।
प्रतिक्रिया 4