
११ वैशाख, काठमाडौं । फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा आगोका कारण बेलुन पड्कियो ।
घटनापछि अर्थमन्त्री विष्णु पौडेल, पोखरा मेयर धनराज आचार्य घाइते भए । उनलाई तत्काल उपचारका लागि किर्तिपुरस्थित वर्न अस्पताल ल्याइयो । केही दिनपछि उनी नियमित काममा फर्किए ।
लगत्तै गृहमन्त्री रमेश लेखकले घटनावारे अध्ययन गर्न ४ फागुनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यिय समिति गठन गरे ।
अध्ययन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईदेखि कास्कीका एसपी श्यामबाबु ओलिया लगायतहरु थिए । उनीहरुले समितिमा एकजना विस्फोटक पदार्थ विज्ञ समेत राखेका थिए ।
समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ । समितिका एक सदस्यका अनुसार, कार्यक्रममा आवश्यक सतर्कता नअपनाएका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।
समितिले घटनामा व्यवस्थापकीय त्रुटी भएको निष्कर्षसहित दीर्घकालिन समाधानका सुझावहरु दिएको थियो । उसले भीआईपीहरु कस्ता कार्यक्रममा जाँदा उपयुक्त हुने भन्नेवारे नीति बनाउनुपर्ने, उनीहरु संलग्न कार्यक्रममा गर्ने क्रियाकलापवारे पहिले नै सतर्कता अपनाउनुपर्ने सुझाव दिएको थियो । गृहमन्त्रालयले प्रतिवेदनको सुझावखण्ड कार्यान्वयनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकेको छ ।
तर, पोखराको भन्दा गम्भीर प्रकृतिको घटनामा भने गृहप्रशासनले कुनै चासो नै दिएन । गत सोमबार ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा चार जनाको ज्यान गयो । फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट प्रवाह भएको थियो ।
हिलाम्मे सडकमा जीप फँसेको थियो । मृतकहरु हिलाम्मे थिए । सडकको खाल्डो छलेर अगाडि बढ्ने क्रममा जिपमा तार छोइएको थियो । चार दिन बितिसक्दा पनि ताप्लेजुङ घटनाबारे न गृह मन्त्रालयले सोधपुछ गरेको छ, न त स्थानीय प्रशासनले पनि त्यसबारेमा कुनै निर्णय लिएको छैन ।
बरु तार लत्रिएको घटनाबारे अध्ययन गर्न ऊर्जा मन्त्रालयले विद्युत विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर(सीडीई) नुतन शर्माको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रीस्तरिय निर्णयबाट मन्त्रालय, पुल्चोक क्याम्पसका प्रतिनिधि लगायतका प्रतिनिधि सम्मिलित टोलीले घटनाको कारणवारे अध्ययन गर्ने उर्जा मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।
प्रतिक्रिया 4