+

लेजेन्ड खेलाडीको नेपाल आगमन : बन्न सक्छ, खेलकुद विकासको टर्निङ प्वोइन्ट

२०८२ वैशाख  ११ गते २२:३९ २०८२ वैशाख ११ गते २२:३९

फुटबलका लेजेन्डहरूको आगमनले खेलाडीमात्रै नभएर खेलकुदमा लगानी गर्ने व्यवसायीहरूका लागि पनि प्रेरणा बन्नसक्छ ।

लेजेन्ड खेलाडीको नेपाल आगमन : बन्न सक्छ, खेलकुद विकासको टर्निङ प्वोइन्ट

११ वैशाख, काठमाडौं । दशरथ रंगशालामा विश्वचर्चित लेजेन्ड रोबर्टो कार्लोसको फ्रि-किक । पोस्टमा नेपाली गोलरक्षक समित श्रेष्ठ । यसलाई प्रत्यक्ष नियाल्ने दशरथ रंगशालामा भरिभराउ दर्शक । कार्लोसलाई क्यामेरामा कैद गर्ने फोटो पत्रकार वा ब्याकग्राउन्डमा कार्लोसलाई क्याप्चर्ड गर्दै सेल्फी लिने दर्शक ।

यो अभूतपूर्व क्षण नेपाली फुटबलमाझ निकै मानेमा अर्थपूर्ण रह्यो ।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र पोखरा थन्डर्सबीचको ‘क्वालिफायर टू म्याच’को हाफटाइमको यो दृश्य निकै रोमाञ्चक थियो । ब्राजिलियन लेजेन्ड कार्लोसले प्रहार गरेको पहिलो फ्रि-किक समितले बचाए । दोस्रो फ्रि-किकले जाली चुम्यो ।

यो फ्रि-किक कार्लोसले त्यसै हानेका होइनन् । जब कार्लोसको नाम लिइन्छ अनि जोडिएर आउँछ फ्रि-किक । ३ जुन सन् १९९७ फ्रान्सविरुद्ध कार्लोसले गरेको फि-किक विश्वचर्चित छ ।

टुर्ने डे फ्रान्सको पहिलो खेलमा ब्राजिल र फ्रान्सबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा रोबर्टो कार्लोसले ० यार्डबाट गरेको पावरफुल फ्रि-किकको फ्रान्सका गोलकिपर फाबियन बार्थेजले भेउ नै पाएनन् । बनना कटमा बलले जाली चुमेपछि फाबियन हेरेको हेर्‍यै भएका थिए ।

एल होम्ब्रे बाला अर्थात् ‘दी बुलेट म्यान’ उपनामले प्रख्यात कार्लोस नेपाल आउनु नेपाली खेलकुदप्रेमी र खेल क्षेत्रका लागि ठूलो उपलब्धि रहेको खेलकुदका जानकारहरूको बुझाइ छ । उनलाई नेपाल भित्र्याउने नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले खेलकुदका लागि गौरबको विषय रहेको बताएका थिए ।

कार्लोसको आगमनले लिग प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचान त बढ्छ नै, समग्र फुटबलको विकास सकारात्मक सहयोग पुग्ने विश्वास गरिएको छ ।

बुधबार मात्रै कार्लोस कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजमा पुगे । शिक्षक र विद्यार्थीसँग अन्तर्क्रिया गरे । कलेज सञ्चालक लोकबहादुर भण्डारी र गोपाल भण्डारीले उनलाई भव्य स्वागत गरे । फुटबलका यी सर्वकालीन महान खेलाडीसँगको अन्तर्क्रियाले जेभियर कलेजका विद्यार्थीलाई फुटबलप्रतिको मोह बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आफ्ना फ्यानलाई जर्सीमा अटोग्राफ दिएका कार्लोसबाट विद्यार्थी प्रेरित हुने कलेजले विश्वास गरेको छ । ‘फुटबलप्रति प्रेरित गर्न कार्लोसको आगमनले हामीलाई निकै फाइदा पुग्ने विश्वास गरेका छौं,’ सञ्चालक भण्डारीले भने ।

नेपाली ढाका टोपी लगाइदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागतमात्रै गरेनन्, माउन्टेन फ्लाइट र जंगल सफारीसम्मको निम्तो दिए । कार्लोससँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले उनको प्रशंसा गरे ।

पुरानादेखि सिक्दै गरेका फुटबल खेलाडीको प्रेरणा मानिने कार्लोसले पनि नेपाल भ्रमण गर्न पाउँदा हर्षित रहेको बताए । नेपाली फुटबलसँग सानो साक्षात्कार गरेका कार्लोस दुई दिने भ्रमण सकेर आज बिहीबार स्वदेश फर्कंदैछन् ।

०००

कार्लोसको फ्रि-किक सम्हालेका समितकै जस्तो संयोग जुरेको थियो, अर्का गोलरक्षक विशाल श्रेष्ठलाई । विशालले विश्व फुटबलमा लेजेन्ड गोलरक्षक जियानलुइजी बुफोनको हातबाट उत्कृष्ट गोलकिपरको पुरस्कार थापेका थिए, जुन उनले कल्पना नै गरेका थिएनन् ।

बुफोन नेपाल आएपछि फोटोसम्म खिचाउने लक्ष्य राखेका मच्छिन्द्र क्लबका गोलरक्षक विशाल उनैको हातबाट उत्कृष्ट गोलरक्षकको अवार्ड पाउँदा निकै हर्षित देखिन्थे ।

१८ फागुनमा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापनमा बुफोन काठमाडौं आएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका उनले पनि दशरथ रंगशालामा पुगेर खेल हेरेका थिए ।

विश्वचर्चित खेलाडीको नेपाल आगमनलाई खेलकुदसँग मात्रै नभएर स्पोर्ट-टुरिजमसँग पनि जोडेर काम गर्न सकिने विज्ञहरू बताउँछन् ।

बुफोन मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हेरे र २० फागुनमा स्वेदश फर्किए । इटालीका लेजेन्ड पूर्वगोलरक्षक बुफोनको यो आगमन फुटबल क्षेत्रमा एउटा उत्सव नै बनेको थियो । त्यतिमात्रै होइन, बुफोनले व्यक्त गरेको इच्छाले फुटबल विकासका लागि कोसेढुंगा बन्न सक्ने पनि आकलन गरिएको थियो । बुफोनको भेटघाट र व्यक्त विचारले त्यतिबेला निकै चर्चा पाएको थियो ।

काठमाडौं ओर्लिएलगत्तै सञ्चारकर्मीसँग भेटघाट गरेका उनले त्यही दिन साँझ उद्यमी र व्यावसायिक फुटबल क्लबसँग भेटघाट गरे । विश्वका महान खेलाडी बुफोन नेपाली फुटबल क्लबहरूसँग अन्तर्क्रिया गर्नु, उनका अनुभव सेयर हुनुले फुटबलमा लगानी गरेकालाई थप प्रोत्साहनको बिन्दु रहेको फुटबल विश्लेषक सञ्जीव मिश्रको बुझाइ छ । फुटबलका लेजेन्डहरूको आगमनले खेलाडीमात्रै नभएर खेलकुदमा लगानी गर्ने व्यवसायीहरूका लागि पनि प्रेरणा बन्नसक्छ ।

नेपाल आगमनको बेला बुफोनले फुटबलको मोह अत्यधिक रहेको र सोचेभन्दा धेरै प्रशंसक पाएको धारणा व्यक्त गरे । बुफोनले नेपालमै एकेडेमी खोल्नेसम्मको इच्छा व्यक्त गरेको युवासंघका प्रवक्ता तथा उपाध्यक्ष कृष्णहरि शर्माले त्यतिबेला बताएका थिए ।

प्रतियोगिताहरू नियमित भए व्यावसायिक हुने र नेपालले एसियन कपदेखि विश्वकपसम्मको यात्रा तय गर्नसक्ने बुफोनको भनाइ थियो ।

०००

कार्लोस र बुफोनका अलावा फुटबल जगतका अर्का हस्ती इंग्ल्यान्डका डेभिड बेक्ह्यामले पनि यसअघि नेपाल भ्रमण गरिसकेका छन् । २० कात्तिक २०७२ मा बेक्ह्याम नेपाल आएका थिए । बेलायती सञ्चार संस्था बीबीसीको डकुमेन्ट्री टोलीसँगै नेपाल आएका उनी भक्तपुरमा पुगेर फुटबलसमेत खेलेका थिए ।

डकुमेन्ट्री खिच्ने र युनिसेफलाई सहयोग जुटाउने लक्ष्यसहित उनी ७ महादेशका सात मुलुकको भ्रमणमा क्रममा नेपाल आए । भूकम्पले क्षतिग्रस्त बनेको पद्म माध्यमिक विद्यालय पुगे । भत्किएको स्कुल युनिसेफले टहरा बनाइदिएपछि सञ्चालनमा आएको थियो । उनको आगमन कुनै फुटबल कार्यक्रमसँग सम्बन्धित नभए पनि विद्यार्थीसँग केहीछिन फुटबल खेले । अनुभव साटे । अनि एक दिने भ्रमण सकेर फर्किए ।

बेक्ह्याम र कार्लोस साथी हुन् । उनीहरूले सँगै स्पेनिस क्लब रियल मड्रिडबाट खेलेका थिए । कार्लोसजस्तै बेक्ह्याम पनि फ्रि-किक हान्न निकै माहिर थिए । उनको फ्रि-किकलाई ‘बेक्ह्याम कर्ल’ भनिन्थ्यो ।

उनीहरुभन्दा अघि फुटबलकै अर्को ठूलो नाम जर्मनीका बर्टी भोग्स नेपाल आएको बताइन्छ । यो निकै पुरानो समय थियो । तर अहिले डेढ महिनाकै अवधिमा विश्व फुटबलका दुई ठूला हस्तीले नेपाल भ्रमण गरिसकेका छन् ।

ठूला स्टार खेलाडीको नेपाल भ्रमणले विशेषगरी उदाउँदो पुस्ताका नयाँ खेलाडीलाई प्रोत्साहन हुने फुटबल विश्लेषक मिश्र बताउँछन् । ‘विश्व चर्चित विदेशी खेलाडी नेपाल आउँदा उनीहरूको अनुभव सेयरिङका कुरा पनि हुन्छन् । पुराना खेलाडीले पनि उनीहरूबाट अनुभव लिएर नयाँ खेलाडीलाई सिकाउने अवस्था रहन्छ भने खेलकुदमा लाग्न नयाँ पुस्तालाई प्रोत्साहन हुन्छ,’ मिश्रले अनलाइनखबरसँग भने ।

प्रतिष्ठित खेलाडीको भ्रमणसँगै भोलिका दिनमा चर्चित खेलाडीहरू नेपालको लिग खेल्न आउने अवस्था रहनेसम्म विश्लेषण गरिन्छ । यसले नेपाली फुटबलको दीर्घकालीन विकासमा सहयोग पुर्‍याउन सक्छ । भोलिका दिनमा अन्य खेलाडी तथा पूर्वस्टार खेलाडीहरूको नेपाल आगमन थप सहज हुनसक्छ ।

खेलकुद स्टारहरूको नेपाल भ्रमण हुनु सुखद पक्ष रहे पनि संरचनागत विकास नहुँदा भने यसले धेरै अर्थ नराख्ने बुझाइ पनि धेरैको छ । ‘स्टार खेलाडी नेपाल आउनु सकारात्मक पाटो त हो, तर यसको संरचनागत विकासको खाँचो पनि छ,’ एन्फामा बसेर काम गरिसकेका एक जानकार भन्छन्, ‘हामीसँग देखाउने त्यही एउटा रंगशाला छ । कन्सर्टदेखि कबड्डी, फुटबल, दीक्षान्त समारोह सबै त्यसैले धान्नुपर्ने अवस्था छ । संरचनागत विकासमा सरकारको ध्यान कहिल्यै गएन ।’

फुटबल विश्लेषक मिश्र पनि यो कुरामा सहमति जनाउँदै संरचनागत विकासबिना खेलकुद क्षेत्रको प्रगति हुन नसक्ने बताउँछन् ।

विश्वचर्चित खेलाडीको नेपाल आगमनलाई खेलकुदसँग मात्रै नभएर स्पोर्ट-टुरिजमसँग पनि जोडेर काम गर्न सकिने विज्ञहरू बताउँछन् । विश्वचर्चित खेलाडीहरू नेपाल आउँदा यहाँका पर्यटकीय स्थलहरूको भ्रमण र प्रचारप्रसारमा विशेष ध्यान दिनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

एनपीएल खेल्न नेपाल आएका बेला भारतीय क्रिकेटर शिखर धवनले त माउन्टेन फ्लाइट नै गरेका थिए ।

अर्का स्टार गोलरक्षक बुफोन विश्व सम्पदा सूचीमा रहेका बसन्तपुर दरबार क्षेत्र र बौद्ध घुमे । अर्कोपटक समेत आउने बताएका उनले डाँफे, गैंडा र हिमाल हेर्ने इच्छा व्यक्त गरेका थिए ।

अहिले नेपाल भ्रमणमा रहेका कार्लोसलाई प्रधानमन्त्री ओलीले माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो दिए । यस्ता खेलाडीलाई स्पोर्ट टुरिजमसँग जोड्न सके भोलिका दिनमा खेलकुद क्षेत्रको मात्रै नभएर पर्यटनको क्षेत्रमा समेत ठूलो योगदान पुग्न सक्ने देखिन्छ ।

०००

पछिल्लो समय क्रिकेटका लेजेन्ड खेलाडी पनि धमाधम नेपाल भित्रिन थालेका छन् । वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान ब्रायन लारा २८ मंसिर २०८१ मा काठमाडौं आएका थिए । नेपाल प्रिमियर लिग एनपीएल हेर्न नेपाल क्रिकेट संघ (क्यान)को निम्तोमा उनी काठमाडौं आएका थिए ।

त्रिविस्थित क्रिकेट मैदान पुगेर खेल हेरेका लाराले नेपाली क्रिकेट र समर्थकको खुलेर प्रशंसा गरेका थिए । क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी लारालाई उपहार दिएका थिए । ढाका टोपी लगाएका लाराले दुई हात जोडेर नमस्ते भन्दै अभिवादन गरेका थिए ।

लाराको यो आगमन पनि निकै फलदायी रहेको क्यानका सचिव पारस खड्काले बताएका थिए । अझ उनले लारा नेपाली क्रिकेटसँग जोडिन चाहेको विषय समेत खुलाएका थिए ।

नेपालमा क्रिकेटको माहोल देखेर नेपाली क्रिकेटसँग जोडिने आधार कस्तो हुनसक्छ भनेर चासो राखेको खड्काले बताएका थिए । यदि लारा जस्ता स्टार खेलाडीको अनुभव र सिकाइ नेपाली टोलीले पाउने हो भने धरै प्रगति गर्ने विश्वास गरिएको छ ।

लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान उनीसँग छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै आफू नेपाल आउन चाहेको बताएका थिए । नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट संवादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

यही एनपीएलमा भारतीय चर्चित क्रिकेटर शिखर धवन त एनपीएल खेल्नै नेपाल आए । कर्णाली याक्सले उनलाई अनुबन्धन गरेर नेपाल ल्याएको थियो । एनपीएल खेल्न अन्य चर्चित खेलाडी पनि नेपाल आएका थिए ।

यसअघि २०७६ सालमा भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर पनि काठमाडौं आएका थिए । उनी बेक्ह्यामकै जस्तो युनिसेफको कार्यक्रममा काठमाडौं आएका थिए । त्यतिबेला उनले त्रिवि क्रिकेट मैदानमा बालबालिकासँग रमाइलो गर्दै ब्याटिङ र बलिङ गरेका थिए ।

पाकिस्तानका शाहिद अफ्रिदी २०७९ सालमा काठमाडौं आएका थिए । उनी एभरेस्ट प्रिमियर लिगमा सहभागी हुन काठमाडौं आएका थिए । महेन्द्रसिंह धोनी, ब्रेट ली, जोन्टी रोड्स, कपिल देवजस्ता विश्वका स्टार क्रिकेट लेजेन्डहरू नेपाल आइसकेका छन् ।

खेलकुद विकास रोबर्टो कार्लोस
लेखक
नारायण अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय