+
+
Shares

राजावादीलाई हाँक दिन, युवा फकाउन एमाले गयो भृकुटीमण्डप

लोकतन्त्र दिवसका अवसरमा आयोजित यो कार्यक्रमलाई यति धेरै महत्व दिइनुको पृष्ठभूमि भने राजावादी गतिविधिलाई काउण्टर गर्नु हो । गत ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजावादी गतिविधि बढेको थियो । यसलाई समेत जवाफ दिने उद्देश्यले एमालेले चैतभर वडा, जिल्ला र प्रदेश स्तरीय सभा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते २२:३०

११ वैशाख, काठमाडौं । नेकपा एमालेले यसपटकको लोकतन्त्र दिवस युथ सेलेब्रेसन अर्थात युवाहरुको उत्सवका रुपमा मनाएको छ । शीर्ष नेताहरुका लामा भाषणको साटो केही सांगीतिक प्रस्तुति र मन्तव्यसहितको कार्यक्रम बिहीबार भृकुटीमण्डपमा आयोजना गर्दै एमालेले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरुमाथि विमर्श गरेको हो । लोकतन्त्रको लामो लडाइँ सफल भएको दिनलाई सत्ता नेतृत्वकर्ता दलले राजावादी लगायत दक्षिणपन्थी शक्तिहरुलाई हाँक दिन अनि नयाँ पुस्तालाई आकर्षित गर्नका लागि उपयोग गर्न चाहेको देखियो ।

‘लोकतान्त्रिक गणतन्त्रलाई युवाहरुसँग जोड्न हामीले युथ सेलेब्रेसन गरेका हौं’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘लोकतन्त्रप्रति भ्रम फैलाउने काम भइरहेकाले युवाहरुलाई प्रस्टयाउनु परेको हो ।’

२०६२÷०६३ सालको दोस्रो जनआन्दोलन सफल भएको दिनको (११ वैशाख) सम्झनामा अघिल्ला वर्षहरु पनि एमालेले लोकतन्त्र दिवस मनाउने गरेको थियो । तर यसपटक एमालेले युवा पंक्तिलाई अगाडि सारेर विशेष महत्वका साथ लोकतन्त्र दिवस मनाएको छ ।

लोकतान्त्रिक गणतन्त्रबारे मन्तव्य दिन ४० वर्ष मुनिका वक्ताहरु चयन गरेको थियो । पार्टी नेतृत्वका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मात्र सम्बोधन गरे । जबकि सभामा एमालेका सबैजसो पदाधिकारी उपस्थित थिए । उनीहरुले बोल्ने सूची तय थिएन ।

युवाबाटै लोकतान्त्रिक गणतन्त्रको चर्चा गराउने उद्देश्य राखेर काठमाडौं महानगर पालिकाका उपमेयर सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियू सभापति अश्विनी शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेल, डा.आनन्द सिंह, ल क्याम्पसका विद्यार्थी प्रकाश सुनार, कोटेश्वर क्याम्पसका स्ववियू सभापति सर्मिला भण्डारी लगायतले सम्बोधन गरिन् ।

‘आज २० वर्ष मात्र पुगेकी शर्मिला भण्डारीले गणतन्त्रबारे सम्बोधन गरिन् । अरु वक्ताहरु पनि ३५/३६ वर्ष भन्दा मुनिकै थिए’ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल भन्छन् ।

यो कार्यक्रम पार्टीकै भएपनि युवालाई महत्व दिन अनेरास्ववियुका अध्यक्ष बडाल र राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई संयोजन गर्ने जिम्मा दिइएको थियो । ‘कार्यक्रमका संयोजन, वक्ता चयनदेखि सहभागी समेत युवा हुनेगरी हामीले यो दिवस मनाएका छौं’ प्रचार प्रमुख गौतम भन्छन्, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्ने सन्देश युवाहरुलाई दिएका छौं ।’

म आग्रह गर्न चाहन्छु, अलमलका साथ होइन, भ्रममा होइन । स्पष्ट दृष्टिकोणका साथ आजका युवाले अगाडि बढ्न जरुरी छ ।-केपी शर्मा ओली,प्रधानमन्त्री

 

यद्यपि, प्रमुख वक्ता भने प्रधानमन्त्री ओली नै थिए । तर अरु बेला जस्तो लामो भाषण नगरी प्रधानमन्त्री ओली राजावादी गतिविधिको खबरदारी, लोकतान्त्रिक गणतन्त्रको औचित्य र युवा पंक्तिलाई अपिल गर्नमा केन्द्रित भए । ‘देशलाई प्रतिगमनतिर लैजान भनेर हत्या, तोडफोड, आगजानीहरु गरिदैछ । राक्षसी रुप देखाएर शासन उल्ट्याउन खोजिदैछ’ प्रधानमन्त्रीले भने, ‘युवाहरुले राजतन्त्र पक्षधर गतिविधिलाई निषेध गरेर जानुपर्छ ।’

देश विकासको बाधक राजतन्त्र भएको निष्कर्ष सहित प्रधानमन्त्री ओलीले बितेको ३० वर्षमा थुप्रै प्रगति भएको दावी गरे । मुलुकलाई समृद्धिमा लैजाने व्यवस्था गणतन्त्र नै भएको जोड दिदै प्रधानमन्त्री ओलीले स्वदेशमै भविष्य खोज्न युवाहरुसँग आग्रह पनि गरे ।

‘विदेशतर्फ पलायन होइन, विदेशको झिलीमिली तर्फ होइन । यसै देशलाई केही वर्षभित्रै झिलीमिली मात्र होइन, अझै सुन्दर बनाउन सक्दछौं । अझ राम्रो र सुन्दर बनाउन सक्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘.. म आग्रह गर्न चाहन्छु, अलमलका साथ होइन, भ्रममा होइन । स्पष्ट दृष्टिकोणका साथ आजका युवाले अगाडि बढ्न जरुरी छ ।’

एमालेले आजको कार्यक्रमलाई विशेष महत्व दिएर तयारी गरेको थियो । नयाँ वर्षका दिन तय भएको युथ सेलिब्रेसनलाई भव्य बनाउन हरेक वडाबाट एक महिलासहित चार जना युवा अनिवार्य ल्याउन निर्देशन दिइएको थियो । तयारीका गतिविधिहरुमा महासचिव शंकर पोखरेल आफै खटिएका थिए ।

महासचिव पोखरेलकै संयोजनमा केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारीहरुसँग भर्चुअल बैठक भएको थियो । जनसंगठनहरुको बैठक बसेको थियो । देशभरका जनप्रतिनिधिहरुलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको थियो ।

विशेषगरी सामाजिक सञ्जालबाट यो कार्यक्रमको प्रचारमा जोड दिइएको थियो । ‘केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी, प्रदेश र जिल्लाका नेताहरुलाई सामाजिक सञ्जालमा युथ सेलिब्रेसनको प्रचार गर्न निर्देशन नै दिइएको थियो’ एक नेता भन्छन्, ‘आजको सभामा आउनेहरुको हाजिरी नै उठाइएको छ ।’

लोकतन्त्र दिवसका अवसरमा आयोजित यो कार्यक्रमलाई यति धेरै महत्व दिइनुको पृष्ठभूमि भने राजावादी गतिविधिलाई काउण्टर गर्नु हो । गत ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजावादी गतिविधि बढेको थियो । यसलाई समेत जवाफ दिने उद्देश्यले एमालेले चैतभर वडा, जिल्ला र प्रदेश स्तरीय सभा गरेको छ ।

‘लोकतान्त्रिक गणतन्त्रमै युवाहरुको भविष्य सुनिश्चित छ भन्ने सन्देश दिन आजको कार्यक्रम सुरुवात मात्र हो’ अनेरास्ववियुका अध्यक्ष समिक बडाल भन्छन् । युवा पुस्ता देशलाई पछाडि धकेल्ने पक्षको खबरदारी गर्न सक्षम छ भन्ने सन्देश पनि यो सभाबाटै दिइएको उनी बताउँछन् ।

यद्यपि सरकारकै नेतृत्व गरिहेको दलबाट सडक प्रदर्शन गरिएकोप्रति सार्वजनिक आलोचना पनि भइरहेको छ । उनीहरुको मत छ– व्यवस्था जोगाउन र युवा आकर्षण बढाउन सेवा प्रवाहमा सुधार एवं सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ ।

 

तस्वीरहरू : चन्द्रबहादुर आले/कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?