
११ वैशाख, काठमाडौं । नेपालस्थित फ्रान्सेली दूतावास र अलायन्स फ्रोँसेसले ‘अन्नपूर्ण, हिस्ट्री अफ अ कन्क्वेस्ट’ नामक वृत्तचित्रको विशेष प्रदर्शन गरेको छ ।
अलायन्स फ्रोँससका अनुसार यो वृत्तचित्रलाई बनार्ड जर्जले निर्देशन गरेका छन् । वृत्तचित्र प्रदर्शनीपछि ‘माउन्टेन म्याटर्स : सस्टेनिङ द स्पिरिट अफ माउन्टेन्स’ विषयक बहस आयोजना गरियो ।
पत्रकार समा थापाले सहजीकरण गरेको बहसमा बेसक्याम्प ट्रेकका संस्थापक जेरोमी इडोउ, पर्वतारोही तथा पत्रकार कल्पना महर्जन, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पा र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङ सहभागी थिए ।
बहसमा सहभागीले कार्बन उत्सर्जन कम गरी नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्दै हिमताल र पर्यावरण जोगाउन सरकारले जलवायु परिवर्तनमा उल्लेख्य काम गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी प्रदूषण र हिमाली क्षेत्रमा अवैध अतिक्रमण विरुद्ध कानुन कार्यान्वयन, हिमाली पारिस्थितिक प्रणालीबारे जनचेतना जगाउने र वातावरणीय प्रभाव कम गर्न पर्वतारोहीहरूमा जिम्मेवार आरोहण अभ्यासको वकालत गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
त्यस्तै सहभागीले स्थानीय समुदायलार्य सशक्त बनाउने, पर्यावरणमैत्री पर्यटन र कृषि क्षेत्र प्रवद्र्धन गर्ने र हिमाली क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोक्नुपर्ने सुझाव दिएका थिए ।
अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम आयोजना गरिएको फ्रान्सेली दूतावासले जनाएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लासेनलले अन्नपूर्णमा पहिलो सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया 4