
११ वैशाख, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दशकअघि भूकम्पले ध्वस्त बनाएको बारपाक पुगेका छन् ।
१२ वैशाख २०७२ मा बारपाक केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प आएको थियो । भूकम्पमा परेर देशभर झन्डै ८ हजारको ज्यान गएको थियो भने बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए ।
विनाशकारी भूकम्प गएको एक दशक पूरा हुने अघिल्लो दिन माओवादी अध्यक्ष प्रचण्ड बारपाक पुगेका हुन् । बिहीबार उनले गोरखामा माओवादी पार्टीबाट निर्वाचित भएका स्थानीय तहका प्रमुख–उपप्रमुखहरूसँग सामूहिक छलफल गरे ।
प्रचण्डको सचिवालयले जनाएअनुसार जनप्रतिनिधिहरूलाई उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे । नागरिक प्रति उत्तरदायी हुन र आआफ्ना पालिकाको सेवा जनतामुखी बनाउन पनि उनले जनप्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीहरू सुनाएका थिए । सीमित साधनस्रोतका कारण भौतिक पूर्वाधारको अभाव, सेवा प्रवाहमा देखिएको कठिनाइ तथा बजेटको सीमितताजस्ता विषयहरूमा जनप्रतिनिधिले ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले उठाइएका समस्याहरूलाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4