१२ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
एनएसएलले च्याम्पियन पाउन अब एक खेल मात्र बाँकी छ र त्यो च्याम्पियन ट्रफीको होडमा अब दुई टिम बाँकी छन् । एउटा साविक विजेता ललितपुर सिटी अर्कोतर्फ पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स ।
दुवै टिमको समानता के रह्यो भने दुवैले क्वालिफायरमा यसअघिको दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेका थिए । त्यसमा पनि ललितपुर र पोखरा दुवैले दश खेलाडीमा सिमित रहेर पनि धनगढीलाई पराजित गर्दै बहादुरी देखाइसकेको छ ।
अब फाइनलमा कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ । अहिलेका लागि भने यति भन्न सकिन्छ कि दुवै टिम फाइनल पुग्नका लागि लायक थिए । त्यही भएर नै यही दुई टिम नै उपाधिको भिडन्तमा भेट भएका छन् ।
साविक विजेता समेत रहेको ललितपुर लगातार दोस्रो पटक फाइनल पुगेको हो । त्यसैले ललितपुर अपराजित रहँदै त्यो ताज रक्षा गर्ने अभियानमा हुनेछ भने पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स पनि ट्रफी उठाउने लक्ष्यमा छ । अब दुईमध्ये कुन टिमले बाजी मार्छन् त्यसका लागि भने शनिबार बेलुकासम्म प्रतिक्षा गर्नुपर्नेछ ।
पोखरा र ललितपुरबीच लिग चरणमा पनि प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ ललितपुरले पोखरालाई ३-२ ले पराजित गरेको थियो । ललितपुर त्यही लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने योजनामा हुनेछ ।
लगातार १० खेलसम्म अपराजित रहेको ललितपुरलाई हराएर पहिलो पटक च्याम्पियन बन्ने दाउमा पोखरा थण्डर्स छ ।
ललितपुर सिटी एफसी
साविक विजेता ललितपुर सिटी एफसी यस सिजन एक्लो अपराजित टिम हो । लिग चरणमा ६ खेलमै अपराजित रहेको ललितपुर शीरष स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।
पहिलो क्वालिफायर नै खेल्न पाएको ललितपुरले धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो । ललितपुर सिटीले काठमाडौं रेजर्ससँग पहिलो खेलमा २-२ को बराबरी खेल्दै उपाधि रक्षा अभियान सुरु गरेको थियो ।
लिग चरणका सुरुवाती ३ खेलमा १ जित र २ बराबरी खेलेको ललितपुरले पछिल्ला ३ खेलमा २ जित र १ बराबरी नतिजा निकालेको थियो । ललितपुरले दोस्रो खेलमा पोखरालाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । तर, तेस्रो खेलमा धनगढी एफसीसँग गोलरहित बराबरीमा रोकियो ।
चौथो खेलमा एफसी चितवनलाई २-१ ले पराजित गरेपछि ललितपुरले प्लेअफको सम्भावना बढाएको थियो भने पाँचौं खेलमा बुटवल लुम्बिनीलाई २-० ले हराएर ललितपुरले एक खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको थियो । अन्तिम खेलमा ललितपुरले झापा एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
लिगमा पहिलो भएको ललितपुरले दोस्रो भएको धनगढीसँग पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको थियो । जहाँ अधिकांश समय एक खेलाडी कम भएर खेल्दा पनि ललितपुरले धनगढीलाई २-१ ले पराजित गरेको थियो ।
उक्त खेलमा ललितपुरका मणि लामा र पापे डिएकेटले रातो कार्ड पाएको थियो । खेलपछि ललितपुर सिटीले दुवै खेलाडीको रातो कार्डको विषयमा अपिल गरेको थियो । एनएसएल अर्गनाइजिक कमिटीले अपिल कमिटीसँगको छलफलपछि मणि लामाको रातो कार्डको निर्णय फिर्ता भएको जानकारी टिमलाई दिएको छ ।
अब मणि फाइनल खेल खेल्न योग्य हुनेछन् । जसले गर्दा ललितपुरलाई केही राहत मिलेको छ ।
पोखरा थण्डर्स
पोखरा थण्डर्स पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । यस क्रममा पोखराको सुरुवात भने सोचेजस्तो थिएन । कमजोर सुरुवात गरेपछि पोखराले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।
लिग चरणमा ६ मध्ये २ खेलमा जित, २ बराबरी र २ मा हारको नतिजासहित चौथो हुँदै पोखरा प्लेअफ पुगेको थियो । काठमाडौ रेजर्ससँग समान ८ अंक भएपनि गोलअन्तरमा पोखरा अघि रहँदै भाग्यमानी बनेको थियो । पोखराको यात्रामा मिहिनेत र भाग्य दुवैले साथ दिएको देखियो ।
पोखराले यस सिजन ८ खेल खेल्दा पछिल्लो ६ खेलमा अपराजित छ । यसले पनि पोखरा फाइनल पुग्न लायकको टिम भएको देखाउँछ । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले त्यसपछि चार खेलमा अपराजित रहँदै ८ अंक जोडेर प्लेअफमा स्थान बनाएको हो ।
पहिलो खेलमा एफसी चितवनसँग २-० र दोस्रो खेलमा ललितपुर सिटीसँग ३-२ ले पराजित भएपछि पोखरा सुरुवातमै दबाबमा परेको थियो । धेरैले पोखरालाई कमजोर टिम भन्दै लिग चरणबाटै बाहिरिने सोचेका थिए ।
तर, पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई २-० ले हराएपछि पोखराले लय लियो । त्यसपछि साविक उपविजेता धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको पोखराले झापा एफसीसँग १-१ को बराबरी खेल्दा प्लेअफ यात्रा केही कठिन बनेको थियो ।
तर, अन्तिम खेलमा बुटवल लुम्बिनीलाई २-० ले पराजित गरेपछि पोखराले लगातार दोस्रो सिजन प्लेअफमा स्थान सुरक्षित गरेको हो । लिगमा चौथो भएपछि पोखराले तेस्रो भएको एफसी भितवनसँग एलिमिनेटर खेलेको थियो ।
उक्त एलिमिनेटरमा एफसी चितवनलाई सहजै ३-० ले हराएर पोखरा दोस्रो क्वालिफायरमा पुगेको थियो जहाँ पोखराले एक खेलाडी कम भएर पनि साविक उपविजेता धनगढी एफसीलाई १-० ले हराएर फाइनल पुगेको हो ।
गत सिजन ललितपुरले लिगमा चौथो भएर पनि फाइनल पुग्दै उपाधि नै जितेको थियो । अहिले पोखराको यात्रा पनि त्यस्थै छ ।
पोखराले लिग चरणमा चौथो स्थानमा रहेर सकाएको थियो । जसले गर्दा पोखराले प्लेअफमा ललितपुर भन्दा एक खेल बढी खेल्नुपर्यो ।
प्रतिक्रिया 4