+
+
Shares

ललितपुरका मेयर भन्छन्– खरिद ऐनअनुसार काम गर्दा मन्दिर दुब्लाउँछ, ठेकदार मोटाउँछ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १०:५८

१२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भूकम्पले क्षतिग्रस्त मन्दिर र सम्पदाको पुनर्निर्माण विनाठेक्का गुणस्तरीय काम गरेको बताएका छन् । सार्वजनिक खरिद ऐन २०६३ अनुसार काम गर्दा ‘मन्दिर दुब्लाउने र ठेकेदार मोटाउने’ भएकाले विनाठेक्का काम गरेको उनको भनाइ छ ।

२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले नरसिंह मन्दिरबाहेक अरुको पुनर्निर्माणको काम लगभग टुंगिएको जानकारी दिए ।

२०७२ सालको भूकम्पले बिग्रिएको भीमसेन मन्दिर, देगुतलेजु, बालकुमारी मन्दिर लगायत सबै मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको बताए । ‘हामीले जति पनि मन्दिर बनाएका छौं, यी मन्दिरहरु बनाउँदाखेरि हामीले ठेक्कापट्टा चाहिँ गराएनौं है,’ उनले भने, ‘सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत मन्दिर बनायौं भने मन्दिर दुब्लाउँछ, ठेकदार चाहिँ मोटाउँछ ।’

भीमसेन मन्दिर, बालकुमारी मन्दिर, देगु तलेजु, बुंगमतीको मच्छिन्द्रनाथ, खोकनाको रुद्रायणी लगायत ठूला मन्दिर टेन्डर नगरी बनाएको उनले जानकारी दिए । काम पनि गुणस्तरीय र राम्रो भएको उनले बताए ।

पूर्वाधारका काम सकियो अब ब्युटिफिकेसन

अब बनाउन बाँकी नरसिंह मन्दिर पनि चाँडै बन्ने उनले बताए । ‘यो नरसिंह मन्दिर बनाउनको निमित्त १५३ किसिमको इँटा चाहिने रहेछ, त्यो पनि अहिले हामीले बनाइसक्यौं । अब निकट भविष्यमै यो मन्दिर बन्छ,’ उनले भने, ‘त्यसपछि हाम्रो यहाँ सबै कामकुरो टुंगियो ।’

पुनर्निर्माणको काममा जापान सहयोग नियोग जाइका, टोल सुधार समिति लगायतले सहयोग गरेकोमा आभार व्यक्त गरे ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र पूर्वाधारका काम भइसकेकाले अब ब्युटिफिकेसनको काममा जोड दिनुपर्ने उनले बताए ।

अब ललितपुरलाई सिंगार्ने प्रोजेक्ट आवश्यक रहेको बताउँदै मेयर महर्जनले भने, ‘यो क्षेत्र हेर्दाखेरि मनमोहक होस्, रमाइलो होस्, राम्रो होस् । यहाँ श्वास फेर्नका निमित्त स्वच्छ हावा प्राप्त होस् र नगरबासीको स्ट्याण्डर्ड हाई होस्, निरोगी भएर बस्न सकुन् । जता हेरे पनि फूलैफूल होस्, रुखैरुख होस्, हरियाली होस् ।’

मेयर महर्जनले ललितपुर महानगरपालिका नेपालका सबै पालिकाहरुभन्दा उत्कृष्ट भएको दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?