
१२ वैशाख, काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् ।
आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो । जसका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आज ओपीडी सेवा प्रभावित भएको छ ।
वीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘हिजो अनलाइनमार्फत टिकट काटेका केही बिरामीलाई ओपीडीमा हेरियो । तर अन्य बिरामीलाई हेर्न सकिएन,’ डा. शर्माले अनलाइनखबरसँग भने, ‘चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको छ ।’
शर्माका अनुसार भर्ना भएका र आकस्मिक रुपमा आएका बिरामीलाई जसोजतो सेवा दिइएको छ । ‘आइतबार पनि यो समस्याको हल नस्किए स्वास्थ्य सेवा पूर्णरुपमा प्रभावित हुनसक्ने देखिन्छ,’ शर्माले भने ।
वीर अस्पतालमा दैनिक दुई हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा पनि पूर्णरुपमा अबरुद्ध भएको छ । अस्पतालका निर्देशक डा. बद्रि रिजालले भन्ने ‘अप्रेशन कक्षमा पनि आकस्मिक बाहेकका अन्य सेवा दिन सकिएको छैन ।’
उनले थपे, ‘सबै चिकित्सक काम नगर्ने भन्दै पत्र दिएर आन्दोलनमा जानुभएको छ ।’
यस्तै कान्ति बाल अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको छ । अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार आवासीय चिकित्सकले सेवा बहिस्कार गरेका छन् । ‘चिकित्सकले सेवा बहिष्कार गर्दा सेवा प्रभावित भएको छ । आइतबार पनि यही अवस्था रहे स्वास्थ्य सेवा प्रभावित हुने देखिन्छ,’ डा. रायले अनलाइनखबरसँग भने ।
पाटन अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेपनि अन्य चिकित्सकको सहायताले सेवा सञ्चालन गरिएको निर्देशक डा. रवि शाक्यले बताए ।
‘आवासीय चिकित्सकले सेवा बहिष्कार गरेर आन्दोलनमा जानुभएको छ । विभागका अन्य चिकित्सकले सेवालाई निरन्तरता दिनुभएको छ,’ डा. शाक्यले भने ।
चिकित्सकले सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्र परिरहेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज ओपीडी सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनमा सरकारी अस्पतालका चिकित्सकको साथ
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले शुक्रबारबाट सरकारी अस्पतालका सबै चिकित्सकले आन्दोलनमा साथ दिएको बताए ।
‘सबै सरकारी अस्पतालका सिनियर चिकित्सक र आवासीय चिकित्सक माइतीघर मण्डलामा भेला हुनुभएको छ,’ डा. घिमिरेले भने, ‘देशभरका सबै प्रतिष्ठान र मेडिकल कलेजका चिकित्सकले साथ दिनुभएको छ ।’
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
विकसित देशहरूमा पीजी विद्यार्थीले शुल्क तिर्नु नपर्ने र नेपालको सरकारी अस्पतालमा समेत मेडिकल अफिसर बराबरको सुविधा पाउने व्यवस्था छ । तर पीजी रेजिडेन्सी कार्यक्रमका लागि अस्पतालमा कुनै अतिरिक्त पूर्वाधार वा नयाँ फ्याकल्टीको आवश्यकता नपर्ने भए पनि निजी कलेजहरूले २३ लाख रूपैयाँसम्म शुल्क लिने गरेका छन् । दिनरात बिरामीको उपचारमा खटिने आवासीय चिकित्सकको तलब सुविधा भने निकै कम छ ।
सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले ४८ हजार रुपैयाँ पाउँछन् । निजी मेडिकल कलेजहरूमा त १८÷२० हजार रूपैयाँमै काम गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि उनीहरू तीन–चार महिनासम्म तलब नपाउने समस्या छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन् ।
‘निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्दैन,’ मन्त्री पौडेलले भने, ‘निजी मेडिकल सञ्चालकले यस विषयमा थप तर्क गरिराख्न पर्दैन।’
प्रतिक्रिया 4