+
+
Shares

सिकलसेल बिरामीका लागि भारतले गर्‍यो भ्याक्सिन सहयोग

भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख  रुपैयाँ (चार लाख अमेरिकी डलर)  मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:४३

१२ वैशाख, काठमाडौं । भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन् ।

भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख  रुपैयाँ (चार लाख अमेरिकी डलर)  मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको छ ।

मन्त्रालयका अधिकारीका अनुसार अब थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण प्रक्रिया सुरु गरिने छ ।

थारू समुदायले वंशाणुगत रूपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना भएको छ ।

अब भ्याक्सिन सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमा मार्फत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

थारू समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।

भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरूका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

‘आवश्यकता परेका तथा उपचार हुने सबै ठाउँमा भ्याक्सिन उपलब्ध गराइनेछ,’ उनले भने ।

भारतीय राजदूत श्रीवास्तवले सहयोग दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए ।

भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ ।

नेपालका थारू समुदायमा यो वंशाणुगत रोगका रूपमा रहेको छ । जसको हालसम्म औषधि उपलब्ध भैसकेको छैन ।

तर, यो रोगका कारण बिरामीको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिसलगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन वितरण गर्ने तयारी सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?