१२ वैशाख, काठमाडौं । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण प्रक्रिया सुरु भएको छ । बिरामीको प्रतिरोधी क्षमता वृद्धि गर्नका लागि भारत सरकारले दिन पनि प्रतिवद्धता जनाएको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको छ ।
मन्त्रालयमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका छन् ।
मन्त्री पौडेलले सिकलसेल एनिमिया रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा छुट्टै वार्ड स्थापना गराउने निर्णय गरेका थिए । यसका साथै बिरामीका लागि निःशुल्क रोगप्रतिरोधी औषधी उपलब्ध गराउने घोषणा पनि गरेका थिए । यस योजनामा सहयोग गर्न भारत सरकारसँग मन्त्री पौडेलले आग्रह गरेका थिए। भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्री जेपी नड्डासँगसमेत यसबारे कुराकानी भएको थियो ।
भारत सरकारले सिकलसेल एनिमिया बिरामीका लागि विभिन्न प्रकारका चार लाख डलर मूल्य बराबरको खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार यो खोप सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालहरुमार्फत वितरण गरिनेछ ।
थारु समुदायको बाहुल्यता रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरुलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।
भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिकापुर अस्पतालका साथै प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत खोप उपलब्ध गराउने गरी तयारी गरिएको बुढाथोकीले जानकारी दिए ।
खोप प्राप्त हुँदा सिकलसेल तथा थालिसिमियाको उपचारका लागि ठूलो राहत पुग्ने आशा रहेको स्वास्थ्य मन्त्री पौडेलले बताए ।
‘थारु जनसंख्याको प्रमुख स्वास्थ्य समस्या सिकलसेल तथा थालिसिमियाको उपचारका लागि यथासम्भव प्रयास भइरहेको थियो,’ मन्त्री पौडेलले भने, ‘बेग्लै वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरेका थियौं । अब प्राप्त औषधीले उपचारमा ठूलो राहत पुग्ने आशा छ।’
मन्त्री पौडेलले थारु समुदायको समस्या समाधानका लागि घोषणा गरिएको छोटो अवधिमै उपचार सहायता र औषधी प्रदानमा मन्त्रालय सफल भएको दावी गरे ।
भारतीय राजदूत श्रीवास्तवले सहयोग दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए । भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ ।
नेपालका थारु समुदायमा यो वंशाणुगत रोगका रुपमा रहेको छ । जसको हालसम्म औषधी उपलब्ध भैसकेको छैन । तर, यो रोगका कारण बिरामीहरुको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिसलगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन वितरण गर्ने तयारी सरकारले गरेको हो ।
प्रतिक्रिया 4