+
+
Shares

एउटा पत्र प्रचण्डलाई

मलाई डर लाग्छ, कतै यी प्रश्नहरू तपाईंसामु आएकै पो छैनन् कि, वा तपाईंले प्रश्न उठ्ने अवस्था सिर्जना नै गर्नुभएको पो छैन कि ?

सन्देश पौड्याल सन्देश पौड्याल
२०८२ वैशाख १३ गते २२:२४

आदरणीय अध्यक्षज्यू,

निरन्तर दौडिरहनुभएको छ  । आशा छ- सञ्चै हुनुहोला ।

आम-जनताको भावना के-कस्तो रहेछ, देशको वर्तमान र भविष्यको बारेमा ? पार्टीको विचारको बारेमा ? संगठनको बारेमा ? सरकारमा रहँदा वा नरहँदा पार्टीको काम कारबाहीको विषयमा ? तपाईंको व्यक्तिगत अनि राजनीतिक जीवनको बारेमा ?

सामाजिक सञ्जालमा त तपाईंलाई स्वागत, माया र स्नेह गरेको मात्र श्रब्यदृश्य हालिएको छ, त्यो स्वभाभिक नै पनि हो । तर अवस्था त्यसो मात्र होइन भन्ने तपाईंलाई भन्दा बढी कसलाई थाह होला ? यो दौडको अनुभवको आधारमा तपाईंबाट केही संश्लेषण आउला भन्ने विश्वास र पर्खाइमा छु ।

तपाईं त स्थानीय, केन्द्रीय, सम्माननीय नेता-कार्यकर्ताको वरिपरि रहेर दौडिनुभएको छ । सायद उहाँहरूले जसलाई भेटाउनुहुन्छ, उनैलाई मात्र भेट्नुहुन्छ होला । यत्रो यात्राको दौरान तपाईंले कति ठाउँमा गाली खानुभयो ? कति ठाउँमा, त्यत्रो आशा देखाएर फेरि उस्तै भयौ, तिमीहरूले फसायौ भनेको सुन्नुभयो ? कम्युनिष्ट पार्टीलाई किन एक राख्न नसकेको भनेर कति ठाउँमा गाली खानुभयो ? पार्टी भित्रकै संगठन र जनवर्गीय संगठनहरू ध्वस्तै भयो भन्न कति नेता-कार्यकर्ताले आँट गरे ? कति जनाले हाम्रो सत्तामोहलाई जोडेर तपाईंलाई सरापे ?

मलाई डर लाग्छ, कतै यी प्रश्नहरू तपाईंसामु आएकै पो छैनन् कि वा तपाईंले प्रश्न उठ्ने अवस्था सिर्जना नै गर्नुभएको छैन कि ?

कतै पढेको थिएँ, साँचो कुरासँग डराउनेहरूको आँखाबाट मात्र हेर्ने नेता आफ्नालाई जतिसुकै माया गर्ने भए पनि अन्धो नै हुन्छ । आँखामा बाक्लो चस्मा र मुखमा बलियो फिल्टर लगाएका प्रयोजनसहितका व्यक्तिहरू मात्र भेट भएको वा भेट गराइएको त छैन नि अध्यक्षज्यू ?

त्यसो नहुँदो हो त, पार्टी कार्यकर्ताको रूपमा मैले दिनानुदिन भेट्ने त्यस्ता प्रश्न तपाईंले पनि भेट्नुपर्ने हो । ती प्रश्नले तपाईंलाई पनि पोल्नुपर्ने हो र प्रश्नको अनवरत रापले सुध्रिन प्रेरित गर्नुपर्ने हो, वैचारिक रूपमा, सांगठनिक रूपमा, राजनीतिक रूपमा, कार्यन्वयनको रूपमा । त्यस्तो भएको छ त, अध्यक्षज्यू ?

पार्टी पंक्तिमा कुरा गर्छु । युवा, अल्प-युवा सबैको यही कुरा छ । पार्टी सुध्रिन सकेन, संगठन बलियो हुन सकेन, संगठनमा क्षमता र तत्परताको कदर हुन सकेन, प्रोत्साहन र कारबाहीको व्यवस्थित मापन हुन सकेन, नेतृत्व विकास हुन सकेन आदि इत्यादि ।

दन्त्यकथामा जस्तै भेष बदलेर आउन मिल्ने भए, तपाईं वा तपाईंजस्तै बन्न खोज्ने हिङ बाँधेका टालोबाहेक जो-कोहीको भेषमा आए पनि सायद मैले भन्न खोजेको विषयमा तपाईं अलिक बढी प्रष्ट हुनुहुन्थ्यो होला ।

पार्टीभित्र असन्तुष्टि छ भने नेतृत्वलाई पर्याप्त दबाब किन नआएको त ? नेतृत्व कसैले कसैलाई दिने होइन, आफ्नै क्षमताले लिने हो । तपाईंले पनि त्यही गरेको हो । तर एउटा विषय, जनयुद्धको शान्तिपूर्ण अवतरणपश्चात्‌को उचाइबाट आजको जम्मा ३२ सिट, गिर्दो जनविश्वास र अस्तव्यस्त संगठनबीच पनि तपाईंको नेतृत्वमाथि पर्याप्त प्रश्न सहितको विकल्प नआएको होला । सिकाउनेले पनि सिकाउन नखोजेको र सिक्नेले पनि पर्याप्त सिक्न नसकेको, दुवै कारण हुन सक्छन् ।

अमेरिकी लेखक र व्यवसायी ज्याक लिचको भनाइ यहाँनेर सान्दर्भिक हुन्छ, ‘तपाईं नेतृत्वमा पुग्नुअघि तपाईंको सफलता तपाईंको विकासमा हेरिन्छ, तपाईं नेतृत्वमा पुगेपछि तपाईंको सफलता अरुलाई विकास गर्नसक्नुमा दाँन्जिछ ।’

अध्यक्षज्यू,

मैले गुनासो पोख्न खोजेको पक्कै होइन, तपाईंसँग मेरो व्यक्तिगत अपेक्षा पनि केही छैन । न तपाईंले नेतृत्व छोडिदिनुहोस भनेर बिन्ती नै बिसाउन खोजेको हो । गुनासो बिसाएर, बिन्ती बिसाएर कसैको निगाहमा अघि बढ्ने सोच राख्ने/रखाउने व्यवस्था विरुद्ध लडेर नै हामी यहाँसम्म आएका हौँ । म त तपाइँलाई पार्टीको भुइँको कुरा राख्न आएको हो, न आग्रह न पूर्वाग्रह !

अहिलेको राजनीतिक व्यवस्थाको प्रणेता पार्टी भएर पनि हाम्रो जनमत किन कम हुँदैछ ? जसको लागि पार्टी लडेर अधिकार स्थापित गर्यो आज त्यही जनमतलाई पनि हामीले बचाउन सकेका छैनौँ । आज महिला, दलित, सुकुम्बासी, मजदूर, किसान आदि पहिले सीमान्तकृत समुदायबीच पनि पार्टीको आकर्षण किन कम भएको छ ? समस्या हाम्रो प्रचार प्रसारको मात्र हो कि हाम्रो वैचारिकी र कार्यान्वयन को ? वा अधिकारको राजनीतिक संघर्षको चरण सक्किएर आर्थिक संघर्षको चरण आएको र त्यसमा हामी पछाडि परेको हो ?

हामी किन यति अस्थिर भएको हो ? ‘राप्रपासँग मिलेर सत्तामा जान सकिन्छ भने माओवादी, त्यो पनि गर्न तयार हुन्छ’ पेच नै सही, आजकल यस्ता कुराले व्यापकता पाएको छ ।

कांग्रेससँग मिल्दा शान्ति-प्रक्रियाका हस्तक्षारकर्ता र एमालेसँग मिल्नुपर्दा वाम एकता, कांग्रेससँग मिल्नुपर्दा एमाले दक्षिणपन्थी अनि एमालेसँग मिल्नुपर्दा कांग्रेस बुर्जुवा-पुँजीवादी । जतिजति हामीले सत्ता समीकरण बदल्यौँ, त्यतित्यति हाम्रो शिर निहुरिँदै गएको हो । आलोचनात्मक चेत गुमाएका केही नन्दी-भ्रिंगी बाहेक प्राय: कि अप्ठेरो मौनतामा बसे कि त जस्केलाबाट कराएको जस्तो गरे । दूध उम्लिएर बरु पोखिएर गयो तर कोइला तान्न जाने सार्थक आँट कसैले देखाएन । सबै चुप लागे, हामी गठबन्धन बदलिरह्यौँ । के यही मौनतालाई नेतृत्वले कार्यकर्ताको समर्थन मानेको हो ?

वैचारिकीमा पनि हामी अलिक कम प्रष्ट भएको हो ? के हामी राजनीतिक संक्रमणबाट आर्थिक उन्नतितर्फ अघि बढिसकेको हो कि अझै सामाजिक-राजनीतिक संक्रमणमै छौँ ? संविधानमा हामीले समाजवाद उन्मुख अर्थव्यवस्था भनेका छौँ तर त्यसको धरातलीय प्रयोग कस्तो हुन्छ भन्ने विषयमा हामी किन मौन छौँ ?

जीवनभर राजनीति गरेको हुँ भन्ने अनि पार्टीमा जीवन्त रहन नेताहरूको पछाडि-पछाडि कुद्नुपर्ने, आएका सबै पोस्ट सेयर गर्नुपर्ने, जन्मदिनमा चार ठाउँमा बधाई भन्नुपर्ने अवस्था नआओस् ।

राष्ट्रिय पुँजी निर्माण र सम्वर्धनमा हाम्रो नीति के हो ? वैदेशिक सहयोग वा लगानीमा हाम्रो नीति के हो ? पुँजीको प्रयोग र वितरणका लागि हाम्रो नीति के हो ? सरकारी आम्दानीले चालु खर्च नधान्ने अवस्था हुँदा अर्थतन्त्र उकास्न र समावेशी बनाउन चाहिने स्रोत-साधन उठाउन हाम्रो नेतृत्वको धारणा के हो ?

विशेषत: आर्थिक रूपमा हामी एउटा घनचक्करमा परेको जस्तो लाग्छ । पुँजी उपयोगको कुरा गरौँ, निजी क्षेत्र मैत्री कुरा गरौँ, पुँजीवादी भइने, त्यस्तो नगरौँ, अवस्था कसरी सुध्रिन्छ भन्ने विषयमा प्रष्टता नै छैन । त्यसैले होला सायद वैदेशिक लगानी, सहयोग, बजार-मैत्री नियम, नाफा आदिका विषयमा हामी अनिर्णयको बन्दी हुन पुगेका ।

हाम्रो अर्थतन्त्रको लक्ष्य, त्यसको मार्गचित्र, स्रोत-साधनको आवश्यकता, पूर्ति, उपयोग र वितरणका विषयमा हाम्रो सोच सतहीभन्दा अगाडि बढ्न सकेको छैन भन्ने पनि प्रकाश पार्न चाहें । पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने हो भने आर्थिक खाका र दृष्टिकोणमा धेरै काम गर्नुपर्ने छ ।

अध्यक्षज्यू,

देशको कुरा केही समय बिर्सिउँ, सबै हाम्रो हातमा नहोला । पार्टी कसरी चलेको छ, फर्किएर आफैँले हेर्न भ्याउनुभएको छ ? जनमत र आम मानिसको विश्वास घटिरहेको छ तर पनि सुधारका आँकुरा नदेख्दा चित्त चाहिँ दुख्ने नै रहेछ ।

अहिले आम कार्यकर्ता, दोस्रो र तेस्रो तहका नेतासँग कुरा गर्दा न जोश, न जाँगर कायम रहेको पाउँछु । शब्द नचपाई भन्ने हो भने आफ्नो गच्छेअनुसारको च्यानल प्रयोग गरिरहेको र अमुक केही चिज कुरिरहेको मात्र देख्छु । वैचारिक कमजोरीका कारण वा वैचारिकीलाई प्राथमिकतामा नराखेकाले होला, कुनै विषयमा स्पष्ट धारणा नबनेको पाउँछु । जनताका प्रश्नदेखि तर्किएको पाउँछु । पार्टीको नीतिमा न पूर्ण रूपमा कन्भिन्स गर्न सकेको पाउँछु न त अलोचालात्मक चेत सहितको ब्याख्या विश्लेषण गर्न नै । न वर्तमानको कारण भेट्टाउंछु न भविष्यको खाका । त्यत्रो जनयुद्ध हाँकेर फलामे दृढता बोकेको पार्टीमा यस्तो हुनु नपर्ने हो, होइन र ? कमजोरी कहाँ छ, मैले यो तपाईंलाई भन्न थालें भने अवश्य पनि इन्द्रको अगाडि स्वर्गको बयान हुन्छ, त्यसैले त्यता गइनँ ।

अब के गर्ने त ? यो सार्वजनिक चिठी केही सुझावको लागि पनि लेखेको हुँ । तपाईंलाई भेट्न धेरै कोसिस गर्नुपर्ने भएकाले त्यति मिहिनेत बरु यहीँ गरौँ कि जस्तो लाग्यो ।

  • अलि पुरातन सुनिएला, तर मेरो विश्लेषणमा हाम्रो निरन्तर ह्रासको प्रमुख कारण वैचारिकीमा देखिएको उल्झन नै हो । तिकडम, ‘भाइरल’, आशिर्वादले राजनीतिमा प्रमुख स्थान पाएको अहिलेको अवस्थामा यो सुझाव ‘एन्टी-क्लाइमेटिक’ सुनिएला तर विगतका दिनहरू फर्किएर हेर्ने हो भने यसमा खास्सै प्रश्न आउने देखिँदैन । विशेषगरी आर्थिक नीति, शिक्षा नीति, उद्यमशिलता नीति, कृषि र भूमि-सुधार नीति, औद्योगिकरण नीति, स्वास्थ्य नीति, सरकारी स्वामित्वका संस्था सम्बन्धी नीति, वैदेशिक ऋण र अनुदान सम्बन्धी ठोस नीति बनाउनु बाञ्छनीय देखिन्छ ।
  • स्थानीय सरकारमा हाम्रो प्रदर्शन तुलनात्मक रूपमा धेरै राम्रो छ । हामीले जितेको स्थानीय तहमध्ये कुनै एकलाई हाम्रो नीतिको प्रयोगस्थान बनाउन सके, हामीले बोकेको सिद्धान्त र नीति कार्यन्वयनमा जाँदा कस्तो देखिन्छ भन्न सकिन्थ्यो ।
  • आउने चुनावको तयारीमा लाग्न समय घर्किसकेको छ । पार्टीको चुनाव चिह्नबाट लड्न इच्छुकहरूलाई पार्टीले संयन्त्र बनाएर दिक्षित गरोस्, राजनीतिको बारेमा बुझाओस्, संगठनको बारेमा बुझाओस् । अन्तरिक प्रतिस्पर्धाले पार्टीलाई समग्रमा धेरै फाइदा पुर्याउनेछ ।
  • पार्टीका जनवर्गीय संगठनहरूको ‘ओभरहलिङ’ गरौँ । निष्क्रिय रहेका जवसहरूलाई मौका दिउँ, होइन भने तिनमा नयाँ ज्यान भरौं । जवस हुँदै पार्टीको नीति अख्तियार गर्नेगरी जनवादी केन्द्रीयताको अभ्यास गरौँ ।
  • पार्टीमा लाग्न खोज्ने युवाहरूका लागि अगाडि बढ्ने मार्ग पारदर्शी बनाउँ । के गर्दा प्रोत्साहन हुन्छ र के गर्दा कारबाही, स्पष्ट तोकिदिउँ । फेरि पनि जीवनभर राजनीति गरेको हुँ भन्ने अनि पार्टीमा जीवन्त रहन नेताहरूको पछाडि-पछाडि कुद्नुपर्ने, आएका सबै पोस्ट सेयर गर्नुपर्ने, जन्मदिनमा चार ठाउँमा बधाई भन्नुपर्ने अवस्था नआओस् ।
  • पार्टी नेतृत्वले आगामी दिनको मुख्य कार्यहरू ठोस रूपमा ल्याओस् । कति सदस्यता थप्ने हो, कस्तो अजेन्डा उठाउने हो, कस्तो नेतृत्व विकास गर्ने हो, कस्तो क्रियाकलाप गर्ने हो, यस्तो विषय प्रष्ट आओस् ।

अध्यक्षज्यू,

खोक्रो आलोचना मात्र गरेको होइन । पार्टी र तपाईंको नेतृत्वमा भएको त्याग र बलिदानको उचित कदर नभएको देख्दा, इतिहासमा पढिनुपर्ने पात्रहरू फेरि सिंह बनेर गर्जिन खोज्दा, देशले जोकरहरूलाई नेतृत्व मान्नुपर्ने कारुणिक अवस्था देख्दा, परिवर्तनको अपनत्व नभएको देख्दा दुखेको मनका केही भाव पोखेको मात्र हो । कुनै दिन तपाईंको समय मिलेछ भने अझ विस्तृतमा भनौँला ।

लेखक
सन्देश पौड्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?