
१२ वैशाख, काठमाडौं । यो साता सेयर बजार २.३५ प्रतिशत अर्थात् ६४ अंक घटेको छ । गत साता २७२२ अंकमा रहेको बजार यो साता २६५८ अंकमा झरेको हो ।
पाँच दिन कारोबार भएको बजार ४ दिन घट्यो भने अन्तिम एक दिन झिनो अंक बढ्यो । पहिलो दिन आइतबार १६.६८, सोमबार ७.७५, मंगलबार ९.९६ र बुधबार ३२.३८ अंक घट्यो ।
बिहीबार जम्मा २.०८ अंक बढ्यो । समग्रमा यो साता बजार ओरालो लागेको छ । गत साता १.९४ प्रतिशतले नेप्से बढेको थियो । वृद्धिदरभन्दा गिरावट दर ठूलो देखिएको छ ।
बजार घटे पनि कारोबार रकम भने उल्लेख्य नै छ । यसले गर्दा ठूला र संस्थागत लगानीकर्ताले सेयर ‘एक्युमुलेसन’ गरिरहेको अनुमान छ ।
आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ७७ करोड तथा मंगलबार ८ अर्ब ३२ करोड, बुधबार ७ अर्ब ५७ करोड र बिहीबार ७ अर्ब ८७ करोडको कारोबार भयो ।
उत्पादनबाहेक सबै सेक्टर घटे
यो साता विकास बैंक र फाइनान्स ४ प्रतिशतभन्दा धेरै घटे । गत साता विकास बैंक ४.२ प्रतिशत बढेको थियो भने फाइनान्स ०.७४ प्रतिशत मात्रै बढेको थियो । गत साता लगानी सेक्टर सबैभन्दा धेरै ७.३३ प्रतिशत बढेको थियो ।
यो साता भने उत्पादन समूह मात्रै १.५ प्रतिशत बढ्यो । अरु सबै घटे । गत साता उत्पादन समूह ०.२६ प्रतिशत मात्रै बढेको थियो । उत्पादन समूहमा जम्मा ९ कम्पनी सूचीकृत छन् ।
यो समूहमा रहेका दुई कम्पनी यो साता मूल्य धेरै बढेका १० कम्पनीभित्र पर्न सफल भए । बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्ट यो साता मूल्य धेरै बढेका १० कम्पनीमा छन् । मुख्यतः यीनै दुई कम्पनीको मूल्यवृद्धिले समग्र सेक्टरलाई यो साता धनात्मक वृद्धि कायम राख्यो ।
के कारण घट्यो बजार ?
यतिबेला बजार घट्नुका पछाडि मुख्यतः तीन कारण देखिएका छन् । पहिलो कारण हो ः बैंकहरुको वित्तीय स्थिति झनै कमजोर देखिनु । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट समग्रमा कमजोर देखियो ।
नाफा सामान्य बढेको छ, तर त्यो नाफा खुद ब्याज आम्दानी बढेर नभई राष्ट्र बैंकले दिएको सहुलियतले लोन लस प्रोभिजन घट्दा देखिएको हो । असल कर्जाको प्रोभिजन १.१ बाट १ प्रतिशतमा झारियो भने निर्माण व्यवसायीलाई कर्जा पुनर्संरचनाको सुविधा दिइयो ।
यहीं कारण समग्रमा नाफा बढेको हो । तर सँगै निष्क्रिय कर्जा बढेको छ । खुद ब्याज आम्दानी घटेको छ । लगानीकर्तालाई दिन सक्ने प्रतिफल घटेको छ । आइतबार बैंकहरुले कमजोर वित्तीय विवरण निकालेपछि नै बजार घट्न थालेको हो ।
त्यस्तै दोस्रो कारण हो– विभिन्न पक्षको आन्दोलन र सरकारको गैरजिम्मेवारपन । यतिबेला लघुवित्त पीडित, चिकित्सक, शिक्षक सडक आन्दोलनमा छन् ।
आन्दोलनरत पक्षका माग सुनुवाई गरेर समाधान निकाल्ने विषयमा सरकार गैरजिम्मेवार देखिएको छ । यसले गर्दा लगानीकर्ताको मनोभाव कमजोर देखिएको छ । सत्ता पक्षभित्रै पनि असन्तुष्टि बढेको छ । जसले राजनीतिक अन्योलता बढाएको छ ।
बजार घट्नुका पछाडिको तेस्रो कारण गिजोलिएको गभर्नर नियुक्ति प्रक्रिया हो । सरकारले गभर्नर सिफारिसका लागि गठन गरेको समितिका एक सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि यसको प्रक्रिया लम्बिएको छ । सरकार गभर्नर नियुक्तिमा पनि गम्भीर नभएपछि लगानीकर्ताको मनोभावना कमजोर बनेको छ ।
आईपीओ/एफपीओ खुलेका छन् ?
यतिबेला वैदेशिक रोजगारमा रहेकालाई दुई कम्पनीको आईपीओ खुलिरहेको छ ।
वैदेशिक रोजगारमा रहेकालाई सान्भी इनर्जी र ट्रेड टावरकोको आईपीओ खुलेको छ । अंकित मूल्य १ सयका दरले उनीहरूले आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेकालाई यी दुई कम्पनीको आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । यीबाहेक धितोपत्र बोर्डबाट हाललाई अरु कम्पनीले आईपीओ स्वीकृति पाएका छैनन् ।
यसअघि सर्वसाधारणलाई खुलेको पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आईपीओ नपर्नेको रकम फुकुवा भएको छ ।
कस्तो रहला आगामी साता ?
यो साता सुरुका चार दिन बजार घटेर अन्तिम दिन बढेकाले तत्काललाई गिरावट सकिएको एकथरी अनुमान छ । तर समग्रमा बजारको वृद्धिभन्दा गिरावट दर ठूलो रहेकाले घट्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
अब बीमा, हाइड्रोपावर, उत्पादन, होटल लगायत सेक्टरका कम्पनीले धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । ती वित्तीय विवरणले पनि बजारको दिशा केही हदसम्म तय गर्नेछ ।
अर्कोतिर राजनीतिक घटनाक्रमले बजारलाई प्रभाव पार्न सक्नेछ । विभिन्न पक्षको आन्दोलन, सरकारको कामकारबाहीलाई लिएर सत्तारुढ दलबीचको विवादले पनि बजारलाई प्रभाव पार्न सक्नेछ । तीबाहेक अन्य आर्थिक सूचकहरु सकारात्मक छन् ।
प्रतिक्रिया 4