+
+
Shares

प्रचण्डलाई बारपाककी रोशनी आमाको चिनो : भेडाको उनको हाफ कोट

सँगै नारायणकाजी श्रेष्ठ पनि आउँछन् भन्ने रोशनी आमालाई थाहा नै भएन । कोट दिन जाँदा प्रचण्डसँगै नारायणकाजीलाई पनि देखेपछि मनमा केही खिन्नता भयो ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ वैशाख १२ गते २०:३८

१२ वैशाख, बारपाक (गोरखा) । दशौं भूकम्प स्मृति दिवस मनाउन प्रचण्ड आउँदैछन् भन्ने कुरा बारपाककी रोशनी घलेले बुधबार थाहा पाइन्, वडाध्यक्षमार्फत ।

उनले प्रचण्डलाई मायाको चिनोस्वरूप भेडाको उनबाट बनेको हाफ कोट दिने इच्छा गरिन् । र, शुक्रबार बिहानै प्रचण्ड बसेको होटलमा पुगेर प्रचण्डलाई त्यो कोट लगाइदिइन् । स्थानीय भाषामा उक्त कोटलाई फुतुङ भनिन्छ ।

उक्त कोट (फुतुङ) उनी आफैंले बनाएकी हुन् । ७७ वर्षकी रोशनी आमालाई कोट सिलाउन तीन दिन लाग्यो । ‘यो सिलाउन मलाई तीन दिन लाग्यो,’ उनले भनिन्, ‘म मरेर गए पनि आमाको चिनो भनेर सम्झना रहिरहोस् भनेर उहाँलाई यो दिएको हुँ ।’

कोट लगाइदिएपछि प्रचण्डले आफूलाई धन्यवाद भनेको उनले सुनाइन् ।

सँगै नारायणकाजी श्रेष्ठ पनि आउँछन् भन्ने रोशनी आमालाई थाहा नै भएन । कोट दिन जाँदा प्रचण्डसँगै नारायणकाजीलाई पनि देखेपछि मनमा केही खिन्नता भयो ।

‘ऊ आउँछ भन्ने थाहा थिएन । तत्काल सिलाउन नभ्याइने भएर दिन सकिनँ । प्रचण्डलाई मात्र दिएको भनेर उसलाई चित्त दुख्यो होला,’ उनले भनिन् ।

नारायणकाजीलाई राडी, अमेरिकी राजदूतबाट सम्मान

तर, अघिल्लो वर्ष भूकम्प स्मृति दिवसकै कार्यक्रममा आएका बेला नारायणकाजीलाई राडी दिएको रोशनीले सुनाइन् । प्रचण्डलाई मायाको चिनोस्वरूप दिएको कोटको बजार मूल्य करिब २५ हजार पर्ने उनले बताइन् ।

भेडाको उनको लुगा बनाउन निकै मिहिनेत गर्नुपर्ने अनुभव उनले सुनाइन् । बख्खु, राडी बनाउन पनि उनी उत्तिकै सिपालु छिन् ।

गाउँमा उनलाई सबैले रोशनी आमा भनेर चिन्छन् । पञ्चायतकालदेखि नै उनी समाजसेवामा सक्रिय छिन् । बारपाकमा पहिलोपटक होमस्टे खोल्ने महिला समूहको नेतृत्व त्यो बेला उनले नै गरेकी थिइन् ।

२०५० सालमा अमेरिकी राजदूतबाट सम्मान समेत पाएको उनले सुनाइन् । राजनीतिक घटनाक्रम र परिस्थितिका कारण उनले बाल्यकालमा कखरा सिक्न पाइनन् । सानैदेखि घाँस दाउँरा र तान लगाउने काममा लागिन् । सानै उमेरदेखि बख्खु, राडी बुन्ने गरेको उनले बताइन् ।

‘त्यो बेला ओड्ने-ओछ्याउने केही हुन्थेन, यही राडी हो, बख्खु पनि धेरै प्रयोग हुन्थ्यो तर आजभोलि हराउँदै गयो,’ उनले भनिन् ।

रोशनी आमाका दुई छोरा छन् । ठूलो छोरा काठमाडौं बस्छन् । उनी डाक्टर छन् । कान्छो छोरा भने आमासँगै घरमा बस्छन् । अहिले महिला समूहबाट सञ्चालित कुटानी-पिसानी मिलमा गएर रोशनी आमा दिन बिताउने गर्छिन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?