+
+
Shares

विकास र समृद्धि अघि बढेपछि एमालेमाथि घेराबन्दी सुरु भयो : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिमा फड्को मार्न थालेपछि एमालेमाथि नै घेराबन्दी सुरु भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १४:५२

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले विकास र समृद्धिको यात्रा तीव्रतापूर्वक अघि बढाएको बताएका छन् । तर, मुलुक विकास र समृद्धिको यात्रामा अघि बढिरहेका बेला अवरोध सिर्जना गर्न एमालेमाथि नै चौतर्फी घेराबन्दी सुरु भएको उनको भनाइ छ ।

ललितपुरको खुमलटारमा शुक्रबार भएको प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एमाले माथिको घेराबन्दी विकास र समृद्धिको यात्रालाई रोक लगाउने र मुलुकलाई पुनः अस्थिर र अँध्यारो युगमा प्रवेश गराउने उद्देश्यमा केन्द्रित रहेको दावी गरे ।

‘देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बेला हाम्रो पार्टीमाथि घेराबन्दी सुरु भएका छन् । यो मुलुकलाई असफल बनाउनका लागि हो,’ पोखरेलले भने, ‘हाम्रो नेतृत्वमा अघि बढेका रणनीतिक योजनालाई अवरुद्ध गर्ने मुख्य उद्देश्य प्रमाणित भइसकेका छन् । यसप्रति सञ्चारकर्मीको खबरदारी आवश्यक छ ।’

पञ्चायतकालमा ९ हजार किलोमिटरको हाराहारीमा रहेको सडक सञ्जाल हाल एक लाख १० हजार किलोमिटर पुगेको सन्दर्भ प्रस्तुत गर्दै उनले जनजीविकामा आएको परिवर्तनलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल अब असमानताबाट समानतातर्फ अघि बढेको भन्दै उनले हाल गरिबी शून्य दशमलव ७ मा झरेको र उपभोगको असमानता घट्दै गएको बताए । ‘मुलुकमा केही भएको छैन’ भन्ने प्रवृत्तिलाई सञ्चारको माध्यमबाट चुनौती दिनुपर्ने धारणा महासचिव पोखरेलको छ ।

सूचना भन्दा भ्रममा बाँच्नेहरूको मानसिकतालाई परिवर्तन गर्न सञ्चार क्षेत्रको भूमिका झनै महत्वपूर्ण रहेको भन्दै उनले समाजमा अस्थिरता फैलाउने तत्वहरू प्रति सचेत रहन सञ्चारमाध्यमलाई आह्वान गरे । ‘जीवन निर्वाहको प्रणाली परिवर्तन भइरहेको छ । जनजीवनमा सुधार आएको यथार्थलाई सञ्चारमाध्यमहरूले प्राथमिकतामा राख्नु पर्दछ,’ महासचिव पोखरेलले भने ।

एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, फोनेजका अध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितलगायतले मन्तव्य राखेका थिए । उनीहरूले समाजमा समानता, स्थिरता र समृद्धिको पक्षमा सञ्चारमाध्यमले सार्थक हस्तक्षेप गर्नुपर्ने बताए ।

बैठकको अध्यक्षता प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?