आदरणीय डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यू,
नमस्कार।
तपाईंलाई म नजिकबाट चिन्छु—एक कुशल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वा ल्याप्रोस्कोपिक सर्जन मात्र होइन, चिकित्सकहरूको हक, अधिकार र सम्मानका लागि सधैं अग्रसर समाजसेवी व्यक्तित्वको रूपमा पनि। तपाईंले विराट मेडिकल कलेज र विराटनगर अस्पताल (विराट नर्सिङ होम) सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएको छ, जुन आफैंमा एक प्रेरणादायी कार्य हो।
तपाईंप्रति मेरो सम्मान र समर्पण शब्दले मात्र व्यक्त गर्न कठिन छ। तपाईंले आफ्ना जुनियर चिकित्सकहरूलाई जुन मायाले साथ दिनुहुन्छ, उनीहरूलाई अभिभावकझैँ सम्हाल्नुहुन्छ, त्यो मैले देखेको छु।
चिकित्सकहरूको हक, हित र अधिकार स्थापित गर्न आन्दोलन गरेको पनि देखेको छु । राज्यले मेडिकल कलेजको सञ्चालनमा गरेको ढिलाइले कति पनि विचलित नभई धैर्य र संयमित भएको देखेको छु ।
आफू भोकै रहेर पनि आफ्ना शिष्यलाई खाना खुवाउने, उनीहरूलाई साथमा लिएर हिँड्ने, अनि जब कहिल्यै अन्याय भयो-सधैं अघिल्लो पंक्तिमा उभिएर प्रतिवाद गर्ने डा. कार्की, तपाईंको यही रूप मेरा लागि सदैव प्रेरणाको स्रोत रहँदै आएको छ।
व्यक्तिगत रुपमा त अझ तपाईंको मेडिकल कलेज शिक्षण अस्पतालको प्रारम्भिक चरणमा रात्रीकालीन अनकल सेवा दिएर मैले सघाएको छु । मेरा लागि तपाईंले विराटनगरका चिकित्सकहरुलाई समेत साथमा लिएर घण्टौँ नारा लगाएको मैले बिर्सेको छैन । तपाईं चिकित्सहरूको अभिभावक हो, प्रेरणा हो र आदर्श पनि ।
तर आज, जब म रेजिडेन्ट चिकित्सकहरूको पीडा सुन्छु, उहाँहरूको माग देख्छु-मन गह्रौं हुन्छ। तपाईं निजी मेडिकल कलेज सञ्चालकहरूको अध्यक्ष हुनुहुन्छ। सायद त्यसले तपाईंलाई केही सीमित बनाएको होला। तपाईंमाथि सबैको बाध्यताहरू आए होला ।
तर म पूर्ण विश्वासका साथ भन्छु—यो तपाईंको मनको चाहना होइन। तपाईं त्यो व्यक्ति हुनुहुन्छ, जसले आफ्ना अनुयायीको पीडालाई आफ्नो पीडा ठान्न जान्नुहुन्छ। त्यसैले म तपाईंलाई आग्रह गर्छु—यी बाध्यताहरूलाई एकछिन थाति राख्नुहोस्, र फेरि एकपटक त्यो अभिभावकको भूमिकामा फर्किनुहोस् जसलाई हामीले विश्वास गरेका छौं, जसलाई हामीले आदर्श मानेका छौं।
हुनत रेजिडेन्ट डाक्टरहरुको निर्वाह भत्ता बढाउदा शिक्षण अस्पतालहरुको व्ययभार बढ्ला । त्यसलाई व्यवस्थापन गर्न कुनै श्रोत चाहिने होला । नेपाली विद्यार्थीहरू चीन, फिलिपिन्स, बंगलादेश जस्ता मुलुकमा एमबीबीएस, एमडी/एमएस अध्ययनका लागि गइरहेका हुन्छन् ।
नेपालमा विदेशी विद्यार्थीलाई भित्र्याउने वातावरणको सिर्जना गरौँ। अन्य विकल्पहरू पनि खोजौँ ।
म अन्य निजी अस्पताल सञ्चालकहरूलाई राम्रोसँग चिन्न सक्दिन। तर तपाईंलाई चिन्छु-तपाईंको साथ पाएको छु, तपाईंको माया अनुभूति गरेको छु । आज तपाईंलाई अरू धेरै कुराहरूले थिचेझैं लागेको छ। तर कृपया, राजा दशरथ नबन्नुस्-जसले अरूलाई दिएको वचन निभाउने क्रममा आफ्नै रामलाई बनवास पठाउनुपर्यो।
रेजिडेन्ट डाक्टरहरू तपाईंका रामहरू हुन्। कृपया उनीहरूलाई बनवास नदिनुहोस्। अझै पनि सम्झौता गर्न र यो समाधान गर्न सक्छ भने त्यो तपाईं नै हो । हाम्रा लागि कुनै संगठन माथि हो र नेपाल चिकित्सक संघ, कोशीको तपाईं सल्लाहकार समेत हो ।
रेजिडेन्ट पनि तपाईं कै चिकित्सक संघ पनि तपाईं कै । त्यसैले सबै मिलेर दीर्घकालीन समाधानका लागि पहल गरौँ ।
विनम्रता सहित
डा. बालकृष्ण साह
प्रतिक्रिया 4