+
+
Shares

रास्वपाले सरकारलाई भन्यो : बजेट बनाउँदा यी कुरा ध्यान दिइयोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट निर्माण गर्दा बजेट विनियोजनमा देखिँदै आएको विकृति रोक्न सुझाव दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १५:३७
फाइल फोटो ।

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति तथा प्रतिनिधिसभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै अर्यालले सरकारलाई बजेट निर्माणमा विभिन्न सुझाव दिएका हुन् ।

‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवर्द्धन, सामाजिक न्याय र समावेशीताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’

कुशासनकै कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको भन्दै उनले बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्ने बताए ।

‘आवश्यकता होइन, पहुँचको आधारमा बजेट छ्ट्याउने, शक्तिशाली नेताको जिल्ला र क्षेत्रमा बजेट खन्याउने, स्थानीय र प्रदेश सरकारले गर्न सक्ने काममा पनि संघीय सरकारले बजेट छुट्याउने तथा कार्यकर्ता पोस्ने उद्देश्यमा अनुत्पादक क्षेत्रमा कनिका छर्ने गलत अभ्यासको पूर्ण नियन्त्रण आवश्यक छ । यसतर्फ सरकार कठोर बनोस्,’ उनले भने ।

रास्वपाले बजेट निर्माण गर्दा सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाएको छ । ‘सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्नुपर्छ,’ कार्यबाहक अध्यक्ष अर्यालले भने, ‘राजश्व वृद्धि र खर्च नियन्त्रण गर्न कर प्रणालीमा सुधार र अनुत्पादनक खर्च कटौती गर्नुपर्नेछ । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?