
काठमाडौं । पहलगाम आतंकवादी हमलालाई लिएर भारतभर आक्रोश फैलिएको छ । भारतले पाकिस्तानी अभिनेता फवाद खानको फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएको छ ।
यो तनावको बीच, गायक अरिजित सिंहले आइतबार चेन्नईमा हुने भनिएको आफ्नो कन्सर्ट रद्द गरेका छन् । अर्का गायक अनिरुद्ध रविचन्द्रले आफ्नो हुकुम टुरको टिकट बिक्री पनि स्थगित गरेका छन् ।
अरिजितले इन्स्टाग्राम स्टोरीमा कन्सर्ट आयोजकको पोस्ट पुनः सेयर गरे, जसमा लेखिएको थियो, ‘एक महत्वपूर्ण अपडेट- हालैको दुखद घटना (पहलगाम आतंकवादी हमला)लाई ध्यानमा राख्दै, कलाकारहरूसँगै आयोजकहरूले २७ अप्रिल आइतबार चेन्नईमा हुने कार्यक्रम रद्द गर्ने निर्णय गरेका छन् । टिकट किनेकाले पूरा रकम फिर्ता पाउनेछन् । परिस्थिति बुझ्नुभएकोमा धन्यवाद ।’
अरिजित मात्र होइन, संगीतकार तथा गायक अनिरुद्ध रविचन्द्रले पनि बेंगलुरुमा हुकुम टुरको टिकट बिक्री स्थगित गरेका छन् । उनले यसबारे इन्स्टाग्राममा जानकारी दिएका छन् । उनले लेखे, ‘पहलगाममा भएको दुखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । हाम्रो प्रार्थना र गहिरो समवेदना पीडितहरू र उनीहरूका परिवारहरूसँग छ ।’
प्रतिक्रिया 4