+
+
Shares

सत्ताको गलत आचरणले गणतन्त्रमा कालोबादल मडारियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १६:१५

१२ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको बताएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको बताएका हुन् ।

जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘यसको मुख्य कारण सत्तासिनहरूको गलत आचरण हो । ’

२०४६ साल र २०६२/०६३ को जनआन्दोलन दबाएकाहरूलाई कारबाही नहुँदा पनि तिनले टाउको उठाउन पाएको उनको भनाइ छ ।

सांसद् केसीले भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरिरहँदा पनि जनतामा आक्रोश बढ्दै गएको भन्दै उनले दलहरूले आफूलाई बदल्न जरुरी रहेको बताएका छन् ।

‘आफूले भ्रष्टाचार गरेको छ, भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरेको छ । यो लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि हो । आफैंले यस्ता गतिविधि गरेपछि जनतालाई कसरी सम्झाउन सक्नुहुन्छ ? त्यसैले आफूलार्इ बदल्न जरुरी भयो,’ उनले भने ।

अध्यक्ष केसीले गणतन्त्रमाथि कालोबादल मडारिएको भन्दै रक्षा गर्न परिवर्तनकारी सबै दल एकठाउँमा आउनु पर्ने धारणा राखे ।
‘अहिलेको गणतन्त्रमाथि कालोबादल मडारिएको छ । त्यसैले लोकतन्त्र गणतन्त्रको रक्षा गर्न सबै एकठाउँमा आउनुपर्छ,’ उनले भने, ‘हाम्रै कारणले लोकतन्त्र, गणतन्त्र सकियो, धर्मनिरपेक्षता खोसियो भने हामीले कसलाई दोष लगाउने ? त्यसैले हाम्रोबीचमा जतिसुकै मतभेद रहे पनि लोकतन्त्र, गणतन्त्र जोगाउन एकताबद्ध हुनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?