
१२ वैशाख, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको मृत्यु घटनामा पक्राउ पुर्जी जारी भएका दुई आरोपी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीको घटनामा गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरूको खोजी भइरहेको सिरहा प्रहरीले बताएको छ ।
यता, घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति बनाएर छानबिन भइरहेको छ । समितिले पीडित परिवारको घरमा बुझ्ने काम गरिसकेको छ ।
वरपरका छरछिमेकी, स्थानीय प्रहरीसँग समेत घटनबारे बुझ्ने काम भएको एसएसपी कोइरालाले बताए । कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो । सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार सदस्य थिए ।
घटनाको लामो समयसम्म प्रहरीले किन जाहेरी लिएन, कसैले दबाब दिएको थियो कि, घटना लुकाउन पञ्चायती बसेको थियो, प्रहरीकै कमजोरी थियो कि भन्ने विषयमा यो समितिले अध्ययन गरिरहेको एसएसपी कोइरालाले बताए ।
गत ९ पुसमा यौन दुर्व्यवहार भोगेकी आनन्दी २ वैशाखमा आफ्नै माइत घरमा मृत फेला परेकी थिइन् । घटनाकै दिन इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी परे पनि प्रहरीको आलटालले दोषीलाई कारबाही हुन सकेन ।
मृतककी आमा बिल्टौनदेवी सदायका अनुसार गाउँमै आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो ।

२५ फागुनमा मात्र प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान बढाए पनि घटनामा संलग्न युवकहरू फरार छन् । एकातर्फ न्याय नपाएको र अर्कोतर्फ श्रीमानले समेत उक्त घटनापश्चात बेवास्ता गर्दा तनाबमा आत्महत्या गरेको हुन सक्ने आशंका परिवारजनको छ ।
आनन्दी यौन दुर्व्यवहार घटना पीडित थिइन् । आमा बिल्टौनदेवी सदायका अनुसार पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेको बेला गाउँकै सञ्जिवकुमार र श्यामकुमारले यौन दुव्र्यवहार गरेका थिए ।
घेरा हालर यौन प्रस्ताव राखेका थिए । तर, आनन्दीले अस्वीकार गर्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गर्दा भागेर गुहार मागेकी थिइन् ।
आमा बिल्टौनका अनुसार न्यायको लागि इलाका प्रहरी तारमा उजुरी दिन गएकी थिइन् । तर, प्रहरीले अनुसन्धानको नाममा दुई महिनासम्म आलटाल गरे । आरोपीहरू खुलेआम घुमिरहे । स्थानीय नरेन्द्र यादवलगायतका केही व्यक्तिले गाउँमै मिल्नुपर्ने भनेर धम्कीसमेत दिने गरेको आमा बिल्टौनको भनाइ छ ।
‘छोरीमाथि जबरजस्ती करणीको प्रयास भयो । प्रहरीले समयमा जाहेरी लिएन । वास्ता गरेन,’ आमा बिल्टौन भन्छिन्, ‘आरोपीका मान्छेहरू पछि गाउँमै पञ्चायत गरेर मिलाउन दबाब दिन थाले । नभए उल्टै मुद्दा दर्ता गर्ने धम्कीसमेत दियो । पछि मात्रै प्रहरीले जाहेरी दर्ता गर्यो । तर, दोषीलाई पक्राउ गरेन ।’
घटनापछि फरार युवक अहिलेसम्म पनि फरार नै छन् । उनी भारतमा लुकेर बसेकाले पक्राउका लागि समस्या भइरहेको सिरहा प्रहरीको दाबी छ । आनन्दीका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले दुई वर्षीया छोरीसहित माइतमै बस्दै आएकी थिइन् ।
यो घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापालाई फोन गरेर निर्देशन दिएका थिए । त्यसपछि समिति बनाएर छानबिन अघि बढाइएको छ ।
प्रतिक्रिया 4