१२ वैशाख, काठमाडौं । साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्सबीच शनिबार नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।
झण्डै एक महिना चलेको लिगमा २४ खेलपछि दुई फाइनलिस्ट ललितपुर र पोखरा उपाधि होडमा उभिएका छन् । दुवैको लक्ष्य एकै छ एनएसएल ट्रफी उचाल्ने ।
शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा पनि दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् ।
ललितपुरका प्रशिक्षक साईमन ग्रेसनले क्वालिफायर पछि लामो समय रेस्ट पाएको टिमको तयारी राम्रो भएको र उपाधि रक्षा गर्ने आशा व्यक्त गरे । ‘हामीले राम्रो तयारी गरेका छाैं । रेस्ट टाइम भयो । एक हप्ता तयारीको समय पायाैं, हामी कनफिडेन्ट छाैँ तर ओभरकन्फिडेन्ट छैनाैं’ उनले प्रि म्याच कन्फ्रेन्समा भने, ‘शारीरिक र मानसिक रुपमा तयार छाैं र हामी गत वर्ष जितेको उपाधि रक्षा गर्ने आशामा छाैं ।’
यस्तै कप्तान अनन्त तामाङले पनि एक हप्ताको समयमा टिमलाई राम्रोसँग तयार गर्न पाएको बताए । ‘लास्ट म्याचपछि एक हप्ता समय पायाैं, त्यसमा कमीकमजोरी सुधार गर्ने अवसर पायाैं । ५-६ दिनको रेस्टले हाम्रो टिमलाई तयारी गर्ने अवसर दिएको छ’ उनले भने ।
अनन्तकै कप्तानीमा गत वर्ष ललितपुरले एनएसएल उपाधि जितेको थियो । टिमवर्कले गर्दा नै आफू अहिलेको अवस्थामा पुगेको उनले बताए ।
यस्तै मणिको रातो कार्ड फिर्ता हुँदा टिमलाई राम्रो हुने बताए । ‘मणिको कार्ड फिर्ताको डिसिजन सकरात्मक रुपमा लिएका छाैँ । टिमको महत्वपूर्ण खेलाडी हो र उनी ब्याक हुनु राम्रो हो जस्तो लाग्छ । नेपालमा सायद पहिलो पटक होला उदाहरण पनि बनेको छ’ उनले भने ।
प्रशिक्षक ग्रेसनले जोनाथान कान्टिलाना नहुँदा टिममा आदित्य शाक्यले राम्रो खेलिरहेको बताए ।
यस्तै पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल पुग्दा सबै जना खुसी रहेको र टिम स्पिरिट राम्रो रहेको बताए । ‘हाम्रो ६ हप्ताको तयारीको नतिजा देखाउने बेला भोलि हो । सबै जना तयार छाैं’ श्रेष्ठले भने ।
उनले फाइनल पुगेका दुवै टिम राम्रो हुने भन्दै त्यसका लागि विशेष रणनीति बनाएर खेल्ने बताए । ‘फाइनल भनेपछि विपक्षी टिम पनि राम्रो छ । राम्रो रणनीति बनाएर राम्रो खेल्याैं भने फाईनल जित्छाैं भन्ने छ’ उनले भने ।
प्रशिक्षक श्रेष्ठले व्यक्तिगत रुपमा पनि आफ्नो लागि यो लिगको उपाधि जित्ने अर्थपूर्ण रहेको बताए । उनले लिग चरणकै लयलाई फाईनलमा पनि टिमले निरन्तरता दिने विश्वास व्यक्त गरे ।
यस्तै पोखराका कप्तान नवयुग श्रेष्ठले फाईनलमा राम्रो प्रदर्शन गर्दै उपाधिका लागि खेल्ने बताए । ‘भोलि राम्रो गर्दै ट्रफी सम्म पुग्नेछाैं’ नवयुगले भने । उनले व्यक्तिगत रुपमा एनएसएल ट्रफी जित्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै ललितपुरविरुद्धको फाइनल खेल टफ म्याच हुने नवयुगले बताए ।
फाइनल आउनुअघि ललितपुर र पोखरा दुवैले क्वालिफायरमा एकै टिम धनगढी एफसीलाई पराजित गरेको थियो । अब फाइनलमा कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।
साविक विजेता समेत रहेको ललितपुर लगातार दोस्रो पटक फाइनल पुगेको हो । त्यसैले ललितपुर अपराजित रहँदै त्यो ताज रक्षा गर्ने अभियानमा हुनेछ भने पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स पनि ट्रफी उठाउने लक्ष्यमा छ ।
अब दुई मध्ये कुन टिमले बाजी मार्छन् त्यसका लागि भने शनिवार बेलुकासम्म प्रतिक्षा गर्नुपर्नेछ । पोखरा र ललितपुरबीच लिग चरणमा पनि प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ ललितपुरले पोखरालाई ३-२ ले पराजित गरेको थियो ।
ललितपुर त्यही लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने योजनामा हुनेछ । लगातार १० खेलसम्म अपराजित रहेको ललितपुरलाई हराएर पहिलो पटक च्याम्पियन बन्ने दाउमा पोखरा थण्डर्स छ ।
ललितपुर सिटी एफसी
साविक विजेता ललितपुर सिटी एफसी यस सिजन एक्लो अपराजित टिम हो । लिग चरणमा ६ खेलमै अपराजित रहेको ललितपुर शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो । पहिलो क्वालिफायर नै खेल्न पाएको ललितपुरले धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
ललितपुर सिटीले काठमाडौं रेजर्ससँग पहिलो खेलमा २-२ को बराबरी खेल्दै उपाधि रक्षा अभियान सुरु गरेको थियो । लिग चरणमा सुरुवाती ३ खेलमा १ जित र २ बराबरी खेलेको ललितपुरले पछिल्ला ३ खेलमा २ जित र १ बराबरी नतिजा निकालेको थियो ।
ललितपुरले दोस्रो खेलमा पोखरालाई ३-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । तर, तेस्रो खेलमा धनगढी एफसीसँग गोलरहित बराबरीमा रोकियो ।
चौथो खेलमा एफसी चितवनलाई २-१ ले पराजित गरेपछि ललितपुरले प्लेअफको सम्भावना बढाएको थियो भने पाँचौं खेलमा बुटवल लुम्बिनीलाई २-० ले हराएर ललितपुरले एक खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको थियो । अन्तिम खेलमा ललितपुरले झापा एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
लिगमा पहिलो भएको ललितपुरले दोस्रो भएको धनगढीसँग पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको थियो । जहाँ अधिकांश समय एक खेलाडी कम भएर खेल्दा पनि ललितपुरले धनगढीलाई २-१ ले पराजित गरेको थियो ।
उक्त खेलमा ललितपुरका मणि लामा र पापे डिएकेटले रातो कार्ड पाएका थिए । खेलपछि ललितपुर सिटीले दुवै खेलाडीको रातो कार्डको विषयमा अपिल गरेको थियो । एनएसएल अर्गनाइजिङ कमिटीले अपिल कमिटीसँगको छलफलपछि मणि लामाको रातो कार्डको निर्णय फिर्ता भएको जानकारी टिमलाई दिएको छ ।
अब मणि फाइनल खेल खेल्न लायक हुनेछन् । जसले गर्दा ललितपुरलाई केही राहत मिलेको छ ।
पोखरा थण्डर्स
पोखरा थण्डर्स पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । यस क्रममा पोखराको सुरुवात सोचे जस्तो थिएन । कमजोर सुरुवात गरेपछि पोखराले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।
लिग चरणमा ६ मध्ये २ खेलमा जित, २ बराबरी र २ मा हारको नतिजासहित चौथो हुँदै पोखरा प्लेअफ पुगेको थियो । काठमाडौ रेजर्ससँग समान ८ अंक भएपनि गोलअन्तरमा पोखरा अघि रहँदै भाग्यमानी बनेको थियो । पोखराको यात्रामा मिहिनेत र भाग्य दुवैले साथ दिएको देखियो ।
पोखराले यस सिजन ८ खेल खेल्दा पछिल्लो ६ खेलमा अपराजित छ । यसले पनि पोखरा फाइनल पुग्न लायकको टिम भएको देखाउँछ । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले त्यसपछि चार खेलमा अपराजित रहँदै ८ अंक जोडेर प्लेअफमा स्थान बनाएको हो ।
पहिलो खेलमा एफसी चितवनसँग २-० र दोस्रो खेलमा ललितपुर सिटीसँग ३-२ ले पराजित भएपछि पोखरा सुरुवातमै दबाबमा परेको थियो । धेरैले पोखरालाई कमजोर टिम भन्दै लिग चरणबाटै बाहिरिने सोचेका थिए ।
तर, पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई २-० ले हराएपछि पोखराले लय लियो । त्यसपछि साविक उपविजेता धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको पोखराले झापा एफसीसँग १-१ को बराबरी खेल्दा प्लेअफ यात्रा केही कठिन बनेको थियो । तर, अन्तिम खेलमा बुटवल लुम्बिनीलाई २-० ले पराजित गरेपछि पोखराले लगातार दोस्रो सिजन प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
लिगमा चौथो भएपछि पोखराले तेस्रो भएको एफसी भितवनसँग एलिमिनेटर खेलेको थियो । उक्त एलिमिनेटरमा एफसी चितवनलाई सहजै ३-० ले हराएर पोखरा दोस्रो क्वालिफायरमा पुगेको थियो ।
जहाँ पोखराले एक खेलाडी कम भएर पनि साविक उपविजेता धनगढी एफसीलाई १-० ले हराएर फाइनल पुगेको हो ।
गत सिजन ललितपुरले लिगमा चौथो भएर पनि फाइनल पुग्दै उपाधि नै जितेको थियो । अहिले पोखराको यात्रा पनि त्यस्थै छ । पोखराले लिग चरणमा चौथो स्थानमा रहेर सकाएको थियो । जसले गर्दा पोखराले प्लेअफमा ललितपुर भन्दा एक खेल बढी खेल्नुपर्यो ।
रोड टु फाइनल : ललितपुर सिटी एफसी
काठमाडौं रेजर्स विरुद्ध २-२ को बराबरी
पोखरा थण्डर्स विरुद्ध ३-२ ले विजयी
धनगढी एफसी विरुद्ध गोलरहित बराबरी
एफसी चितवन विरुद्ध २-१ ले विजयी
बुटवल लुम्बिनी विरुद्ध २-० ले विजयी
झापा एफसी विरुद्ध १-१ को बराबरी
क्वालिफायर वानमा धनगढी एफसी विरुद्ध २-१ ले विजयी
रोड टु फाइनल : पोखरा थण्डर्स
एफसी चितवन विरुद्ध २-१ ले पराजित
ललितपुर सिटी विरुद्ध ३-२ ले पराजित
काठमाडौ रेजर्स विरुद्ध २-० ले विजयी
धनगढी एफसी विरुद्ध गोलरहित बराबरी
झापा एफसी विरुद्ध १-१ को बराबरी
बुटवल लुम्बिनी विरुद्ध २-० ले विजयी
एलिमिनेटरमा एफसी चितवन विरुद्ध ३-० ले विजयी
दोस्रो क्वालिफायरमा धनगढी एफसी विरुद्ध १-० ले विजयी
प्रतिक्रिया 4