१२ वैशाख, नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगन्ज रंगशालमा शुक्रवार भएको खेलमा गीता रानाले इन्जुरी टाइमममा गरेको गोल नै एपीएफलाई च्याम्पियन बनाउन निर्णायक रह्यो ।
एपीएफले घरेलु फुटबलमा लगातार तेस्रो पटक नकआउट प्रतियोगिताको उपाधि जितेको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।
विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो ।
एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ ले पराजित गरेको थियो ।
फाइनल खेलमा पुलिसले कडा चुनौती दिएको र सोचे अनुसारको प्रदर्शन गर्न नसकेको एपीएफकी प्रशिक्षक भगवती थापाले बताइन् ।
उता घरेलु मैदानमा च्याम्पियन बन्ने पुलिसकी कप्तान निरु थापाको सपना अधुरो रह्यो । यद्यपी उनले घरेलु मैदानमा उपविजेता बन्दा पनि खुशी नै व्यक्त गरिन् ।
गोलकर्ता गीता राना प्लेयर अफ द फाइन घोषित भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् ।
एपीएफकी कप्तान अनिता बस्नेत सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् ।
यसैगरी एपीएफकी गीता राना उत्कृष्ट डिफेण्डर, अनिता केसी उत्कृष्ट स्ट्राइकर र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
नेपाल पुलिस क्लबकी गोलकिपर उषा नाथ उत्कृष्ट गोलकिपर घोषित भइन् ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।
यस्तै फाइनल अघि बाँके जिल्लाकै खेलाडी नेपाल पुलिसकी कप्तान निरु थापालाई सम्मान गरिएको थियो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले नगद २५ हजार र प्रमाणपत्रले सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र अन्तरालका कार्यकारी जयनारायण शाह लगायतले सम्मान गरेका थिए ।
प्रतिक्रिया 4