+
+
Shares

गुन्द्रुक : हेपिएको तरकारीको बढेको भाउ

ठूला सपिङ सेन्टरमात्र होइन, सहर र गल्लीचोकमा रहेका मध्यम खालका स्टोरहरूमा पनि गुन्द्रुक खोज्न आउनेको संख्याले पनि यसको स्वाद र मागले उपभोक्तालाई कतिविधि तानिरहेको छ भन्ने पुष्टि गर्छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ वैशाख १३ गते ७:०३

१३ वैशाख, काठमाडौं । गुन्द्रुक ! यो आफैंमा यस्तो स्वादिलो चिज हो, जुन सम्भवतः सारा नेपालीको भान्सामा पाक्ने गर्छ । गुन्द्रुक नपाक्ने नेपालीको भान्सा भेट्न सायद मुस्किल हुन्छ ।

पहिले–पहिले ‘हेपिएको तरकारी’ मा पर्ने गुन्द्रुकको पछिल्लो पटक निकै ‘भाउ’ बढेको छ । सामान्यतया हरिया सागसब्जी सुकाएर बनाइने गुन्द्रुक संसारको जुनसुकै कुनामा पुगेका नेपालीको भान्सामा स्वादको बहार ल्याइरहेको छ । विदेशमा रहेका आफन्त, नातागोतालाई कोसेली पठाउनु पर्‍यो ? सजिलो छ– गुन्द्रुक पठाउने ।

विगतमा खासै वास्ता नगरिने गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र मार्टमा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेका छन् । त्यसमाथि अनलाइन सपिङ प्लेटफर्ममा त दर्जनौं ‘भेराइटी’ का गुन्द्रुक अर्डर गर्न पाइन्छ ।

भाटभटेनी सुपरस्टोर, बिगमार्ट जस्ता ठूला सपिङ सेन्टरमात्र होइन, सहर र गल्लीचोकमा रहेका मध्यम खालका स्टोरहरूमा पनि गुन्द्रुक खोज्न आउनेको संख्याले पनि यसको स्वाद र मागले उपभोक्तालाई कतिविधि तानिरहेको छ भन्ने पुष्टि गर्छ ।

नेपाली बजारमा अहिले गुन्द्रुकको भाउ प्रतिकिलो ७ सयदेखि १ हजार २ सय रुपैयाँसम्म पर्छ

यसरी गुन्द्रुक किन्न आउनेहरू आफ्नै भान्सामा पकाएर खानेदेखि आफन्तलाई विदेश पठाउनका लागि लिन आउनेहरू हुन्छन् ।

गाउँघरतिर पहिले सिँत्तैमा पाइने गुन्द्रुक अहिले भने राम्रै पैसा तिरेर किन्नुपर्छ । पछिल्लो पटक गुन्द्रुकमा उपभोक्ता झुम्मिरहेका छन् । स्वदेशमा मात्र होइन, विदेश जाने र उतै भएका नेपालीको रोजाइमा पनि गुन्द्रुक परिरहेको छ ।

अहिले मेला महोत्सवमा पनि गुन्द्रुकको परिकार खुवाउनेदेखि ब्रान्डिङ गरी बेचेर आम्दानी गरिरहेको पाइन्छ । त्यतिमात्र होइन, पछिल्लो पटक त तारे होटल, रिसोर्ट, रेस्टुरेन्टका मेनुमा पनि गुन्द्रुकका परिकार हुने गरेको छ ।

गुन्द्रुक किलोकै १२ सय ५०

नेपाली बजारमा अहिले गुन्द्रुकको भाउ प्रतिकिलो ७ सयदेखि १ हजार २ सय रुपैयाँसम्म पर्छ । देशकै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार र अर्को तरकारी बजार बल्खु तरकारी बजारमा गुन्द्रुक बढी बिक्री हुने गरेको छ ।

यहाँका व्यापारीले काभ्रे, धादिङ, नुवाकोट, इलाम, पोखरा लगायत ठाउँबाट ल्याएर गुन्द्रुक बेच्ने गरेका छन् ।

नयाँ बानेश्वरको एक मार्टमा अर्गानिक गुन्द्रुक भनेर लेबलिङ र ब्रान्डिङ गरेको प्याकेटमा गुन्द्रुक बेच्न राखिएको छ । मार्ट सञ्चालकका अनुसार उक्त गुन्द्रुक ललितपुरमा उत्पादन भएको हो ।

‘ललितपुरमा एक जना दिदीले आफैं साग उत्पादन गरेर गुन्द्रुक बनाउनुहुन्छ,’ उनले भने, ‘उहाँले बनाएको गुन्द्रुक मिठो पनि र सफा पनि छ । यो गुन्द्रुकका धेरै ग्राहक पनि हुनुहुन्छ ।’

उनको मार्टमा तोरी, रायो र मुलाको सागको गुन्द्रुक पाइन्छ । तीमध्ये केहीको ब्रान्डिङ र लेबलिङ गरिएको छ भने केहीको सादा प्याकेटमा उपलब्ध छ । सागअनुसार गुन्द्रुकको मूल्य फरक–फरक छ ।

रायोको सागको गुन्द्रुक १ सय ग्रामको मूल्य ९५ रुपैयाँ तोकिएको छ । मुलाको सागको गुन्द्रुकको मूल्य २ सय ग्रामको २ सय २५ र तोरीको सागको गुन्द्रुकको मूल्य १ सय ग्रामलाई १ सय २५ रुपैयाँ छ ।

मार्ट सञ्चालकका अनुसार गुन्द्रुक अहिले प्रतिकिलो ६ सय रुपैयाँदेखि १ हजार २ सय ५० रुपैयाँसम्ममा किनबेच हुन्छ ।

‘गुन्द्रुकको कुनै सिजन हुँदैन, जहिले पनि जुन स्वादमा बनाएर खान मिल्ने भयो,’ उनी भन्छन्, ‘मैलै नै महिनामा १०–१५ किलो गुन्द्रुक बेच्दै आएको छु ।’

आचार्यले उत्पादन गरेको ९० प्रतिशत गुन्द्रुक विदेशमा खपत हुन्छ । उनका अनुसार इटाली, चेक रिपब्लिक, पोर्चुगल, स्पेन, बेलायत, रोमानिया, अस्ट्रेलिया, दुबई, ओमन, जापान लगायत देशमा पुग्ने गरेको छ

सोही मार्टमा भेट भएकी अनुषा शाही विदेशमा रहेकी आफ्नी दिदीलाई पठाउने भन्दै गुन्द्रुक किन्न आएकी थिइन् । उनले अस्ट्रेलिया बस्ने दिदीलाई पठाउने भन्दै ३ किलो गुन्द्रुक किनिन् ।

‘दिदीलाई गुन्द्रुक असाध्यै मन पर्ने, फोनमा जहिले पठाइदिन भनिरहनुहुन्छ,’ उनले भनिन्, ‘उहाँले सारै रहर गरेको भएर किनेर पठाउन लागेको । घरमा गुन्द्रुक उत्पादन छैन । खान मन लागे किनेरै खाने हो ।’

उनले प्रतिकिलो ८ सय रुपैयाँका दरले ३ किलो गुन्द्रुकलाई २ हजार ४ सय रुपैयाँ खर्चिइन् ।

गुन्द्रुकको नसोचेको व्यापार

कास्की पोखरा महानगरपालिका–१६ का प्रकाश आचार्य आफैंले गुन्द्रुक बनाएर लेबलिङ र ब्रान्डिङ गरेर बेचिरहेका छन् । उनले तीन वर्षयता गुन्द्रुक उत्पादन गरेर बेचिरहेको बताए । आचार्यलाई गुन्द्रुकको व्यापार यति राम्रो होला भन्ने लागेकै थिएन ।

उनले ‘हरिलो ब्रान्ड’ का नाममा गुन्द्रुक लेबलिङ र ब्रान्डिङ गर्दै आइरहेका छन् । पाँच वर्षदेखि ‘हरिलो एग्रो इन्डस्ट्री प्रालि’ नामबाट उनले उद्योग चलाइरहेका छन् । यो व्यवसाय आचार्यकी श्रीमती रोशनी शर्माले भान्साबाट सुरु गरेकी हुन् ।

उनले सुरुमा सेल, अचार, मस्यौरा लगायत विभिन्न सामग्री बनाएर बेच्थिन् । त्यो व्यवसाय राम्रो हुँदै गएपछि आचार्य दम्पतीले गुन्द्रुक उत्पादन पनि सुरु गरेका हुन् ।

उनीहरूले उत्पादन गर्ने गुन्द्रुक रायो र मिक्स हो । ‘रायोको गुन्द्रुक ठूलो परिमाणमा हामीले नै उत्पादन गरिरहेका छौं,’ आचार्यले भने, ‘अब वर्षमा ५ टन गुन्द्रुक उत्पादन गर्ने लक्ष्य छ ।’

अहिले कालीमाटीमा गुन्द्रुकको भाउ अधिकतम २ सय ५० देखि ३ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ । गत वर्ष मध्यतिर गुन्द्रुकको भाउ अधिकतम किलोको २ सयदेखि २ सय ७५ रुपैयाँसम्म थियो

आचार्यले गुन्द्रुक उत्पादन गरे पनि साग भने उत्पादन गर्दैनन् । पोखरा नजिकैका गाउँका किसानहरूले उत्पादन गरेको साग किनेर गुन्द्रुक बनाउने उनले बताए ।

‘हामीले लुम्ले, काँडे, हेम्जा लगायत गाउँका किसानबाट साग किन्छौं,’ आचार्य भन्छन्, ‘कतिपय किसानसँग त हामीले साग किन्ने सम्झौता नै गरेका छौं ।’

आचार्यले सिजनमा गुन्द्रुक बनाउनका लागि प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म र अफ सिजनमा ४० रुपैयाँसम्ममा किन्ने गरेको सुनाए ।

आफूहरूले उत्पादन गरेका साग खेर नजाने र राम्रो आम्दानीको स्रोत हुने भएपछि किसानहरू पनि साग खेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछन् ।

‘गुन्द्रुक बेचेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि हामीले व्यावसायिक उत्पादन थालेका हौं,’ आचार्यले सुनाए, ‘देशदेखि विदेशसम्म गुनद्रुकको यात्रा हुने भएपछि यसको व्यापार धेरै राम्रो छ ।’

उनले उत्पादन गरेको ९० प्रतिशत गुन्द्रुक विदेशमा खपत हुन्छ । उनका अनुसार इटाली, चेक रिपब्लिक, पोर्चुगल, स्पेन, बेलायत, रोमानिया, अस्ट्रेलिया, दुबई, ओमन, जापान लगायत देशमा पुग्ने गरेको छ ।

‘हामीले एक जना वितरकलाई दिने गरेका छौं,’ उनले भने, ‘उहाँले विदेश पठाउने गर्नुहुन्छ । यो सबै गुन्द्रुक किन्ने भनेका विदेशमा बस्ने नेपाली हुन् ।’

यस्तै उनले ब्रान्डिङ गरेको गुन्द्रुक भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, खजुरीको पसलदेखि अन्य ठूला–साना र खुद्रा पसलबाट पनि बिक्री हुने गरेको छ ।

‘हामीले १ सय ग्रामका प्याकेटदेखि किलोसम्मका प्याकेट बनाएका छौं,’ उनले भने, ‘१ सय ग्रामको प्याकेटलाई हामीले ९० रुपैयाँ मूल्य तोकेका छौं । एक किलो गुन्द्रुकको होलसेल मूल्य ७ सयदेखि ८ सय रुपैयाँसम्म पर्न जान्छ ।’

उनले २०८१ सालमा २ हजार किलो (२ टन) गुन्द्रुक बेचेका थिए । यो वर्ष ५ टन बेच्ने लक्ष्य छ ।

पोखराका आचार्य जस्तै सुनसरीकी सञ्जु अधिकारीले पनि गुन्द्रुक उत्पादन सुरु गरेकी छिन् । सञ्जु आफैंले तोरीको साग उत्पादन गरेर २ हजार किलोभन्दा बढी गुन्द्रुक उत्पादन गरेकी हुन् ।

‘हामीले उत्पादन गरेको सबै गुन्द्रुक खपत भइसक्यो,’ अधिकारीले भनिन्, ‘हामीले यहाँबाट गुन्द्रुक काठमाडौं पठाएका थियौं । सबै गुन्द्रुक त्यहाँका बजारदेखि हङकङ, अमेरिकासम्म पुग्यो ।’

अधिकारीले उक्त गुन्द्रुकको मूल्य गुणस्तरका हिसाबले तय गरेकी थिइन् । उनले गुन्द्रुक प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बेचेको बताइन् ।

वर्ष दिनमै गुन्द्रुकको भाउ ११ प्रतिशतसम्म बढ्यो

एक वर्षमा कालीमाटी तरकारी बजारमा गुन्द्रुकको भाउ ११ प्रतिशतसम्म बढेको छ । वैशाखदेखि चैत २०८१ सम्ममा गुन्द्रुकको भाउ यो दरमा बढेको हो ।

अहिले कालीमाटीमा गुन्द्रुकको भाउ अधिकतम २ सय ५० देखि ३ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ । गत वर्ष मध्यतिर गुन्द्रुकको भाउ अधिकतम किलोको २ सयदेखि २ सय ७५ रुपैयाँसम्म थियो ।

यस्तै खुद्रा पसलदेखि ठूला पसलसम्म पनि गुन्द्रुकको भाउ फरक–फरक छ । केही नाम चलेका अनलाइन प्लेटफर्महरूमा गुन्द्रुकको भाउ १ सय रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म तोकिएको छ ।

अझै चाखलाग्दो कुरा ढिकीमा कुटेर बनाइएको सागको गुन्द्रुकको भाउ किलोको २ हजार रुपैयाँसम्म तोकिएको पाइयो ।

गुन्द्रुक बनाउन आधुनिक प्रविधि प्रयोग

नेपालका सबै स्थानमा हरेक घरमा गुन्द्रुक उत्पादन हुन्छ भन्दा पनि फरक नपर्ला । गुन्द्रुक बनाउने सबैका परम्परागत शैली छन् । गुन्द्रुक बनाउँदा रायो साग, मुलाको साग वा तोरीको सागलाई सुकाएर कुनै भाँडो अथवा खाल्डोमा खाँदेर अमिलो पारेर निकाल्ने र त्यसलाई सुकाएर भण्डारण गरेर राख्ने अनि वर्ष दिनसम्म खाने चलन छ ।

अहिले भने गुन्द्रुक उत्पादनमा पनि प्रविधि प्रयोग गर्न थालिएको छ । पोखराका गुन्द्रुक व्यवासायी आचार्यले पनि ठूलो परिमाणमा गुन्द्रुक उत्पादन गर्ने भएपछि त्यसको उपयोग गरिरहेका छन् ।

आचार्यका अनुसार सुरुमा किसानको बारीबाट ल्याइएको सागलाई चार–पाँच पटक पानीमा राम्ररी धुने काम हुन्छ । धोएर सुकाउने काम हुन्छ । साग सुकेर ओभानो भइसकेपछि सागको डाँठलाई थिच्ने र थिचेको सागलाई हातैले डल्लो पारेर ५ सयदेखि १ हजार लिटरको ड्रममा खाँदेर राखिन्छ ।

यसरी ड्रममा खाँदेको गुन्द्रुक एक सातापछि अमिलोपन (पीएच) मापन गर्ने उनले बताए ।

‘हामीले उक्त गुन्द्रुकमा अमिलो नाप्छौं, खाएरै भयो कि भएन भनेर पनि राख्छौं,’ आचार्यले भने, ‘चाख्दा अलिअलि अमिलो भएको रहेछ भने त्यसलाई फेरि हामीले ३० किलोको सानो ड्रममा फिक्स गर्छाैं । त्यो गुन्द्रुकको अमिलोपन ३.५ देखि ४.२ सम्मको भयो भनेपछि बल्ल निकालेर सुकाउने हो ।’

उक्त गुन्द्रुकलाई सोलार ड्रायरमा सुकाएपछि गुन्द्रुक तयार हुन्छ । यसपछि प्याकेजिङ र ब्रान्डिङको काम सुरु हुने उनी बताउँछन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?