+
+
Shares

अमृत दाइ अर्थात् माटोको सुगन्धमा रमाउने नेता

जिन्दगीको यात्रामा यहाँसम्म आइपुग्दा कोही रहर र कोही बाध्यतामा जोडिएका सबै श्रीमती उनीबाट छुटे । पटक–पटक एक्लै बनेका अमृत दाइको वैवाहिक जीवन २०५९ सालमा सुनिता भाउजूसँग विवाह गरेपछि भने दिगो बन्यो ।

सरोज खतिवडा सरोज खतिवडा
२०८२ वैशाख १३ गते ११:४०

रुकुम छँदा अरूलाई जस्तै उनको परिवारलाई पनि सधैं खानकै दुःख । त्यो समय नै त्यस्तै थियो, तराईमा प्रशस्त अन्न भए पनि पहाडमा खान–लाउन समस्या । त्यसमाथि दलितसँग उस्तो जमिन पनि हुँदैनथ्यो ।

औलो उन्मूलन भएपछि पहाडमा लाउन–खान दुःख हुनेहरू तराई तथा भित्रीमधेश झर्न थाले । पेट पाल्ने सजिलो बाटो खोज्दै उनको परिवार रुकुमबाट दाङ झर्‍यो । दाङमा पनि खेती लगाएर खान पुग्दो जमिन त थिएन तर बाबुको हातमा पुस्तैनी सीप भएकोले रुकुममा भन्दा यता थोरै सुख भने थियो ।

परिवारको जेठो सन्तानको रूपमा अमृत दाइको जन्म दाङमै भयो । अमृतका बाबु आरनमा फलाम पिट्थे, खलाती लगाउँथे । बाबु आफूले बनाएका हतियार बिष्टको घरमा पुर्‍याउँथे, उनी बाबुको पछिपछि अन्न उठाउन जान्थे । बाबु हिउँदमा चँदाराको काम गर्न खोला छेउछाउ बस्थे, उनी बाबुको साथी ।

सामान बनायो, बिष्टकहाँ लिएर गयो, जदौ गर्‍यो, आँगनभन्दा पर बस्यो, शिर झुकाएर कुरा गर्‍यो, खानेकुरा दिंदा हात थापेर खायो, खाएको भाँडा अलग्गै माझ्यो । प्रश्नोत्तर गर्न नमिल्ने । उनलाई त्यतिबेला मनमा आगो बल्थ्यो । यो आगो उनका बाबुले खलाती लाउँदा बल्ने भर्भराउँदो भुंग्रोभन्दा कम हुँदैनथ्यो ।

आफ्नो पढाइ र हुर्काइबारे अमृत दाइ भन्छन्, ‘हरेक कुरा राम्रो हुन वातावरण चाहिन्छ । मैले विभेद सहितको समाजमा रहेर पढ्न सकिनँ । हुनत मेरोभन्दा खराब वातावरण भएको घरमा पनि पढेका छन् ।’

उनको घर र विद्यालय बीचको दूरी थोरै थियो तर मन र विद्यालयको दूरी कहिल्यै थोरै हुन सकेन । उनी जतिजति कक्षा चढ्दै गए उतिउति विद्यालय जाने रुचि घट्दै गयो ।
बिष्टको घर जाँदा एकपटकमा एक परिवारले मात्र विभेद गर्थे तर विद्यालय त सबै बाहुन, क्षेत्रीको राज्य जस्तो थियो । पियनदेखि प्रअ र सहपाठी अधिकांश कथित माथिल्लो जातका थिए । विद्यालयमै धेरै विभेद खेपेका उनको आँखामा एउटा घटना आज पनि ताजै छ ।

अमृत दाइ सम्झन्छन्, ‘ऊ बेला विद्यालयमा धारा थिएन । पियनले पँधेराबाट गाग्रीमा खानेपानी ल्याउँथे । १ बजे पानी खाने समय हुन्थ्यो । म दलित भएकै कारण पानी खाने पालो सबैभन्दा पछाडि आउँथ्यो । कति दिन त मेरो पालो आउनुअघि नै पानी सकिन्थ्यो ।’

अहिलेको राज्य व्यवस्थाले आजपर्यन्त राज्यका स्रोतहरूमा यसरी नै विभेद गरिरहेको उनलाई लाग्छ । भन्छन्, ‘शिक्षाले पनि जात व्यवस्थालाई निमिट्यान्न पार्न सकेन । किताबमा सबै मानिस समान भनेर लेखियो । तर विद्यालयले सबै बराबर भनेर पढाउँदा मात्र मानिसको व्यवहार परिवर्तन भएन । जसरी कानूनमा सबै समान भनेर लेखियो तर व्यवहारमा गरिएन ।’

कक्षा ५ पुगेपछि उनले विद्यालय छाडे । विगततिर पुग्दा अमृत दाइ लामो सास लिन्छन् र भन्छन्, ‘आज पनि कति बालबालिका छुवाछूत जस्तो अमानवीय व्यवहारका कारण विद्यालय जान छाड्छन् होला !’

अमृत दाइलाई लाग्छ, उनको जीवन अनौठा संयोगले घेरिएको छ । यो संयोग उनको दाम्पत्य जीवनमा पनि देखिन्छ । सानै छँदा आमा बितिन् । दुई भाइ सानै । बुवा एक्लै अनि घरव्यवहार चलाउन गाह्रो भयो भनेर १३ वर्षकै उमेरमा उनको विवाह भयो ।

श्रीमती अमृत दाइभन्दा ९ वर्ष जेठी थिइन् । विवाह भएको ६ महिनामै उनको घरबार टुट्यो । श्रीमती उनलाई छाडेर अन्यत्रै हिंडिन् ।

जिन्दगी जसोतसो चलेकै थियो । वर्षा सकियो, मकै भित्र्याएर हिउँदेबाली लगाउने समय थियो । एक दिन अमृत दाइ खेत जोत्न मेला गएका थिए । साँझ घर फर्किंदा बाबुले उनका लागि अर्की बुहारी लिएर आएका रहेछन् । अमृत दाइलाई फेरि बित्यास पर्‍यो । पहिली श्रीमती जस्तै यिनी पनि ८ वर्ष जेठी थिइन् ।

अमृत दाइलाई बाबुले आरनको काम सिकाए; ठेकी, भाँडा बनाउने चँदाराको काम पनि सिकाए । तर परम्परागत वर्ण व्यवस्थाको आधारमा रहेको बाबुको पेशालाई उनले नकारे । राजनीति गर्दै बसको सहचालक, भरिया र चौकीदार बने, पूर्णकालीन राजनीतिमा पनि भविष्य नदेखेपछि किसान बने

उनी हाँस्दै सुनाउँछन्, ‘उनी तान्न खोज्थिन् म दौडिन्थें । उनी घरभित्र हुँदा म बाहिर, उनी बाहिर हुँदा म भित्र । एकै हप्तामा दोस्री श्रीमतीले पनि अमृत दाइलाई छोडिन् ।

ती दिन सम्झिंदा आज पनि अमृत दाइलाई लाग्छ, उनीसँग घरबार गर्न आएका यी दुई महिला के सोचेर आए होलान् र के सोचेर फर्किए होलान् !

यसपछि भने उनका बाले कहिल्यै बुहारी खोजेनन् । दिनहरू बित्दै गए, अमृत दाइ परिपक्व भए । उनको घरमा कोही महिला थिएनन् । बा, उनी र दुई भाइ, परिवारमा सबै पुरुष मात्र ।

अब भने अमृत दाइलाई स्थायित्व हुने गरी घरबार गर्नुपर्छ जस्तो लाग्यो । एक साँझ गाउँकै एक वृद्ध उनको घरमा आएर आफ्नी नातिनीसँग विवाह गर्ने प्रस्ताव गरे । उनले तिनै वृद्धकी नातिनीसँग विवाह गरे ।

दुर्भाग्य, विवाह भएको एक महिना जतिपछि श्रीमती कुनै अन्जान रोगले थला परिन् । ऊ बेला दाङमा अस्पताल थिएन । रक्षाचौरबाट डोकामा बोकेर तुल्सीपुर ल्याउनुपर्थ्यो ।

त्यहाँ पनि गतिलो उपचार हुँदैनथ्यो । अमृत दाइ भन्छन्, ‘खै अहिलेको जस्तो भए बचाउन सकिन्थ्यो होला । ऊ बेला सकिएन ।’

अमृत दाइ फेरि एक्लै भए ।

*** ***

संयोग नै भनौं, अमृत दाइको भेट केही राजनीतिक नेता/कार्यकर्तासँग भयो । दलमाथि प्रतिबन्ध लागेको समय थियो । कम्युनिष्ट नेताको संगतमा उनले वर्षौं आफूभित्र रहेको विद्रोहको निकास देखेका थिए । एउटा बाटो भेटेका थिए, वर्ग उन्मुक्तिको बाटो । न्यायपूर्ण समाज निर्माणको बाटो । समान र समतामूलक समाज निर्माण गर्ने बाटो ।

विस्तारै यो बाटोले उनका लागि समाजको हितमा सोच्न बाध्य बनायो । वर्ग हितमा लाग्न बाध्य बनायो । सुन्दर समाजको कल्पना गर्न बाध्य बनायो । कमरेडहरूसँग हुने उत्साहपूर्ण भेटघाट, छलफल, बैठकहरूले उनलाई भर्खरको वियोगान्त पारिवारिक माहोलबाट बाहिर निस्कन पनि सहज बनायो । यो पञ्चायतको आखिरी बेला थियो ।

जनआन्दोलनको जगमा देशमा प्रजातन्त्र आयो । करिब तीन दशक निर्दलीय व्यवस्था सकिएर दलीय व्यवस्था शुरू भएको बेला नयाँ भविष्यको कल्पनासम्म त गर्न सकिन्थ्यो तर समाजमा हिजोकै सामन्ती व्यवस्थाको जरा गाडिएको थियो ।

पचासको दशकमा उनी पार्टी संगठनको जिल्ला नेतृत्वमा थिए । उनी नेतृत्वमा छँदा दाङको स्थानीय क्षेत्रमा हुने विकृति र विसंगति विरुद्ध काम गरेको याद उनलाई अहिले पनि झलझली आँखामा आउँछ । दलको भ्रातृ संगठन हुँदै जिल्ला तहको सचिवसम्म हुँदा उनले धेरै यस्ता काम गरेका छन् जसले आम महिला, दलित, किसान र शोषित वर्गलाई न्याय प्राप्त गर्न उत्प्रेरित गरेको छ ।

अब राजनीति अमृत दाइको पेशा बन्यो । घर–परिवार एकातिर, दैनिकी अर्कोतिर थियो । देश द्वन्द्वमा थियो । उनी जनमोर्चाबाट राजनीति र सामाजिक काममा लागेका थिए । निरन्तर संगठन र सामाजिक काममा लागेका उनी तत्कालीन विद्रोही र राज्यपक्ष दुवैका तारो थिए ।

राजनीतिमै हुँदा चौथो विवाह गरेका अमृत दाइको काम श्रीमती र बाबुलाई मन परेको थिएन । श्रीमतीकै जोडबलमा उनीहरू भारततिर लागे । तर भारतमा पनि उनको दिनचर्या फेरिएन । दिनभरि काम गर्ने अनि श्रीमतीलाई रातिको काम छ भनेर झुक्याउँदै संगठन बनाउने ।

उनको नसा–नसामा राजनीति बगेको थियो । राजनीतिबाट छुटाउनकै लागि भारत पुर्‍याइएका श्रीमान् संगठन र नेता भन्दै हिंड्न थालेपछि दुई सन्तानलाई जन्म दिइसकेकी श्रीमतीले अर्को विवाह गरिन् ।

श्रीमतीले उनकै साथी कमरेडसँग विवाह गरेकी थिइन् । अमृत दाइ भन्छन्, ‘नेपालको राजनीतिमा कमरेडले नै कमरेडका घर बिगारेका प्रशस्तै उदाहरण छन् । म चाहिं अलि सानो कार्यकर्ता भएर उस्तो चर्चा भएन ।’ श्रीमतीले धोका दिएपछि विचलित भएका उनी आफ्ना सन्तान र राजनीतिक लत लिएर नेपाल फर्किए ।

जिन्दगीको यात्रामा यहाँसम्म आइपुग्दा कोही रहर र कोही बाध्यतामा जोडिएका सबै श्रीमती उनीबाट छुटे । पटक–पटक एक्लै बनेका अमृत दाइको वैवाहिक जीवन २०५९ सालमा सुनिता भाउजूसँग विवाह गरेपछि भने दिगो बन्यो ।

श्रीमतीतिर फर्केर उनी भन्छन्, ‘सुनिता नभएको भए म कहाँ यसरी सामाजिक काममा हिंड्न पाउने थिएँ र ? परिवार कहाँ यस्तो हुन्थ्यो र ? जिन्दगी नै लथालिंग थियो नि !’

*** ***

२०६२ सालमा युद्ध सकियो । देशभर फैलिएको जनआन्दोलनमा उनी पनि दिलोज्यानले लागे । माओवादी र सात दलको बीचमा सहमति भएर देशले स्थायित्व पाउँदैथियो । संविधान निर्माणका लागि संविधानसभाको चुनाव हुनेभयो । जनमोर्चा दाङको सचिव समेत रहेका अमृत दाइलाई दाङबाट पार्टीले टिकट दियो ।

तर, चुनावमा उनकै दलले ह्विप जारी गरेर माओवादीकी उम्मेदवार सुष्मा घिमिरेलाई जितायो । उनको ६३८ मात्र भोट आयो ।

चुनावपछि जनमोर्चा र माओवादीको एकता भयो । उनी भने मातृका यादवको दल निकट भएर काम गरे । जसरी पचासको दशकमा नेपाली राजनीतिले आफ्नो लय बिगारेको थियो, साठीको दशकमा फेरि दलहरूले लय बिगार्दै थिए । नेताहरू मालामाल हुँदै गर्दा सोझा र इमानदार कार्यकर्ताको बिजोग हुन थालेको थियो । कहिले फुट, कहिले एकता, कहिले नयाँ पार्टी हुँदै उनी विस्तारै कृषितिर लागे ।

*** ***

अमृत दाइलाई बाबुले आरनको काम सिकाए; ठेकी, भाँडा बनाउने चँदाराको काम पनि सिकाए । तर परम्परागत वर्ण व्यवस्थाको आधारमा रहेको बाबुको पेशालाई उनले नकारे । राजनीति गर्दै बसको सहचालक, भरिया र चौकीदार बने, पूर्णकालीन राजनीतिमा पनि भविष्य नदेखेपछि उनी किसान बने ।

आखिर को हुन् त अमृत दाइ ? जन्मदेखि आजपर्यन्त दलन, शोषण, व्यवस्था र जीवनसँग लडिरहेका योद्धा हुन् उनी । उनी बागी हुन् । माटोमा रमाउने किसान हुन् । किसानको मर्का बोल्ने, हक–हितका निम्ति लड्ने नेता हुन् अमृत दाइ अर्थात् अमृतबहादुर विक

सक्रिय राजनीतिलाई छाड्दै पूर्ण किसान बन्नुको कारण खोतल्दै जाँदा अमृत दाइलाई लाग्छ, २०६४ सालपछिको राजनीति एकदमै निराशाजनक थियो । सबै दलहरू सरकार र सत्ता प्राप्तिमा लिप्त थिए । आन्दोलन शिथिल थियो । दलहरूमा पुराना, न्यायप्रेमी कार्यकर्ताभन्दा नवप्रवेशी स्वार्थी मानिसहरू बढ्दै थिए । हिजोका निष्ठावान् कार्यकर्ता धमाधम आफ्नो थातथलो छाड्दै थिए । दलहरूको प्राथमिकताबाट दलित, महिला, किसान, सीमान्तकृतका मुद्दा ओझेल पर्दै थिए ।

सम्पूर्ण सामाजिक, राजनीतिक आन्दोलन उल्टो बाटो लाग्दै थियो । पचासको दशकमा तत्कालीन राज्य भोग गर्ने कांगे्रस र कम्युनिष्ट जसरी बिग्रिएका थिए, साठीको दशकको आखिरीसम्म आउँदा नयाँ पुराना सबै दलहरूको उस्तै हालत हुँदैथियो । ‘दलहरूमा लोभी–पापीले सर्वहारा वर्ग भुलेको थियो’, उनी सम्झन्छन् ।

अवसर खोज्दै पार्टीमा लागेकाहरू संगठनमा हावी हुँदै गर्दा वर्षौं जनता, समाज र परिवर्तन भन्दै समर्पित कार्यकर्ता किनाराकृत हुन थाले । हिजो शिक्षाको निजीकरणमा चर्को बोल्ने मानिसले बोर्डिङ खोल्दै थिए । हिजो भूमि जोत्नेको हुनुपर्छ भन्नेहरू धमाधम जग्गा दलाली गर्दै थिए । चप्पल लगाउँदै शहर पसेका कमरेडहरू गाडी किन्दै थिए ।

साम्राज्यवाद मुर्दावाद भन्नेहरू विकासे कार्यकर्ता हुँदैथिए ।

यतिबेला अमृत दाइ कृषिमा लागे । उनको पूर्णकालीन राजनीतिबाट कृषिको यात्रा बर्दियाबाट शुरु भएको थियो । तर, त्यहाँ धेरै सफल हुन सकेनन् । शुरुमा आफ्नो र केही जग्गा भाडामा लिएर जम्मा २८ कट्ठामा तरकारी खेती, बाख्रा तथा कुखुरापालन गरेका थिए । बारीभरि तरकारी, मौसमी फलफूल, खोरभरि कुखुरा, बाख्रा थिए । उत्पादन पनि राम्रो थियो तर बजार व्यवस्थापन राम्रो नहँुदा उनले फाइदा लिन सकेनन् ।

भारतीय सीमा नजिकै भएकाले स्थानीय उत्पादन भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । उनको एक केजी कुुखुराको लागत नै १८० हुन्थ्यो भने भारतबाट आउने कुखुराको तयारी मासु एक केजीको १८० रुपैयाँमा पाइन्थ्यो । तरकारीमा उस्तै, फलफूलमा उस्तै । दुर्भाग्य, भारतीय बजारको कारणले उनले हरेक उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य भए । यसरी तीन वर्षमा करिब ११ लाख डुबाएपछि आफ्नो अंशमा पर्ने जग्गा बेचेर ऋण तिरेर उनी परिवार सहित राजधानी पसे ।

शहर पसेपछि अमृत दाइ केही साथीसँग मिलेर सामूहिक खेतीतिर लागे । शुरुमा सबै राम्रै थियो । तर विस्तारै उनको सामूहिक कृषि पनि असफल भयो । उनी भन्छन्, ‘सामूहिक उत्पादन भनिए पनि त्यसले एकातिर परिवार धान्न सकेन भने यसको अर्को कारण साथीहरूसँग जति मसँग पैसा पनि थिएन । अनि सम्बन्ध, समझदारी र मनमुटावमा पुगेर सबै साथीहरू आ–आफ्नो बाटो लाग्यौं ।’

सामूहिक प्रयास असफल भएर अमृत दाइ जीविकोपार्जनका लागि छट्पटिइरहँदा उनीसँगैका पुराना कमरेडहरूले जीवन सपारिसकेका थिए । कुनै समयमा सम्पूर्ण जीवन समर्पण गरेको उनको दल अहिले पटक–पटक सत्तामा पुगेको थियो । उनी जस्तै इमानदार अरू कतिपय कार्यकर्ताको जीवन पनि घरको न घाटको भएको थियो ।
अमृत दाइले हिम्मत हारेनन् । उनी फेरि खेतीपातीमै लागे ।

बाबुसँग आरनमा खलाती लाउँदा, चनाराको काम गर्दा, गाडीमा सहचालक बस्दा, भारी बोक्दा, नेता बन्दा, भारतमा दिनभरि श्रम गरेर राति संगठनको काम गर्दा वा अहिले किसान बन्दा उनको एउटै मान्यता छ— मानिसले आफ्नो विवेक बेचेर पैसाको पछि लाग्नु हुँदैन । जीवन धान्ने जस्तो सामान्य कुरामा आफ्नो सिद्धान्त, निष्ठा र विवेक गुमाउनुहुँदैन ।

अमृत दाइले ललितपुरको लुभूमा भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्न थाले । हिंड्दैछ पाइला मेट्दैछ जस्तो आफ्नै दलले उनलाई बिर्सियो । नजाने गाउँको बाटै नसोध्नु जस्तो उनले राजनीति बिर्सिए ।

बरु, यस बीचमा अध्ययन शुरू गरे र २०७२ सालमा प्राइभेट एसएलसी उत्तीर्ण गरे । बाल्यकालमा पूरा गर्न नसकेको अध्ययनको भोक उनले एसएलसी हुँदै सीटीईभीटीद्वारा दिइने १८ महिने कृषि तालिम पनि पूरा गरे । कहिले खरिद गर्नुपर्ने सामग्रीको मूल्यवृद्धिको मार, कहिले बिक्री गर्नुपर्ने उत्पादनको मूल्य ह्रासको मार, कहिले खडेरी त कहिले मलखाद बीउको अभावमा अमृत दाइले खेती गरिरहे ।

अमृत दाइ भन्छन्, ‘राजनीति गर्नेले खेती गर्नै हुन्न भन्ने होइन । तर असल राजनीतिक वातावरणमा गरिएको कृषि उन्नत हुनेथियो । किसानको सम्मान हुनेथियो । जमिन, मल, बीउ र बजार सुनिश्चित हुनेथियो । कृषि गरेकै भरमा अपमानित हुनुपर्ने थिएन । श्रम गर्नेहरूले अभाव झेल्नुपर्ने थिएन ।’

खेती गर्ने किसानसँग जमिन छैन, जमिन भए बीउ–बिजन छैन, मल छैन, सिंचाइ छैन । सबैथोक भए उत्पादन बिक्री हुँदैन । किसानको समस्या सरकार सुन्दैन । अमृत दाइ भन्छन्, ‘कृषिमा सरकारको चासो नै छैन । कागजमा मिठा कुरा गर्ने सरकार तथा दलहरू व्यवहारमा फेल भएरै कृषिको हालत यस्तो भएको हो । सबै दलका लागि किसान भोट दिने मानिस मात्र भए । म जस्ता किसानलाई समस्या कहाँ छ, थाहा छ । सरकारलाई थाहा नहुने त कुरा नै भएन । हाम्रो व्यवस्था नै किसानमारा छ ।’

केही समययता समाजवादी कृषि आन्दोलन मार्फत किसानको हक–हितमा आवाज उठाउँदै आएका उनी विभिन्न क्षेत्रका किसानसँगको निरन्तर भेटघाट र छलफलबाट किसान र भूमिका मुद्दा, किसान र राज्यले प्रदान गर्ने सेवा, सीमान्तकृत किसान, महिला किसानका मुद्दामा काम गर्नुपर्ने बताउँछन् ।

अमृत दाइलाई पछिल्लो पुस्ताले समाज नबुझेको र नपढेकोमा चिन्ता छ । ‘यो चिन्ता औपचारिक शिक्षा लिएनन् भन्ने मात्र होइन, समाज पढेनन्, वर्ग पढेनन्, यो व्यवस्थालाई प्रश्न गरेनन् भन्ने हो र यो व्यवस्थासँग विद्रोह गरेनन् भन्ने हो । व्यवस्था र राज्यसँग प्रश्न नगरी कसरी किसानको मुक्ति हुन्छ ?’ नयाँ पुस्तासँग उनको प्रश्न छ ।

किसानको हक र अधिकारका लागि निर्णायक कृषि आन्दोलन गर्न आवश्यक रहेको अमृत दाइको ठम्याइ छ । ‘यो राज्यले गरिब, दलित, महिला, किसानमाथि घात गरिरहेको छ । कांग्रेस हुन् या कम्युनिष्ट, सबैले किसानलाई प्रयोग मात्र गरेका छन् । नयाँ भनिने दलहरू त किसानका मुद्दामा बेखबर नै छन्’, उनी भन्छन् ।

आखिर को हुन् त अमृत दाइ ? जन्मदेखि आजपर्यन्त दलन, शोषण, व्यवस्था र जीवनसँग लडिरहेका योद्धा हुन् उनी । उनी बागी हुन् । माटोमा रमाउने किसान हुन् । किसानको मर्का बोल्ने, हक–हितका निम्ति लड्ने नेता हुन् अमृत दाइ अर्थात् अमृतबहादुर विक ।

लेखक
सरोज खतिवडा

लेखक मानवशास्त्रका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?