
१३ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन् । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको बताए ।
चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको बताए ।
बुद्वले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने बताए ।
बुद्धका शान्तिमैत्री विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुशरण गरी विश्व शान्ति कायम गर्न सकिने बताए । ‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका शालिक तोडिएको पनि थियो’ प्रधानमन्त्री ओलीले भने, ‘जति गरेपनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन ।’
प्रधानमन्त्री ओलीले चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्ध जन्मस्थलमा स्वागत गरे ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए ।
महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको उपस्थिति रहेको थियो ।
महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4