+
+
Shares

लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १३:३६
प्रदेश मन्त्री र सांसदले बहिष्कार गरेको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री र अन्य अतिथिहरू ।

१३ वैशाख, बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।

यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए ।

कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।

लुम्बिनीकै स्थानीय बासिन्दा सांसद गुप्ता जनमत पार्टीका हुन् । उनी पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् ।

एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थल बाट हिँडेको प्रतिक्रिया दिए ।

सांसद गुप्ताले भने संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको टिप्पणी गरे ।

उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने बताए । ‘लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर संरक्षण गरेर विकास कोष बनेको हो, यति धेरै संरचना बनेका हुन् तर कोषले स्थानीयलाई न अपनत्व दिलाएको छ न सम्मान दिएको छ’, ‘ गुप्ताले भने अब हामी स्थानीयको सहयोगमा आफ्नो अधिकार स्थापित गर्न लाग्छौं ।’

मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बहिष्कार नभई अन्य कार्यक्रममा जानु परेकोले बस्न नपाएको बताए ।

लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगतदेखि राख्दै आएको बताए ।

वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।

कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?