+
+
Shares
सरकारी सेवा अनुभव– ५ :

समाज किन आक्रोशित छ ? थाहा पाउने तीन प्रकरणहरू

मैले भोगेका तीन अनुभवहरूले स्पष्ट गर्छन् कि– नेपालमा कुनै पनि क्षेत्रमा न्याय पाउन सहज छैन । चाहे प्रहरी सेवामा होस् वा निजामती सेवामा । जुन समाजमा नागरिकले आत्मसम्मानको जिन्दगी पाउनु असम्भवप्रायः हुन्छ, त्यहाँ आक्रोश बाहेक के नै बाँकी रहन्छ र !

दीपक ओली दीपक ओली
२०८२ वैशाख १३ गते १४:०५
ट्राफिक प्रहरीले सार्वजनिक ठाउँमा नागरिकलाई कुटेका भिडियो केही दिनदेखि भाइरल भएका छन् । 

प्रकरण– १

काठमाडौंबाट दोलखा जाँदैथियौं । त्यताका सबै यात्रुलाई थाहा भएकै कुरा हो, सिंगटीतिर जाने बस चरिकोट पुगेपछि कति समय रोकिन्छ भन्ने ! कम्तीमा आधा घन्टा त रोकिन्छ नै । अझ दिनको अन्तिम ‘ट्रीप’ परेछ भने त कुरै छोडौं । एक–डेढ घन्टा मजाले रोकिन्छ गाडी ।

हुनत नेपालका सबैतिर जाने सार्वजनिक (खासमा निजी) सवारीको अनुभव समान नै हुन्छ । गाडीको कर्मचारीले चाहेमा त्यो सार्वजनिक सवारी नामधारी बस वा अन्य कुनै पनि गाडी जुनसुकै ठाउँमा जतिसुकै समय पनि रोक्न मिल्छ ।

त्यसको बदलामा यात्रुले अनावश्यक रूपमा होटल लिनुपर्ने, चाहिने भन्दा धेरै बढी समय लाग्दा खर्च पनि आकासिने, रातभरि हिंडेर घर पुग्नुपर्ने र कतिपय अवस्थामा त समयमा अस्पताल पुग्न नपाएर बिरामीले ज्यानै गुमाउनुपर्नेसम्म हुन्छ ।

त्यहाँ कसैले किन यति धेरै गाडी रोकेको वा के–कसो भनेर सोध्ने कुरा नै हुँदैन । न त बसका यात्रुलाई यस्तो कुरामा प्रश्न उठाउन सकिन्छ भन्ने लाग्छ । खासमा हामीलाई यसो गर्नुमा छुच्चो भइएला कि भन्ने डर पनि लाग्छ । अरूलाई भएकै छ त, मैले मात्रै किन छुच्चो हुनुपर्‍यो— आदि–इत्यादि विचार हामी वीर नेपालीका मनमा आउँछन् ।

कसैले आँट गरेर सोधिहाल्यो भने बसका कर्मचारीले त्यो प्रश्नको उत्तर जिम्मेवार भएर दिनेवाला पनि छैनन् । गाउँले यात्रुहरू सिंगटी पुगेपछि रातभरि हिंड्न बाध्य हुन्छन् घर पुग्नको लागि । प्रशासन, जनपथ प्रहरी वा ट्राफिक प्रहरीले यस्ता कुरा उठाउलान् भनेर आश गर्नु त झन् कल्पना बाहिरको कुरा ।

एकैछिनमा केही मानिसले भारीका भारी कोदो ल्याएर बसको यात्रु ओहोर–दोहोर गर्ने बाटोमा राख्न लागे । बिगु लगायत ठाउँमा रक्सी पार्न त्यसरी कोदो लगिने रहेछ । ठूला–ठूला कोदोका तीसौं बोरा गाडीमा ल्याएर भटाभट थुपारियो । बोराले बीचको बाटो ढाकेपछि ती बोराहरूले सिटमा बसेका यात्रुलाई सताउन लागे ।

एउटा ठूलो बोरा मेरो सिटमा सँगै बसेकी महिला साथी माथि पर्‍यो र उनी घाइते नै भइन् । अति भएपछि मैले आवाज उठाएँ, ‘यो के गरेको, यो त यात्रुवाहक बस हो, मालवाहक ट्रक त होइन, किन यसरी यात्रुलाई नै घाइते पार्ने गरी बसमा सामान हालेको ? भारी पनि लापरबाही तरिकाले अरूमाथि पर्ने गरी फालेको छ । यात्रुले कताबाट हिंड्ने ?’

उताबाट भने गुण्डाको शैलीमा उत्तर आयो । ‘के गर्न सक्छस् गर् । अझ बेस्मारी गर्छु । मलाई जे मन लाग्यो त्यही गर्छु । मलाई कसैले छुन सक्दैन’ आदि–आदि । ‘त्यसो भए म गएर प्रहरीलाई खबर गर्छु’ उसको आँखामा थोरै भए पनि सुरक्षा संयन्त्रप्रति डर खोज्दै म बोलें ।

तर उसले झन् उग्र हुँदै भन्यो ‘प्रहरी होइन, डीएसपी (जिल्ला प्रहरी प्रमुख) वा सिडिओलाई गएर भने पनि डराउँदिनँ । जसलाई गएर भन्छस् भन् ।’

म सरासर सातदोबाटो (चरिकोटको) ट्राफिक प्रहरी बिटमा गएँ । त्यहाँ पुगेपछि मनले केही राहत पाएको अनुभव गर्‍यो । किनकि त्यहाँ बाल्यकालमा सँगै पढेका आफ्नै गाउँका दाजुभाइ पर्नेलाई ट्राफिक प्रहरीको रूपमा पाएँ । उनले मेरा सबै कुरा सुने र सरासर बस भएको ठाउँमा आए । तर जब उनले बसका कोदो मालिक देखे, उनी सातो गए झैं एकतमासका भए । उनले मलाई बाहिर बोलाए ।

उनले भने ‘यी मानिस अहिलेको नयाँ र चल्ता–पुर्जा पार्टीका जिल्लास्तरीय मझौला नेता हुन् । यिनको उतातिर होटल (नेपालमा सामान्यतया चियापसल, भात, भट्टी जे जस्तो भए पनि होटल भन्ने चलन छ) छ । त्यसकै लागि रक्सी पार्न यो कोदो लगेका हुन् । कोदोको रक्सीको माग धेरै छ ।’

बेलीबिस्तार लाउँदै उनले भने, ‘फेरि उतातिर गाडीले पनि मान्छे मात्र बोके भने गाडी धनीलाई खासै पोसाउँदैन पनि, त्यसैले यस्तो कुरा हामीले बुझिदिनुपर्छ । त्यसमाथि यिनीहरू डरलाग्दा मानिस हुन् । तिमीलाई पनि खतरा हुन्छ । बरु चुप लागेर बस्दा नै बेस होला ।’

मेरा ट्राफिक साथी यसरी ‘युटर्न’ भएको देख्दा म छक्कै परें । उनको गाडी साहुको व्यवसायप्रतिको ‘सफ्टकर्नर’ रहस्यपूर्ण र टिठलाग्दो थियो । तैपनि मैले झिनो आशा राख्दै सोधें । होइन, हामी जनता गुण्डासँग डराउनु त ठिकै होला तर हाम्रो सेवा–सुरक्षा गर्न खटिएका प्रहरीले नै त्यसो भन्न मिल्ला त ?

उनी नाजवाफ भए र विस्तारै ‘गएँ है’ पनि नभनी जताबाट आएका उतै फर्के । त्यसपछि म पनि चुप लागेर सिटमा गएर बस्न बाध्य भएँ । नेपालमा राजनीतिक संरक्षणमा मौलाएको ‘गुण्डागर्दी’ अनौठो तर डरलाग्दो हुन्छ । त्यो हामी सबैले देखे–भोगेकै कुरा हो ।

उनीहरू जति नै खराब गुण्डा भए पनि सम्बन्धित पार्टी र त्यसका शीर्ष नेताले संरक्षण गरिहाल्छन् दोलखाकै एक गाउँले बुज्रुक भन्छन्, ‘गुण्डा–लफंगा भनेका पार्टीका गहना हुन्, नेताका पाँचवर्षे खेती लगाइदिने र नेताको तिलस्मी भाग्य खोलिदिने जादुगर हुन् ।’ उनको भनाइमा त्यसैले नेताले एक भोट दिने जनतालाई भन्दा यी जादुगरलाई बढी माया गर्छन् ।

त्यसो त गुण्डागर्दी हरेक गरिब देशको ऐंजेरु नै हो । पश्चिमा देशहरूमा राज्य सुदृढ र प्रहरी प्रशासन कानूनी राज्यको बलियो ठेकेदार हुने भएकोले गुण्डा, डन र ग्यांगबाट उनीहरूले ५०औं वर्ष अगाडि नै मुक्ति पाइसके । तर गरिब देशमा त नेताले नै डन चलाउँछन्; विस्तारै डन नै नेता, मन्त्री हुन्छन् ।

आज आफूले गुण्डा भनेर थुनेको मान्छे भोलि माननीय र मन्त्री भएर आइपुग्छ । अनि प्रहरीको आत्मसम्मान र हौसलामा तुषारापात हुँदैन त ? प्रहरीलाई पनि के दोष दिनु खै ? मेरी साथी ढाड र पाखुरा छाम्दै अँध्यारो मुख लगाएर बसेकी थिइन् । मैले उनलाई नदेखे झैं गरें र आफ्नो सिटमा बसें । हामीले लघुताभासका साथ त्यो यात्रा पूरा गर्‍यौं ।

प्रकरण–२

अझ हामी आफू पनि केही बोल्दैनौं भने त, हाम्रो हातमा अन्याय, दपोट र निराशा मात्रै हात लाग्छ । निराश नागरिकको मनोबल यसरी गिरेको हुन्छ कि केही बोल्ने, केही गर्ने, केही सोच्ने ऊसँग बौद्धिक क्षमता नै बाँकी रहँदैन । अनि विस्तारै–विस्तारै ऊ जीवन निर्वाह गर्न खाडीको शरणमा पुग्छ

चार वर्षअघिको कुरा हो– फेरि एक मित्रसँग दोलखा नै जाँदैथिएँ । चरिकोट पुगेपछि त्यसैगरी बस रोकियो एक घन्टा भन्दा बढी समयसम्म । हामी धैर्यपूर्वक कुरी नै रह्यौं । यसपटक पनि गाडी रोकिएको आधाघन्टापछि त्यसैगरी बोराका बोरा सामान बसमा ल्याएर हालियो । यसपालिको यात्रा अझ कष्टकर हुनेवाला थियो किनकि बोरामा कुखुराको दाना थियो ।

विस्तारै गाडीको पछाडिपट्टिको दुई हार मान्छे बस्ने सिट नै कुखुराको दानाले भरियो । अगाडि पनि सिटमाथि नै नराखे पनि कुखुराको दाना टम्म थियो । अब मान्छेले कम्मर खुम्च्याएर त्यहाँ उभिनुपर्ने भयो– अफरोडमा कुप्रे ढाड !

अर्कोतिर कुखुराको दानाको कडा र ‘टक्सिक’ दुर्गन्धले यात्रुलाई श्वास–प्रश्वासमा निकै गाह्रो पर्न लागिसकेको थियो । त्यसमाथि धेरै मानिसहरू त्यही दाना माथि उभिएका पनि थिए । स्थानीय यात्रुलाई छुट्टै बस सेवा नभएकोले उनीहरू त्यसरी भेडा–बाख्रा जस्तो भएर यात्रा गर्न बाध्य थिए । अझ दुर्भाग्यवश पानी पनि वर्षन लाग्यो, जुन कारणले गर्दा गाडीका सबै झ्यालहरू पनि बन्द गरिए ।

कल्पना गर्न सकिन्छ कि गाडीभित्रको अवस्था कस्तो थियो होला भनेर ? ‘ग्यास च्याम्बर’ नै बनेको थियो त्यो बेला गाडीभित्रको अवस्था । हामी महान् नेपाली पैसासँग अरूको असुविधा र असहजतालाई कतिसम्म साट्न तयार हुन्छौं ? हामी कति सभ्य र उन्नत ? अनि राज्यको निगरानी र सुपरीवेक्षण कुन तहको ? कसैले भनेको सुनेको थिएँ, देश कति विकसित छ भन्ने कुरा त्यहाँको सार्वजनिक यातायात हेरे पुग्छ । हो रहेछ झैं लाग्यो ।

साँच्ची, गरिबसँग दुःख साट्ने नाउँमा गाउँ–गाउँमा ढिंडो र खसीको रस चाख्न पुग्ने नेताहरू सार्वजनिक यातायातमा जनताले कतिसम्म हैरानी भोग्नुपर्छ भन्ने थाहा पाएका छन् कि साँच्चिकै थाहा नपाएको अभिनय गरिरहेका छन् ? उनीहरू यात्रा गरेको बेला कुखुराको दाना गाडीमा राखिंदो पनि होला कि, नहोला ?

मैले विनम्रताको साथ यात्रुवाहक सवारीमा कुखुराको दाना नराख्न अनुरोध गरें । यसले यात्रुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने कुरा बताएँ । अझ दम, ब्रोङ्काइटिसका रोगी र बूढाबूढीलाई त यसले ज्यानकै खतरा उत्पन्न गर्न सक्छ भन्ने कुरा समेत बताएँ । तर मेरो कुरा कसले सुन्ने ? ट्राफिक प्रहरीले समेत केही गर्दैन भन्ने पहिल्यै थाहा थियो । अब कसलाई गुहार्ने ?

अन्त्यमा केही नलागेर मैले इन्टरनेट खोलें र दोलखा प्रहरीको वेबसाइट खोल्न खोजें तर वेबसाइट नै भेटिएन । अन्य केही जुक्ति छ कि, दिमागमा जोर लगाएँ । काठमाडौंको प्रहरी हट लाइन (१००) मा फोन लगाएँ । प्रहरीको हेलोसँगै मैले दोलखा प्रहरी प्रमुखको मोबाइल नम्बर मागें । उनले फोन नम्बर दिन नमिल्ने बताए ।

त्यसपछि मैले सरकारी कार्यालयका प्रमुखको नम्बर सबैलाई दिनुपर्ने र यदि मलाई नम्बर उपलब्ध नगराउने हो भने यो मिति र समयमा रेकर्ड गर्छु र काठमाडौं आएर तपाइँसँग कुरा गर्छु भनें । त्यसपछि हट लाइनमा कुरा गरिराखेका प्रहरीले केही डराउँदै सोधे, ‘हजुर कुन कार्यालयमा हो सा‘ब ?’ मैले आफू कुनै कार्यालयको नभएको तर फोन नम्बर नपाएमा प्रहरी प्रधान कार्यालय, नक्सालमै कुरा गर्न आउने बताएँ ।

उनले तुरुन्तै दोलखाका डीएसपीको नम्बर दिए । मैले डीएसपीलाई तत्काल फोन लगाएँ र गाडीमा भएको अवस्था बताएँ । उनले सिंगटीको गाडी प्रहरी कार्यालय हुँदै आउने र त्यहीं गाडीलाई समातेर कारबाही गर्ने बताए । म ढुक्क भएँ ।

नभन्दै प्रहरी कार्यालय मुनिनेर गएर बस रोकियो र झन्डै १० जना जति प्रहरी भटाभट गाडीमा चढे । मेरो मन गर्वले फुल्यो । आज यात्रुबसमा कुखुराको दाना राख्नेले सजाय पाउने भए भनेर मनले हलुका महसुस गर्‍यो । तर मलाई निराश बनाउँदै उनीहरू गाडीको छततिर लागे । छतमा होइन दाना भित्रै छ भनेर चिच्याएँ म ।

मानिसहरू मलाई हेरेर मुखामुख गर्न लागे । खासमा ती प्रहरीहरू सिंगटी जान हिंडेका रहेछन्, न कि बसलाई कारबाही गर्न । म दुःखित भएँ । फेरि ‘डीएसपी’ लाई फोन गरें । के भयो होला भनेर अनुमान लगाई हाल्नुभयो होला, अर्थात् फोन उठेन । हामी फेरि पनि निस्सासिएर यात्रा गर्न बाध्य भयौं ।

प्रकरण–३

कुरा चार महिना जति अगाडिको हो, काठमाडौंमा मेरो सवारीको अगाडि ग्राहक टिप्न ‘पठाओ’ बाइक अचानक रोकियो । उसलाई बचाउन मैले आकस्मिक ब्रेक लगाएँ । पछाडिबाट मेरो साधनलाई अर्को मोटरसाइकलले हानेर भाग्यो । मेरो सवारीमा क्षति भयो । मैले केही परख गर्न नै सकिनँ, भनौं अत्तालिएँ ।

यद्यपि मलाई हानेर भागेको बाइकलाई भेट्ने र रोक्ने प्रयास भने गरें, तर असमर्थ । उसको सवारी नम्बर पनि टिप्न सकिनँ । मैले तुरुन्त ट्राफिक हटलाइन (१०३) मा फोन गरें । उनीहरूले हामी तपाइँको केस रेकर्ड गर्छौं तर तपाईं नजिकको ट्राफिक प्रहरी, मालीगाउँ जानुस् भने ।

म सरासर मालीगाउँ प्रहरी प्रभाग गएँ । सबै विवरण खुलाएर निवेदन दिएँ । मेरो दुर्घटना भएको ठाउँमा सिसी क्यामेरा पनि थियो, देखाइदिएँ । तर बारम्बार ताकेता गर्दा पनि अहिलेसम्म मलाई बीमा दाबीको लागि एउटा चिठी पनि सो कार्यालयले दिएको छैन ।

यदि मेरो गल्ती छ र मलाई सो चिठी दिन नमिल्ने हो भने सो कुरा उल्लेख गरेर लिखित दिनुहोस् भन्दा पनि केही पाउन सकिएको छैन । जय नेपाल प्रहरी ! यद्यपि तमाम इमानदार प्रहरी र कर्तव्यनिष्ठ कर्मचारीहरू पनि यहाँ निकै हुनुहुन्छ र उहाँहरूप्रति लेखक यो लेख मार्फत आभार प्रकट गर्दछ ।

माथिका तीन प्रकरणहरूले स्पष्ट रूपमा यो बताउँछन् कि नेपालमा कुनै पनि क्षेत्रमा न्याय पाउन सहज छैन । चाहे प्रहरी सेवामा होस् वा निजामती सेवामा । आजको दिनमा नागरिकले आत्मसम्मानको जिन्दगी पाउनु त असम्भवप्रायः छ ।

अझ हामी आफू पनि केही बोल्दैनौं भने त, हाम्रो हातमा अन्याय, दपोट र निराशा मात्रै हात लाग्छ । निराश नागरिकको मनोबल यसरी गिरेको हुन्छ कि केही बोल्ने, केही गर्ने, केही सोच्ने ऊसँग बौद्धिक क्षमता नै बाँकी रहँदैन । अनि विस्तारै–विस्तारै ऊ जीवन निर्वाह गर्न खाडीको शरणमा पुग्छ ।

लेखक
दीपक ओली

डोल्पाको समाज, जीवन र सामाजिक द्वन्द्वबारे अध्ययनरत लेखक आर्थिक-सामाजिक विषयमा कमल चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?