
१३ वैशाख, तेहरान । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्त्वपूर्ण बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको संख्या ५ सय १६ पुगेको छ ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार ‘५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।’
यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो ।
प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको थियो ।
विस्फोट ग्यास ट्यांकीमा भएको बताइएको छ, जसले गर्दा आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनहरूमा ठूलो क्षति पुगेको छ ।
सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।
उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ ।
अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन, तर घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । (रासस/सिन्ह्वा/एएफपी)
प्रतिक्रिया 4