१३ वैशाख, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा भएको २०२५ एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तर्गत भएको ट्रायथलनको पुरुषतर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन्
पोखराको फेवा लेकमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । पिटरले उपाधिका साथ मेडल, प्रमाण पत्र र नगद ६३० डलर प्राप्त गरे ।
इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोस्रो स्थान प्राप्त गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ डलर प्राप्त गरे । ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरे । चौथो स्थान प्राप्त गरेका कोरियाका त्येगी किमले ३१५ डलर र पाँचौ स्थानमा रहेका जापानका तुया कोबायासीले नगद २१० डलर प्राप्त गरे ।
पार्कले समान दुरी १ घन्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ नगद ६३० डलर प्राप्त गरिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोस्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५ डलर र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरिन् । चौथो स्थानमा जापानकी ईकुमी सेतो र पाँचौ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरुले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।
दक्षिण एसियाली च्याम्पियन तर्फ भारतले एकाधिकार जमायो । नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ प्रथम र भारतकै पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोस्रो स्थान हात पारे ।
यस्तै महिलातर्फ पनि भारतलेनै स्थान कब्जा गर्यो । १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ डोल्ली देवीदास पाटिल प्रथम र दोश्रो स्थानमा १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ मानसी मोहित रहिन । यसतै जुनियर तर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधी जिते । विजयी खेलाडीहरूले मेडल प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाल सहित भारत, बंगालादेश, जापान, कोरिया, इजरायल, अष्ट्रिया, उज्वेकिस्तान, इष्टोनिया र पोटोरिकोको गरि पुरुष तर्फ ३० र महिला तर्फ १६ खेलाडीहरुको सहभागिता रहेको थियो ।
नेपाल ट्रायथलन संघले कोभिड महामारीका बखतमा बाहेक सन् २०१२ देखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप र सन् २०१९ देखि एसिया ट्रायथलन कप निरन्तर आयोजना गर्दै आइरहेको छ । एसिया कप यो सहित पाँचौ संस्करण रहेको छ ।
प्रतिक्रिया 4