
अधिकतर ठूलो सिङ भएका वन्यजन्तुको शिकारमा रुचि राख्ने राजा महेन्द्र अर्नाको शिकारका लागि कोशीटप्पु पुगे। शाही शिकारीको अग्रिम टोलीले राजाको शिकारका लागि त्यस क्षेत्रको सबैभन्दा ठूलो सिङ तथा शरीर भएको अर्नाको छनोट गरी त्यसको वासस्थानको समेत यकिन गरिसकेको थियो। राजा महेन्द्र बहादुर कली नामको हात्तीमा बन्दुक लिएर सवार थिए। त्यस हात्तीलाई सुब्बा दर्जाका माहुतेले उसको घाँटीमा बसेर हाँकेको थियो भने हात्तीको ढाडको पछाडिपट्टिको पुठ्ठामा डोरी समाती उभिएका थिए पछुवा भग्गु थारू। निकै पर अर्नाको बथान देखियो। त्यो रोज्जा अर्ना आफ्नो बथानको बीचमा पसेर चरिरहेको थियो। राजाका पछि रानी लगायतका अरू शिकारीहरू बाँकी २४ वटा हात्तीमा थिए।
अर्ना देखिएपछि राजा सवार हात्ती बहादुर कली टक्क अडिई। पछुवा भग्गुले पछाडिका हात्तीमा सवारहरूलाई हातले इशारा गरे। तिनीहरूले पछाडि हट्दै चन्द्राकार भएर टाढाबाट अर्नालाई घेरा हाल्न थाले। एकाएक ढ्वाङ्ग बन्दुक पड्किएको आवाजले जङ्गल थर्कियो। राजा महेन्द्र र माहुते भुइँमा पछारिए। राजा सवार शिकारका लागि विशेष तालिमप्राप्त तथा अनुभवी हात्ती भने यथास्थानमा नडगमगाई उभिइरहेको थियो। सुब्बा माहुते उठेर पछारिएका राजाको छेउमा उभिए।
भएछ के भने बहादुर कली र त्यसमा सवार राजालाई देखेर त्यो अर्ना अकस्मात् बुर्कुसी मार्दै वायुवेगमा राजा चढेको हात्तीतिर आइलागेछ। राजाले फायर खोले तर पनि त्यसले हात्तीलाई तोडले हान्न भ्यायो। त्यो धक्काको झट्काले राजा र माहुते दुवैलाई हात्तीबाट उछिट्यायो।
पछुवा भग्गुले करिब ३०(३५ फिट पर राजाको हात्तीलाई आक्रमण गर्ने अर्नालाई देखेछन्। त्यसको छातीबाट रगतको धारा बगिरहेको थियो। चारै खुट्टामा अडिन गाह्रो भई अर्ना ढुलमुल गरेको देखी भग्गुले तत्काल हात्तीलाई बसाएर राजा महेन्द्रलाई त्यसमा राखी उनको बन्दुक समाउन दिए। अनि सुब्बालाई हात्तीको ढाडको पछाडिको पुठ्ठामा बसाएर आफैं हाँकी त्यो हात्तीलाई सवारी शिविरतर्फ कुदाए। शाही चिकित्सकले परीक्षण गर्दा राजाको एउटा हातको कुइना छेउमा अलिकति खोस्याएको मात्रै भेटियो।
मैले अधिकतर पुस्तक लिने गरेको पसलका साहुजीले मेरा लागि छानिदिएका पुस्तकमध्ये एकको नाम “श्री ५ को सेवामा” देखेपछि मैले नाक खुम्च्याएछु। साहुजीले भने, यो पढ्नलायक छ। उनको मान राख्नै पनि मैले त्यो लिएँ। तर त्यही पुस्तकमा माथि उल्लिखित जस्ता निकै कथा पढेपछि जिल्दा हेरेका भरमा पुस्तकको स्तर नआँक्नु भन्ने अंग्रेजी कहावत सम्झँदै पुस्तक पसलका साहुजीलाई मनमनैले धन्यवाद दिएँ।
नेपालको वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा २५ वर्ष काम गरेका लेखक हेमन्त मिश्रले संरक्षणको क्षेत्रमा नोवेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार पाइसकेका रहेछन्। तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा समेत रहेर नेपालका विभिन्न आरक्ष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र स्थापना, व्यवस्थापन तथा विस्तार गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेका मिश्रको यो पुस्तकमा माथि उल्लेख गरिए जस्ता रमाइला प्रसंग धेरै छन्।
बाघको शिकार गर्न भने राजा महेन्द्र शुक्लाफाँटा जान मन पराउँथे। त्यहाँ एक पटक उनी शिकार गर्न रूखमाथि बनाइएको मचानमा बसेर बाघको पर्खाइमा थिए। प्रधानमन्त्री र राजाका एडीसी पनि साथै थिए। दर्जनौं हात्तीले बाघलाई घेर्दै राजातिर ल्याउँदै थिए। एउटा अजङ्गको भाले बाघ लुसुलुसु हिंड्दै मचानमुनि आइपुग्यो। राजाले कति बेला गोली दाग्छन् भनेर सास थामेर प्रतीक्षामा थिए प्रधानमन्त्री र एडीसी तर गोली चल्नुको साटो राजा आफैं पो ढले मचानमा। त्यो राजा महेन्द्रलाई आइलागेको पहिलो हृदयघात थियो।
मिश्रसँग काम गर्ने न्युजिल्याण्डका ग्राम काउले नेपालको संरक्षण कार्यक्रममा परामर्शदाता थिए। तिनको कुरा सुनेर आफू छक्क परेको कुरा लेखक मिश्रले आफ्नो अनुभवजन्य यस पुस्तकमा भनेका छन्। काउलेले भनेछन्( पृथ्वीनारायण शाह एक दूरदर्शी तथा प्राज्ञ शासक थिए। नेपालको वन तथा वन्यजन्तु जोगाउने काममा उनको ठूलो योगदान छ। यो तथ्य धेरै वन्यजन्तु इतिहासकारले बेवास्ता गरेको देखिन्छ।
काउलेले अगाडि भनेछन्( केही बेलायती इतिहासकारका अनुसार सन् १७६९ मा नेपाल एकीकरण गरेलगत्तै पृथ्वीनारायणा शाहले तराईको सम्पूर्ण चारकोसे झाडीलाई सदाका लागि प्राकृतिक अवस्थामै सुरक्षित राख्ने राष्ट्रिय नीति घोषणा गरेका थिए। उनको यो घोषणाको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण नभएर राष्ट्रिय सुरक्षा थियो। सन् १७५७ पछि छिमेकी राष्ट्र भारतमा राज गर्ने बेलायती इष्ट इण्डिया कम्पनीको बढ्दो सैन्य शक्तिलाई छेक्न औलोग्रस्त तराईले प्राकृतिक किल्लाको काम गर्न सक्छ भनेर नै उनले त्यस्तो नीति लिएका थिए।
राणा शासनकालमा पनि त्यो वन संरक्षित रह्यो। राणाहरूले अंग्रेज शासकहरूलाई रिझाउन चारकोसे झाडीमा शिकार खेल्न निम्ता गर्थे। सन् १९११ मा बेलायतका सम्राट जर्ज पाँचौंले ठोरीको जङ्गलमा एकैपटक ३९ बाघ, १८ गैंडा सहित हरिण, चितुवा र भालु समेत गरी सयौं जनावरको शिकार गरेको कुरा यस पुस्तकमा उल्लिखित छ।
अर्को एक पटक राजा महेन्द्र शिकार खेल्न सपरिवार शुक्लाफाँटा पुगे। साथमा रहेका एक १३ वर्ष पनि नपुगेका राजकुमार पनि शिकारमा निस्किए। हात्तीमा सवार राजकुमारको दायाँ–बायाँ एक–एक हात्तीमा हतियार सहित शाही शिकारी थिए राजकुमारको सुरक्षार्थ। अगाडिबाट साइसाइ र सुइसुइ गर्दै झोर शुरू भयो। यता गौंडामा राजकुमार र उनका अङ्गरक्षक सतर्क भएर बन्दुक तेर्स्याएर शिकार ढुकिरहेका थिए। एकैछिन पछि सामने कुनै जनावर चलेको जस्तो देखेर राजकुमारले ड्याङ ड्याङ दुई फायर गरे। राजकुमारका अङ्गरक्षकले एउटा हरिण बुरुक्क उफ्रँदै भागेको पनि देखे। तर लगत्तै बडामहारानीलाई गोली लाग्यो भन्ने स्वर जंगलमा गुञ्जियो। रानीलाई गोली पेटको माथिल्लो भागमा लागेकोले उनको ज्यान जोगियो तर उनलाई गोली कसरी लाग्यो भन्ने रहस्य चाहिं खुलेन।
हेमन्त मिश्रको यो संस्मरणात्मक पुस्तकमा मुख्य त संरक्षणकै सेरोफेरोका चर्चा छन्। पञ्चायतकालमा यस्ता काममा राजा संलग्न हुने भएकाले राजा र तिनका परिवारका कुरा पनि छन्। सन्दर्भ अनुसार लेखकका पढाइ, जागिर र भोगाइका कुरा त हुने नै भए। यी सबका अतिरिक्त अर्को एउटा रोचक प्रसङ्गको पनि चर्चा छ यसमा।
सन् १९६४ मा नेपालको संस्कृति र जनजीवनमाथि वृत्तचित्र बनाउने भनेर फिल्म निर्माता तीन भाइ अंग्रेजले नेपाल सरकारसँग अनुमति लिए। ती अंग्रेजले दोभाषेका रूपमा काम गर्न अनुबन्ध गरेका लेखकलाई मन्त्रालयले सरकारको सम्पर्क अधिकारीको भूमिका निभाउने जिम्मेवारी थपिदियो। फिल्म खिच्दै बूढीगण्डकी उपत्यकाबाट उकालो लागेर यो टोली चुम उपत्यका पुग्यो। त्यहाँ दुई जना नौला मानिस भेटिए। तिनीहरूलाई साथ लिएर दुई तीन दिन अलिक माथितिरको छायाङ्कन गर्ने भनेर ती अंग्रेज बाटो लागे। लेखकलाई आराम गर्दै भरिया टोलीको रेखदेख गर्न भनियो। लामो हिंडाइले थाकेका उनले त्यो प्रस्ताव नमान्ने कुरै भएन। चुम उपत्यकाको दृश्यावलोकन गर्दै उनले रमाइलोसँग दिन काटे। ती अंग्रेज फिरेपछि उनीहरू काठमाडौं फर्किए।
ती अंग्रेजले बनाएको वृत्तचित्र चार वर्षपछि लन्डनमा हेर्दा पो लेखक मिश्र जिल् खाए। पहिले भनिए जस्तो बौद्ध धर्मको बदलिंदो अनुहार नभई त्यो वृत्तचित्रको नाम तिब्बत आक्रमण (रेड इन्टु तिब्बत) पारिएको थियो। अनि उनलाई चुम उपत्यकामा भुलाएर सीआईएबाट तालिमप्राप्त तिब्बती खम्पाको साथ लिएर ती अंग्रेजले तिब्बतमा खम्पा र चिनियाँ फौजबीच भएको लडाइँ पो खिचेर ल्याएका रहेछन्। त्यति मात्रै होइन त्यहाँ त्यसरी खिचेका ती फिल्मका रिल गोप्य रूपमा काठमाडौं(ढाका हुँदै कसरी लन्डन पुर्याइएका थिए भन्ने रहस्य समेत उनले त्यहाँ मात्रै थाहा पाएको उल्लेख गरेका छन्।
नेपालका राजाहरूले गद्दी आरोहण गरेपछि एकपटक आफ्ना पितृको तरणतारण तथा देशको शान्ति र समृद्धिका लागि भनेर गैंडा मारी त्यसको पेटमा पसेर तर्पण दिन्छन् भन्ने कुरा मैले कहिल्यै सुनेको थिएन। यस पुस्तकमा राजा वीरेन्द्रले गैंडा मारेर त्यसको पेटमा पसी रगतले तर्पण दिएको आश्चर्यजनक र टिठलाग्दो परिघटनाको सविस्तार चर्चा गरिएको छ। वीरेन्द्र जस्ता आधुनिक भनिएका राजाले परम्परा धान्ने नाममा त्यसो गरेकोमा खिन्न भएका लेखक स्वयंले लगत्तै त्यहीं त्यसरी नै आफूले पनि आफ्ना पितृलाई तर्पण दिन पाउँदा आफ्नो प्रफुल्लताको कुनै सीमा नरहेको चर्चा इमानदारीपूर्वक गरेका छन्।
यसै वर्ष फाइन प्रिन्टले प्रकाशनमा ल्याएको २६५ पृष्ठको यस पुस्तकमा नेपालका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्रहरूको संख्या, तिनले ढाकेको कुल क्षेत्रफल, त्यहाँभित्र रहेका फूल फुल्ने बोटबिरूवा, स्तनधारी वन्यजन्तु, चराचुरूङ्गी, सरीसृप, उभयचर, माछा र जातजातका पुतलीहरू आदिको सन् २०२३ सम्मको अद्यावधिक विवरण समेत पाइने हुनाले यो सामान्य पाठकदेखि अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि संग्रहणीय छ।
प्रतिक्रिया 4