
१३ वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन् ।
उनी उपमहासचिव जनार्दन शर्माको प्यानलका उम्मेदवार हुन् । पदाधिकारीको अन्य पदमा पनि शर्माको प्यानल नै विजयी भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट राजवंशीले ४६ मत प्राप्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताले समर्थन गरेकी उम्मेदवार नमिता न्यौपानेले ३५ मत पाइन् ।
राजवंशी यसअघि पार्टीको महानगर उपाध्यक्ष र न्यौपाने पूर्वसचिव हुन् । न्यौपाने २०७४ मा माओवादी केन्द्र र २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी थिइन् ।
गत आइतबार सुरु दोस्रो अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि ८१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पदाधिकारी चयनका लागि एक साता सहमतिको प्रयास सफल नभएपछि शनिबार निर्वाचन भएको थियो ।
महानगर उपाध्यक्षमा धर्मलाल राजवंशीले ५८, सनोजकुमार यादवले ४४ र चन्द्रबहादुर वनले ३६ मत ल्याएर विजयी भए । उपाध्यक्षका उम्मेदवार केमुना ओडारी (शारदा)ले ३३, शिवराज थन्दारले ३३ र सरस्वती ओझाले २१ मत ल्याए ।
सचिवमा सोनु केवट ४२ मतसहित निर्वाचित भए । सचिवका उम्मेदवार मोहमद अजामले ३६ मत प्राप्त गरे । सहसचिवमा दिनेशकुमार कामत ३९ मत सहित निर्वाचित हुँदा सहसचिवका उम्मेदवारहरु भरत गिरीले ३२ र चम्पा खत्रीले ७ मत पाए । कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्ष बाहेक पदाधिकारीमा सहमति हुन नसकेपछि अध्यक्ष प्रचण्डको समूहविरुद्ध जनार्दन शर्माको समूहले प्यानल नै अघि बढाएको थियो ।
मतदानमा ८१ जना सदस्य सहभागि भएका थिए । ती सदस्य दोस्रो अधिवेशनका ३ सय ५६ प्रतिनिधिबाट छानिएका थिए । अधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए ।
महानगर अधिवेशनमा मोरङ इन्चार्ज कुलप्रसाद साम्बाले प्रचण्ड पक्षको नेतृत्व गरेका थिए । पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य शिवकुमार मण्डलले जनार्दन शर्मा गुटको नेतृत्व गरेका थिए ।
माओवादी केन्द्र स्रोतका अनुसार अध्यक्ष प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किएका थिए । तर सर्वसम्मत गर्न जनार्दन समूह तयार भएन् । सहमतिकै लागि निर्वाचन मिति आज सारिएको थियो ।
प्रतिक्रिया 4