
काठमाडौं । सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ अब हिन्दी भाषामा आउने भएको छ । भारतको चर्चित संगीत उत्पादन कम्पनी टि सिरिजले गीतको हिन्दी संस्करण ‘उफ्’ रिलिज गर्ने भएको छ ।
यो गीतको हिन्दी भर्सनको टिजर सार्वजनिक गर्दै टि सिरिजले यो गीत अप्रिल २८ अर्थात आगामी सोमबार रिलिज हुने जनाएको छ । टिजरमा सुशान्त केसी र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ ।
‘सानो बाल्कोनीको क्षणदेखि भावनाहरूले भरिएको संसारसम्म, हामी तपाईंको हृदयमा छल्किने भावना लिएर फर्किएका छौं’ टि सिरिजले टिजर सार्वजनिक गर्दै लेखेको छ । यद्यपि, हिन्दी गीतबारे विस्तृत खुलाइएको छैन ।
यो गीतको नेपाली सस्करण ‘बार्दली’लाई चाहिँ ७ करोड ७२ लाख पटक युट्युबमा हेरिएको छ । स्पोटीफाई लगायतका प्लाटफर्ममा पनि लाखौं पटक सुनिएको छ । यो गीत रिलिजको केही महिनामै युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो ।
अहिलेका चर्चित नेपाली गायक सुशान्त र भारतको विश्वचर्चित म्युजिक लेबल टि सिरिजको यो सहकार्यले नेपाली संगीतलाई अझै ब्यापक अन्तर्राष्ट्रिय दर्शकमाझ फैलाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4