
१४ वैशाख, श्रीनगर (भारत) । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरू भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको छ । दुई देशका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।
भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलालाई भारतले कश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण भनेको छ ।
इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।
भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको व्यापक खोजी अभियान सुरु गरेका छन् । भारतीय प्रहरीले फरार बन्दुकधारीहरूमध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ ।
भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ ।
‘(हाम्रा) आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए’, भारतीय सेनाले भनेको छ ।
पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन ।
आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ ।
जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । राष्ट्र संघले मुद्दाहरू ‘अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न’ जोड दिएको छ। एएफपी
प्रतिक्रिया 4