
१४ वैशाख, काठमाडौं । निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुझ्दै र्याली निकालेका छन् ।
अहिले माइतीघर मण्डलाबाट चिकित्सकहरू बिजुली बजारको पुलसम्म र्याली निकालेर अगाडि बढिरहेका छन् ।
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले पानीमा भिज्दै र्याली निकालिरहेको बताए ।
‘हाम्रो र्याली पानीमा भिज्दै अगाडि बढिरहेको छ । जबसम्म सरकारले गरेको निर्णय कार्यान्वयन हुँदैन आन्दोलन जारी नै रहन्छ,’ डा. घिमिरेले अनलाइनखबरसँग भने ।
आइतबार देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक सँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी उपस्थित छन् ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा चिकित्सकले सेवा बहिष्कार गरेका छन् ।
चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अस्पताल भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ ।
बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ । उनीहरूले सेवा बहिष्कार गर्दा स्वास्थ्य सेवामा असर परिरहेको छ ।
प्रतिक्रिया 4